कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय गन्तव्य बन्दै गेरुवा

कान्तिपुर संवाददाता

(बर्दिया) — दक्षिणतर्फ बगेको कर्णाली नदी चिसापानीबाट दुई चिरा परेको छ । पूर्व–पश्चिम हुँदै बगेको भँगालोले घेरेकाले गेरुवा गाउँपालिका टापु बनेको हो । गाउँपालिका जैविक विविधताले धनी छ । प्रकृतिबाट प्राप्त उपहारको सदुपयोग गर्दै अहिले उक्त पालिका पर्यटकीय विकास गर्न लागिपरेको छ । उसले नीति तथा कार्यक्रम बनाएरै कार्यान्वयनमा जुटेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पर्यटनका लागि बल पुगेको छ । गाउँपालिकालाई मध्यवर्ती वनले घेरेको छ । वन्यजन्तु सहजै देख्न सकिने भएकाले पर्यटकको रोजाइमा परेको हो । ‘हाम्रो गाउँपालिका प्राकृतिक रूपमै धनी छ । यसको सदुपयोग गरेर पर्यटकीय क्षेत्रको रूप दिन खोजेका छौं,’ गाउँपालिका अध्यक्ष जमानसिंह केसीले भने, ‘पर्यटनले नै यहाँका सर्वसाधारणको आर्थिक स्तर उठ्न सक्छ ।’ पर्यटकलाई कर्णाली र बबईमा र्‍याफ्टिङ गराउन सकिन्छ । गाउँपालिकाले स्वदेशी तथा विदेशी पर्यटकका लागि ६ वटै वडामा होमस्टे सञ्चालनमा ल्याउन थालेको छ । गेरुवा–१, जनकनगरमा एक दर्जनभन्दा बढी होमस्टे सञ्चालमा आइसकेका छन् ।


गेरुवा–५ को बन्जरिया, वडा ४ को गोला गाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । होमस्टेबाट स्थानीयले आम्दानी गर्न थालेका छन् । त्यससँगै परम्परागत खानपिन र परम्परा प्रर्वद्धनमा सहयोग पुगेको छ । गाउँपालिकामा रहेका सामुदायिक वनमा पाटे बाघ, भालु, हात्ती, मृगलगायतका दुर्लभ वन्यजन्तु र चरा हेर्न पाइन्छ । चारैतिर वन भएकाले हरियाली छाएको छ । यहाँको वातावरण शान्त छ । ‘गेरुवा टापु पर्यटकीय क्षेत्र भएर पनि ओझेलमा परेको छ । यसको व्यापक प्रचारप्रसारमा जोड दिइरहेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले भने, ‘नजिकको ठाकुरद्वारा घुम्न पर्यटक आउँछन् । जोडिएको गेरुवालाई गन्तव्य बनाउन सक्ने हो भने पर्यटकको बसाइ थपिन्छ । र, स्थानीयले त्यसको लाभ पाउन सक्छन् ।’ उक्त पालिका ७८.४१ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । पूर्वमा बर्दिया निकुञ्ज छ । मध्यवर्ती जंगल अधिक छ । गाउँपालिकाको जनसंख्या ४० हजार ६ सय ५४ छ ।


साबिकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गाविसलाई गाभेर ६ वडा कायम गरी पालिका बनाइएको हो । यहाँको मुख्य व्यवसाय कृषि हो । स्थानीय बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेको साना व्यापार, सेवामूलक व्यवसाय र वैदेशिक रोजगारी बनेको छ । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढेको छ । पर्यटन विकास हुन सके युवाहरूले गाउँमै रोजगारी पाउने र विदेशिने क्रम कम हुने पालिकाको विश्वास छ । ‘प्रकृतिले पालिकालाई बरदान दिएको छ । तर, यसको विकास गर्न नसकिएकाले ओझेलमा परेको हो,’ स्थानीय अगुवा जनक चौधरीले भने । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिरहँदा बर्दियामा पनि पर्यटक बढ्ने विश्वास गरिएको छ । गाउँपालिकाले पर्यटकका लागि केही शुल्क लिन सक्ने कानुन पारित गरेको छ । तर, हालका लागि भने पर्यटकले घुमघामका लागि कुनै शुल्क तिर्नु पर्ने छैन । ‘अहिले पर्यटकीय क्षेत्र बनाउने क्रममै छौं,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘पर्यटकीय क्षेत्रले नै यहाँको आर्थिक स्तर माथि उठ्न सक्छ ।’


प्रकाशित : कार्तिक ६, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?