१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यालय रित्तो पारेर विदेश भ्रमण

कान्तिपुर संवाददाता

लुम्बिनी — लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा गएपछि कार्यालय शून्य बनेको छ । कोषको कार्यालय नै रित्तो पारेर उनीहरू चीन एवं म्यानमारको भ्रमणमा गएका हुन् । 

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको नेतृत्वमा एउटा टोली गत कात्तिक १ मा चीन भ्रमणमा निस्किएको थियो भने सोही दिन कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको नेतृत्वमा अर्को टोली म्यानमार भ्रमणमा गएको हो । उपाध्यक्षको टोली लुम्बिनीस्थित जोङहुवा बौद्ध विहारको निमन्त्रणामा चीनको सेन्चेन पुगेको छ । टोलीमा कोषका निमित्त सदस्य–सचिव तथा योजना प्रबन्धक सरोज भट्टराई, कोषका सदस्य अमेरिका कोहार र त्रिपाठीका स्वकीय सचिव भोला गुप्ता छन् । टोलीमा सहभागी कोषबाहिरका व्यक्ति पनि छन् । कात्तिक १ मा पूजा र २ मा साउथ चाइना सी राउन्ड टेबल कन्फरेन्स थियो । त्यसपछि दुई दिन विभिन्न स्थलको अवलोकन भ्रमण गरे । उपाध्यक्ष त्रिपाठी र सदस्य–सचिव भट्टराई राउन्ड टेबल कन्फरेन्समा सहभागी नभएर चीनको गोन्जाओबाट म्यानमार पुगेको कोषका एक कर्मचारीको दाबी छ ।


त्यसअघि कोषाध्यक्ष शाक्य र सदस्य राजेश ज्ञवाली म्यानमार भ्रमण गएका थिए । म्यानमारमा कोषको जम्बो टोली पुगेको हो । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी विभिन्न कार्यक्रममा उनीहरू संलग्न भएका थिए । उनीहरू अहिले त्यहाँका विभिन्न ठाउँको अवलोकन भ्रमण गरिरहेका छन् । म्यान्मारबाट टोली कात्तिक ८ मा नेपाल फर्कने छ ।


चीनको टोली आजै फर्किंदैछ । चीनको भ्रमण खर्च आयोजकले बेहोरेको हो भने म्यानमार भ्रमणको सबै खर्च कोषले बेहोरेको छ । उपाध्यक्ष त्रिपाठी चीन भ्रमण जानुअघि असोज २३ मा क्यानाडाबाट फर्केका थिए । पर्यटन मन्त्री योगेश भट्टराईसँगै उनी त्यहाँ गएका थिए । उनी उपाध्यक्षका हैसियतमा काज लिएर गएको खुलेको छ ।


उपाध्यक्ष त्रिपाठी तीन महिनाअघि कोषका पदाधिकारी र कर्मचारी लिएर चीनको लेसान पुगेका थिए । ‘गुरुयोजना पूरा नहुनु लुम्बिनीको प्रमुख समस्या हो,’ लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसैनी लोधले भने, ‘घुम्न पाएपछि

पदाधिकारीहरू जस्तोसुकै महत्त्वपूर्ण काम पनि छोड्छन् ।’ पदाधिकारी भ्रमणमा गए पनि काममा प्रभाव नपरेको निमित्त कोष प्रबन्धक सब्बिर खानले बताए ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?