कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गरिमा धान : बीउ विक्रेतालाई कारबाही गरिने

कान्तिपुर संवाददाता

बर्दिया — राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको १ सय ५० हेक्टरभन्दा बढी खेतमा रोपेको गरिमा धानमा बाला नलागेपछि सोमबारदेखि तथ्यांक लिने काम सुरु भएको छ । बीउ विक्रेताबाट क्षतिपूर्ति लिन तथ्यांक संकलन गर्न लागिएको हो ।

गरिमा धान : बीउ विक्रेतालाई कारबाही गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम (धान सुपर जोन) ले तथ्यांक लिएर किसानलाई क्षतिपूर्ति र बीउ विक्रेताविरुद्ध कारबाही गरिने परियोजना प्रमुख तपेन्द्र शाहले बताए । अहिलेसम्म झन्डै २० जनाले मौखिक रूपमा परियोजनालाई धान नपसाएको जानकारी गराएको उनले सुनाए । प्रदेश ५ की भूमिसुधार, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आइतबार यस क्षेत्रको गरिमा धानको बीउबाट भएको क्षतिको अवलोकन गरेकी छन् । उनले छानबिन गरी दोषीमाथि कारबाहीको निर्देशन पनि दिइन् ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले गरिमा बीउ आयातकर्ता सनराइज एग्रिकल्चर दाङ भएकाले लिखित उजुरी आएपछि त्यसविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताए । बढी फल्ने, खानामा मीठो हुने र १ सय २० दिनमा उत्पादन हुने भन्दै किसान गरिमा धानप्रति आकर्षित भएका थिए । गरिमा जातको धान रोपेका गेरुवा–३ का किसान चल्टु थारुले लगानी नै स्वाहा भएको बताए । ‘एक बिघा क्षेत्रफलमा लगाएको धानमा बाला नै लागेन,’ उनले भने, ‘अब वर्षभरि के खाने भन्ने चिन्ता भएको छ ।’ गरिमा भारतमा उत्पादन गरेको हाइब्रेड जातको धान हो । पाँच वर्षअघि यो धान पश्चिम नेपालको तराईमा भित्रिएको हो । अहिले गरिमा धान राजापुर क्षेत्रलगायत जिल्लाको ठाकुरद्वारा, बढैयाताल, गुलरियामा समेत बाला नलागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


ज्ञान केन्द्र प्रमुख सागर ढकालले गरिमा जातको धानमा वाला नलागेकाले अनुसन्धान सुरु गरेको बताए । ‘गरिमा जातको हो होइन, छानबिन भइरहेको छ,’ उनले भने, ‘कृषि अनुसन्धान परिषद्ले सक्कली हो वा नक्कली परीक्षण गरेपछि थाहा हुन्छ ।’

प्रकाशित : कार्तिक ५, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?