१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उज्यालो सन्धिखर्क

कान्तिपुर संवाददाता

काठमाडौँ — लोडसेडिङको समयमा पनि सदरमुकाम सन्धिखर्क उज्यालो रहन्छ । सन्धिखर्कका साथै चुत्राबेंसी, हललाइनलगायत बजार रातभर उज्यालो हुन थालेका छन् । सडकका चोक, गल्ली, मठमन्दिरमा सोलार बत्ती जोडिएका छन् । सन्धिखर्कलाई सोलार बत्तीले उज्यालो बनाएको हो । 

केही महिनादेखि सन्धिखर्क नगरपालिकाका १२ वटै वडा कार्यालय र चोकमा सोलार जडान गरिएको छ । वडा कार्यालय सुरक्षित राख्न सोलार बत्ती जडान गरिएको हो । सुन्दर शान्ति बगैंचामा पनि बत्ती जडान गरिएको छ । बगैंचाका फूल, बिरुवा र अन्य संरचना चोरी हुनबाट बत्तीले जोगाएको छ । नगरको २० लाख रुपैयाँ बजेटबाट सन्धिखर्क उज्यालो बनेको सन्धिखर्क नगर उपप्रमुख ठाकुरकुमार विकले बताए ।


सदरमुकाममा राति ढुक्कले हिँडडुल गर्न सहज होस्, कोही पनि असुरक्षित नहोउन् भन्नका लागि बत्ती जडान गरिएको उनले बताए । साँझमा गाडीबाट ओर्लंदा यात्रुका झोला हराउने, लगाएका गरगहना चोरी हुने, बाटोमा हिँड्दा अँध्यारोका कारण लडेर चोटपटक लाग्ने, मदिरा सेवन गरी हिँड्नेले पैदल यात्रुलाई दुर्व्यवहार, कुटपिट गर्नेजस्ता क्रियाकलाप अहिले घटेको नगर उपप्रमुख विकले बताए ।


सन्धिखर्क बजारको मुख्य चोकमा सीसीक्यामरा जडान गरिएको छ । मदिराले मात्तिएकाहरू सडकमा होहल्ला गर्दै हिँड्ने पनि उज्यालो सन्धिखर्क र सीसीक्यामराका कारण घटेका छन् । पवित्र मठमन्दिरवरिपरि दिसापिसाब गरेर फोहोर बनाउने, दुर्गन्ध फैलाउने, मन्दिर तोडफोड गरेर मूर्तिलगायत सामग्री चोरी हुने समस्या अहिले हटेको स्थानीयको अनुभव छ । सन्धिखर्कमा शान्ति बगैंचामा पाञ्चायङ मन्दिर, चुत्राबेंसीमा सिद्धेश्वर शिवालय, मस्जिद, बसपार्कमा मन्दिर छन् । वरपर उज्यालो हुन्छ । त्यति मात्रै होइन, बजारका घर र पसलबाट सरसामान चोरी गर्ने समस्या पनि हटेको छ । सीसीक्यामराका कारण मदिराले मात्तिएर होहल्ला गर्ने र चोरी गर्ने समूह देखा परेका छैनन् । ‘मुख्य सबै गल्ली उज्यालो भएपछि हिँडडुल गर्न असुरक्षित छैन,’ सन्धिखर्क नगरपालिका–१ का सदस्य लक्ष्मण पराजुलीले भने ।


साँझ पर्नेबित्तिकै महिला र बालबालिकालाई लाग्ने डर–त्रास हटेको छ । ढुक्कले हिँड्न पाएका छन् । उज्याला सडक र सीसीक्यामराका कारण शान्ति सुरक्षा कायम गर्न र अपराध गर्नेहरूको पहिचान गर्न सहज भएको प्रहरी प्रमुख प्रकाश विष्टले बताए । रातिमा गाडीबाट ओर्लेर होटलसम्म पैदल हिँडेर पुग्न असुरक्षित छैन । ‘सदरमुकाममा जतिबेला ओर्ले पनि होटलमा बास बस्नलाई यसले मद्दत गरेको छ,’ विन्दु होटलका सञ्चालक माधवा आचार्यले भनिन् ।

प्रकाशित : कार्तिक ६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?