१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालयको भवन–पोसाकमा एउटै रङ 

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिकाभित्र रहेका सबै विद्यालय भवनको रङ उस्तै बन्ने भएको छ । पालिकाभित्र रहेका सबै विद्यालयमा उस्तै पोसाकसमेत निर्धारण गरिएको छ । यसअघि विद्यालय भवनमा आफ्नो मनलाग्दो रङ लगाउने गरेका थिए भने विद्यालय पोसाक पनि मनपरी थियो । यसै आर्थिक वर्षबाट यी सबै उस्तै बन्ने भएका हुन् । गाउँपालिकाका अनुसार भवनको रङ र विद्यालयको पोसाक अब मनलाग्दो बनाउन पाइने छैन । 

विद्यालयको भवन–पोसाकमा एउटै रङ 

६ वडा रहेको गाउँपालिकामा ३८ विद्यालय छन् । गाउँपालिकाले सबै विद्यालयमा संघीय शिक्षा एकाइले तोकेको रङ लगाउनेछ । यस्तै खरानी रङको सर्ट र गाढा नीलो रङको पाइन्ट लगाउन पर्ने सूचना अधिकारी मोहन ढकालले बताए ।


‘गाउँसभाले नै निर्णय गरेकाले अब सोहीअनुसार कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने, ‘त्यसका लागि केही बजेटसमेत विनियोजन भएको छ ।’ विद्यालयले केही अनुदान पाउने छन् । विद्यार्थीको पोसाकका लागि समेत विद्यालयले अनुदान पाउने सूचना अधिकारी ढकालले बताए ।


एउटै पोसाक बनाउन गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेटमा १८ लाख रुपैयाँ विनियोजन गरेको छ । विद्यालय भवनको रङ एउटै बनाउन २५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । उनका अनुसार त्यति नै बजेट प्रदेश सरकारसँग समपूरकमा राखिएको छ । ‘हामीले छुट्याएको बजेटबाट पुग्दैन,’ उनले भने, ‘प्रदेश सरकारले सहयोग गर्ने हो भने यसै वर्ष सबै काम सकिने थियो ।’ प्राथमिक, आधारभूत र माध्यमिक तहका विद्यालयलाई सोहीअनुसारको वर्गीकरण गरेर अनुदान दिइने उनले बताए ।


गाउँपालिकाका सबै विद्यार्थीले लगाउने पोसाकमा एकरूपता ल्याउन सबैलाई सोहीअनुसारको निर्देशन दिइसकिएको छ । कतिपय विद्यालयले पोसाक बाँड्न सुरु गरेका छन् । विद्यालयले पनि गाउँपालिकाले तोकेअनुसारको पोसाक परिवर्तन गरेका छन् ।


गाउँपालिकाको अनुदान, विद्यालयको आन्तरिक स्रोत र विभिन्न सहयोगबाट पूर्वखोलाका सामुदायिक विद्यालयले विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् । जनउज्ज्वल आधारभूत विद्यालय रिङनेरह अर्खलडाँडाका प्रधानाध्यापक केशवराज पंगेनीका अनुसार विद्यालयले कपडा किनेर विद्यार्थीलाई वितरण गरिसकेको छ ।


‘थान कपडा किन्दा सस्तो पर्ने भएकाले गाउँपालिकासँग समन्वय गरेर विद्यार्थीलाई वितरण गरिएको छ,’ उनले भने । विद्यार्थीमा मानसिक रूपमा समेत समान भएको महसुस गराउने उद्देश्य राम्रो भएको रिङनेरहका स्थानीय डिल्लीराज पंगेनीले बताए । ‘एउटै खालको पोसाक बनाएपछि फरक कपडा देखिंदैन,’ उनले भने, ‘विद्यार्थीको मानसिकतामा पनि यसले फरक पार्छ ।’


गत वर्ष निजी विद्यालयलाई सामुदायिकमा गाभेसँगै पोसाक एउटै बनाउन लागेको गाउँपालिकाले जनायो । ‘विद्यालय र विद्यार्थीको पहिचानमा समेत समानता देखाउन पोसाक र भवनको रङ एउटै बनाउन लागेका छौं,’ उपाध्यक्ष भागीरथी भट्टराईले भनिन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?