३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘नो पार्किङ’ मा लहरै सवारी

मधु शाही

(बाँके) — ट्राफिक साइनबोर्डमा लेखिएको छ, ‘नो पार्किङ’ । त्यहीवरिपरि भने सडक नै अवरुद्ध हुने गरी मोटरसाइकल, साइकल र गाडीको पार्किङ खचाखच छ । ट्राफिक प्रहरीको दिन त्यही ‘नो पार्किङ’ मा राखिएका सवारीसाधन कहिले यता हटाउने त कहिले उता हटाउनेमै बित्छ । स्मार्ट सिटी बनाउने नेपालगन्ज उपमहानगरपालिकाको सोचलाई अव्यवस्थित पार्किङ प्रवृत्तिले चिन्तित बनाएको छ । 

‘नो पार्किङ’ मा लहरै सवारी

नेपालगन्जका सबैभन्दा पुराना बजार सदरलाइन, त्रिभुवन चोक, न्युरोड, बीपीचोक, रानी तलाउ हुन् । त्यहाँ किनमेल गर्न आउनेको जहिल्यै घुइँचो लाग्छ । उनीहरू पार्किङ गर्ने सुरक्षित र व्यवस्थित स्थान नहुँदा सकडमै जथाभावी सवारी राख्न बाध्य छन् । यसै बेला ट्राफिकले साधन उठाएर लैजाने गर्दा सास्ती भएको सर्वसाधारणको गुनासो छ ।


सदरलाइनमा आइतबार किनमेल गर्न आएका मोहन ठकुरीले नो पार्किङ लेखिएकै ठाउँमा मोटरसाइकल पार्किङ गरे । ट्राफिक नियम उल्लंघन गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि उनले पार्किङ गरे । ‘पैसा तिर्छु भन्दा पनि पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘यस्तो व्यस्त बजारमा दुई/चारवटा मोटरसाइकल अटाउने मात्रै पार्किङ छ । जुन साह्रै अपुग छ ।’ बागेश्वरी टोलकी गीता भुजेलले सुरक्षित पार्किङ स्थलको अभावमा सर्वसाधारणले निकै कष्ट झेल्नु परेको बताइन् । ‘नजिकै व्यापार भएको ठाउँमा पार्किङ गर्दा ट्राफिकले थुप्रैपटक सवारीसाधन नियन्त्रणमा लिएका छन्,’ उनले आफ्नै अनुभव सुनाउँदै भनिन्, ‘यहाँ राख्न पाइँदैन भन्छन्, कहाँ राख्ने भनेर स्थान भने तोक्दैनन् ।’


त्रिभुवन चोकमा खटिएका प्रहरी जवान पाण्डव केसीका अनुसार सुरक्षित पार्किङस्थल नहुँदा भीडभाडमा दुर्घटनासमेत हुने गरेको छ । सवारीसाधन सडकमै राख्दा हिंडडुल गर्ने पैदल यात्रु मर्कामा परेको उनले बताए । टाँगा, रिक्सा चल्न थाले भने सडक जाम भएर नियन्त्रणमा ल्याउनै गाह्रो पर्ने उनको अनुभव छ । व्यवस्थित सडक बनाउन बाटो बढाए पनि पार्किङमा ध्यान नदिंदा समस्या भएको फैन्सी ज्वैलर्सका व्यापारी मोहमद हजुवले बताए । ‘जहाँ पार्किङ स्थल हुँदैन, त्यो सहर व्यवस्थित र स्मार्ट सिटी बन्नै सक्दैन,’ न्युरोडकै अर्का व्यापारी जगतनारायण चौधरीले भने, ‘सडक ठूलो बनाउँदादेखि नै दयामाया नगरी अलि धेरै क्षेत्र ओगटेको भए अहिले पार्किङको समस्या नै हुने थिएन ।’


यहाँको सुर्खेत रोडमा व्यवस्थित ढंगले सवारी साधन राख्ने प्रयास थालिएको छ । तर, त्यहाँ पनि पर्याप्त स्थानको अभाव छ । एकातिर सर्वसाधारणलाई ट्राफिक नियमबारे कम चेतना भएकाले अटेरी गर्नु र पार्किङको सुरक्षित स्थान नतोकिनुले समस्या भएको बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुख पविन्द्रबहादुर बलले बताए । उनका अनुसार ५ सयदेखि हजार रुपैयाँ जरिवाना लिंदा पनि मान्छेहरू अटेरी गर्छन् ।


नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले भने पार्किङ क्षेत्र प्रशस्त भएको दाबी गरे । शुल्कसहित पार्किङस्थल बनाउने योजना सुनाउँदा व्यापारीले सहमति नजनाएको उनको दाबी छ । ‘जहाँ बजार छ, त्यहीँ पार्किङस्थल बनाउनुपर्छ भन्दै व्यापारी जबरजस्ती गर्छन्,’ उनले भने ।


प्रकाशित : कार्तिक ५, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?