३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नागरिकता र राहदानी लिनेको भीड

कान्तिपुर संवाददाता

अर्घाखाँची — दसैं मनाउन घर आएकाको अहिले जिल्ला प्रशासनमा भीड लाग्न थालेको छ  । दसैं बिदापछि कार्यालय खुलेसँगै गुल्मी र अर्घाखाँचीमा नागरिकता र राहदानी लिनेको भीड बढेको हो  ।

स्वदेश तथा विदेशमा रोजगारी, अध्ययन, विभिन्न पेसा व्यवसायमा रहेकाहरू दसैंमा घर आएको मौकामा प्रशासनिक काम सकेर कर्मथलोमा फर्कन चाहेकाले जिल्ला प्रशासनमा सेवाग्राहीको घुँइचो बढेको छ ।


वाङलाका विनोद आचार्यले छोरा र श्रीमतीको नागरिकता बनाइदिए । भारतको दिल्लीमा २० वर्षदेखि रोजगारी गर्दै आएका उनी चार वर्षमा घर आएका हुन् । यही मौकामा नागरिकता बनाइदिएको उनले बताए । ‘झट्टै फेरि आउन पाइन्न । यसपालि बनाएरै जान्छु भनेर केही दिन छुट्टी बढाएर काम सकें,’ उनले भने, ‘बिनाझन्झट एकै दिनमा नागरिकता बन्यो । ज्यादै खुसी लाग्यो । अब दुई/चार दिनमा रोजगारीका लागि भारततर्फ जान्छु ।’ धारापानीका सुवास बञ्जाडे तीन वर्षमा कतारबाट घर आएका हुन् । छोरीको नागरिकता बनाइदिए । श्रीमतीको राहदानी बनाउन सिफारिस लिए । कतार लैजान उनले राहदानी बनाउन लागेको सुनाए । ‘बिदा धेरै छैन, पहिला म जान्छु त्यसपछि श्रीमतीलाई बोलाउने हो,’ उनले भने, ‘त्यसका लागि घर आएको मौकामा प्रशासनिक काम सकें ।’


उनीजस्ता थुप्रै अहिले नागरिकता बनाउन दैनिक प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । अरू बेलाभन्दा दसैं र तिहारको बीचमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्वासेले बताए ।


गुल्मीको जिल्ला प्रशासनमा पनि उस्तै भीड छ । दसैं बिदामा घर आएका बेला प्रशासनिक काम गर्न तम्घास दौडधुप गर्ने बढेका छन् । दसैंपछिको एक सातामा ३ सय ८५ जनाले नागरिकता लिएको सूचना अधिकारी एवं प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । १ सय ४० जनालाई राहदानी वितरण र ४ सय १ जनाले राहदानीको सिफारिस लगेको उनले बताए । राहदानी सिफारिसमार्फत १३ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको उनले सुनाए ।


दुर्गम गाउँमा घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको थियो । वषौंसम्म नागरिकता लिन सम्भव नभएकालाई सहज भएको थियो । यसपालि गाउँको शिविरमा नागरिकता वितरण नगरिने उनले बताए । शिविरमा नागरिकता वितरण गर्दा धेरै त्रुटि देखिएकाले गृह मन्त्रालयबाट वितरण नगर्न निर्देशन आएको उनले सुनाए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?