२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चिटिक्क स्कुल, जंकफुड निषेध

वीरेन्द्र केसी

(अर्घाखाँची) — कक्षाकोठा र बाहिर प्लास्टिक तथा फोहर देखे टिपेर डस्बिनमा राख्नुपर्ने नियमलाई चुत्रावेशीको जनज्योति मावि बाल क्लबकी स्वेच्छा भुसालले कडाइका साथ पालना गराएकी छन् । पढाइसँगै स्कुलमा सरसफाइमा उनले अगुवाइ गरेकी हुन् । स्कुल प्रांगणभित्र कतै प्लास्टिकका थैला, फोहर देखिँदैन ।

स्कुलमा पढ्न जाँदा हातका नङ काट्नुपर्छ । जुत्ता–चप्पल सफा र दाँत माझ्नुपर्छ । चर्पीमा दिसा–पिसाब गरेपछि साबुनपानीले मिचीमिची हात धोएर मात्र कक्षाकोठामा प्रवेश अनुमति छ । हात धोएर खाजा खानुपर्छ । ‘पहिले पसलमा गएर चाउचाउ, बिस्कुट, कुरकुरेलगायत जंकफुडजन्य खाजा किनिन्थ्यो,’ भुसालले भनिन्, ‘अहिले किन्न मनाही गरिएको छ ।’ खाजाका रूपमा घरबाट रोटी, भुटेको मकै, सातु, भुटेको भात ल्याउने उनले बताइन् । सरसफाइ अभियान सञ्चालन भएपछि उनले जंकफुडले स्वास्थ्यमा असर गर्छ भन्ने बुझिन् । स्कुलमा गठन भएको बाल क्लबले अतिरिक्त गतिविधिसँगै सरसफाइमा ध्यान दिन सिकायो ।


जनज्योति माविमा ४२ सदस्यीय बाल क्लब गठन भएको छ । प्रत्येक शुक्रबार सरसफाइसम्बन्धी छलफल हुने कक्षा ९ मा पढ्ने क्लबका कोषाध्यक्ष विवेक आचार्यले बताए । स्कुलको क्यान्टिनमा जंकफुड बिक्री हुँदैन । घरबाट खाजा नल्याउने क्यान्टिनमा रोटी, मटर, चना, अण्डालगायत खान्छन् ।


नातेदारले बिस्कुट, चाउचाउ ल्याइदिएको उनीहरूले मन पराउँदैनन् । ‘दैनिक घरबाटै खाजा लिएर आउँछु,’ आचार्यले भने, ‘आमाले खाजा बनाएर टिफिनमा राखिदिनुहुन्छ ।’ स्कुलमा दिउँसोको छुट्टीमा साथीभाइ मिलेरै खाजा खाने उनले बताए । प्रकाश सचेतन समूहले सरसफाइ र जंकफुडसम्बन्धी जानकारी गराएपछि एक वर्षदेखि उनले जंकफुड खाजा घर र स्कुल कतै खाएका छैनन् ।


स्कुलमा सात सय विद्यार्थी अध्ययनरत छन् । सबैले पसलबाट चाउचाउ, बिस्कुटलगायत किन्थे । अहिले विद्यालयमा ताजा र घरबाट ल्याएको खाजा अनिवार्य गरिएको छ । ‘विद्यालयमा जंकफुड निषेध गरेपछि व्यापारीहरू रिसाएर झगडा गर्न नै आए,’ विद्यालयका प्रधानाध्यापक पशुपति भुसालले भने, ‘हामीले वास्तै गरेका छैनौं । व्यापारीका निम्ति विद्यार्थीको स्वास्थ्यसँग खेलबाड गर्न सक्दैनौं ।’


चुत्रावेशीको गंगा आधारभूत विद्यालय बाल क्लबकी अध्यक्ष सरिता खनालले फोहरले दुर्गन्ध फैलिने र स्वास्थ्यलाई असर गर्छ भन्ने कुरा बुझेकी छन् । बासी र सडेगलेको खानेकुरा खाए रोगी भइने उनले बताइन् । स्कुलमा फोहरमैला गर्नु हुँदैन र ताजा खानेकुरा खानुपर्छ भन्ने ज्ञान उनले घरमा बाबुआमालाई पनि भनेको सुनाइन् । घरमा र स्कुलमा लगाउने छुट्टै युनिफर्म छन् । शरीर सफा राख्छिन् । चर्पीमा दिसा–पिसाब गरेपछि साबुनपानीले हात धोएर मात्रै उनी कक्षाकोठामा पस्छिन् ।


गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदीप भण्डारीले स्कुल मैदानमा प्लास्टिक, फोहर र कागज देखा परे विद्यार्थीले कसले फाल्यो, कसरी आयो भनेर प्रश्न गर्ने बताए । छोराछोरीले स्कुलको पढाइसँगै सरसफाइ, स्वास्थ्य र खानपानमा ध्यान दिन थालेपछि अभिभावक पनि खुसी भएको स्थानीय हुमप्रसाद बन्जाडेले बताए । ‘बिहानै उठेर छोराछोरीले कुचो लगाउने, लिपपोत गर्ने, भाँडा सफा राख्ने, बासी खानेकुरा खानु हुँदैन भन्न थालेका छन्,’ उनले भने ।


प्रकाशित : कार्तिक ७, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?