लामी रहमा उच्च बाँध

अमृता अनमोल

(बुटवल) — लामी रहमा बहुउद्देश्यीय उच्च बाँध निर्माण गरिने भएको छ । चुरे संरक्षण, जमिनमुनिको पानी रिचार्ज, सिँचाइ र जलपर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बाँध निर्माण योजना अगाडि बढाइएको हो । सैनामैना नगरपालिकाको अगुवाइमा राष्ट्रपति चुरे संरक्षण विकास समितिले काम थालेको छ । 

रूपन्देहीको सैनामैना नगरपालिका–३, गंगानगरनजिकै लामी रह छ । जुन पूर्वपश्चिम राजमार्गको मुर्गियादेखि करिब तीन किलोमिटर उत्तरमा पर्छ । चुरेबाट कलकल बग्ने खप्परखोला त्यहाँ आएपछि ताल परेको छ । रह हाल करिब ४० मिटर क्षेत्रफलमा फैलिएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले जलपर्यटन प्रवर्द्धन र सिँचाइ सुविधा बढाउने मुख्य उद्देश्यसहित बाँधसहितको बहुउद्देश्यीय जलाशय पार्क निर्माण थालिएको बताए । ‘वर्षातको भेलसहितको पानीलाई बाँधमा संकलन गरेर राखी माग र आवश्यकताअनुसार बाह्रै महिना उपयोग गरिनेछ,’ उनले भने, ‘आसपासको सुन्दरता बढाएर पर्यटकको आगमन बढाइनेछ ।’ जलाशयको पानीमा बोटिङ गर्ने, माछा पालन गर्ने, होटल, रिसोर्ट र वाटर फन पार्क सञ्चालन गर्ने सहायक योजना बनाएको उनले बताए ।


रहमा अहिले पनि स्थानीय पौडी खेल्न, माछा मार्न र पानीको मजा लिन जाने गरेका छन् । साइकिलिङ गर्ने र पिकनिक खान जाने पनि रह आसपासमा भेटिन्छन् । गंगानगर क्षेत्रमा सिँचाइ गर्न यही खोलाबाट पानी लगिएको छ । तर, बाढी र कटानले कुलो भत्किइरहन्छ । यसले बाह्रैमास सिँचाइमा उपयोग गर्न नसकिएको स्थानीय रामबहादुर थापाले बताए । ‘सैनामैनामा चुरे पहाडबाट बगाएर ल्याएको पाँगो मिसिएको मलिलो माटो छ,’ उनले भने, ‘बाँधबाट सिँचाइ पुर्‍याउने हो भने कृषि उत्पादन दोब्बर बढाउन सकिनेछ ।’ पानीको बहुउपयोग गर्न भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिले गत वर्ष लामी रह बाँधको सम्भाव्यता अध्ययन गरेको थियो । खप्परखोला हिउँदमा समेत नसुक्ने भएकाले ४० मिटर अग्लो बाँधसहितको जलाशय निर्माण गर्न सकिने अध्ययनमा उल्लेख छ । त्यसकै आधारमा चालु आर्थिक वर्षमा बाँधको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्दै छ । समितिको बुटवल कार्यालय प्रमुख तथा उपसचिव अजय कार्कीले बाँध निर्माणका लागि पहिलो चरणमा ३० लाख बजेट विनियोजन भएको बताए । ‘विस्तृत प्रतिवेदनको काम सकेलगत्तै चालु आर्थिक वर्षबाटै निर्माणको काम सुरु हुनेछ,’ उनले भने, ‘त्यसमा बाँध निर्माण र पर्यापर्यटनको काम समितिले र सिँचाइको काम सिँचाइ विभागले अगाडि बढाउने तयारी छ ।’


लामी रहसम्म अहिले मोटर बाटो पुगेको छ । यहाँबाट पाल्पाको कचल, उदाङलगायत बस्ती नजिक छन् । उनीहरू आफ्ना कृषि उपज बेच्न तथा अन्य सामग्री किन्न यही बाटो भएर पैदल आउजाउ गर्छन् । रह नजिकमा पार्क छ । स्थानीयले रमाइलो गर्ने र वनभोज खाने स्थल बनेको छ, यो पार्क । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले रहसँगै त्यस पार्कको संरक्षण र सुन्दरता बढाउने काम थालेको छ । चुरे क्षेत्रको जंगल सफारी गराउन सम्भाव्यता अध्ययन गरेको छ । त्यसका लागि पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।


जलाशयको एक किलोमिटर दूरीभित्र सैनामैना पुरातात्त्विक क्षेत्र छन् । बुद्ध पार्क र थारू होमस्टे निर्माणाधीन अवस्थामा छन् । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई ती क्षेत्र हुँदै लामी रहमा पुर्‍याउने दीर्घकालीन लक्ष्य छ । ‘त्यसका लागि बुद्ध सर्किटमा लामी रहलाई जोडिनेछ,’ राष्ट्रपति चुरे संरक्षण विकास समितिसँगै अनुगमनमा आएका पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने, ‘लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउन र पानीमा रमाउन यो नयाँ गन्तव्य बन्ने निश्चित छ ।’


प्रकाशित : कार्तिक ५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?