५० वर्षदेखि हरिकीर्तन

कान्तिपुर संवाददाता

पाल्पा — जिल्लाको बगनासकाली–९, चापपानी सिखरे भगवती मन्दिरमा ५० वर्षदेखि हरिकीर्तन हुँदै आएको छ । कात्तिक महिनाको पहिलो शनिबार २४ घण्टे अखण्ड हरिकीर्तन हुने गरेको हो । यस वर्ष मन्दिर व्यवस्थापन समितिले ५० औं वर्षको अवसरमा विशेष पूजा आराधनासहित अखण्ड कीर्तन गरेको छ । 

मन्दिरका हरिकीर्तन संयोजक यमलाल तिमिल्सिनाले ५० वर्षदेखि हरेक वर्ष हरिकीर्तन गर्ने मुलुकमै सम्भवत: पहिलो मन्दिर भएको दाबी गरे । ०२७ सालमा गाउँमा मानिस तथा गाईभैंसीमा समेत महामारी देखिएको थियो । त्यसपछि धार्मिक विश्वासका आधारमा हरेक वर्ष कात्तिकको पहिलो शनिबार हरिकीर्तन सुरु हुन्छ ।

अहिले जस्तो औषधि उपचारको सहजता नभएका बेला रोगव्याधि तथा महामारीको अन्त्यको कामना गर्दै हरिकीर्तन सुरु भएको संयोजक तिमिल्सिनाले बताए । त्यसबेला गाउँलेले पीपलको रुखको फेदमा २४ घण्टे कीर्तन थालेका थिए । ‘त्यसबेलामा भगवान्को भरोसा र भजनकीर्तनमा बढी विश्वास थियो,’ उनले भने, ‘त्यसैले पनि भजनकीर्तन गरेर धार्मिक विश्वासका आधारमा गाउँका मानिस र पशुलाई रोगव्याधिले नछोओस् भन्ने कामना गरिएको थियो ।’

त्यसपछि क्रमश: उक्त परम्परालाई युवा पुस्ताले निरन्तरता दिएको छ । स्थानीय २१ घर समुदायले अहिले हरेक वर्ष हरिकीर्तन गर्छन् । त्यसका लागि आवश्यक रकम र पूजा सामग्री जुटाउने गर्छन् । कीर्तनमा आउनेले चढाउने भेटी कीर्तन सञ्चालनका लागि सहयोगी बनेको अखण्ड कीर्तन जनसम्पर्क उपसमितिका संयोजक ज्ञानराज तिमिल्सिनाले बताए । यस वर्ष कीर्तनसहित पाठपारायण, सामूहिक न्वागीलगायत कार्यक्रम गरिएको उनले बताए ।

स्थानीय युवा भोजराज तिमिल्सेना र यज्ञमूर्ति तिमिल्सेनाका अनुसार त्यतिबेलाको विश्वासका आधारमा अहिले पनि भजनकीर्तन गर्ने गरिन्छ । यस्तै कीर्तन अहिले सोही गाउँका तीन ठाउँमा हुने गर्छ । बगनासकाली गाउँपालिका–९, चापपानीका वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले मठमन्दिर पनि पर्यटकीय गन्तव्य भएकाले वडा कार्यालयले प्राथमिकता दिएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कक्षामा मोबाइल निषेध

कान्तिपुर संवाददाता

बर्दिया — दुरुपयोग बढेपछि गुलरिया र बारबर्दिया नगरपालिकाले विद्यालयमा मोबाइल फोन चलाउन रोक लगाएको छ । पढाउने समयमा शिक्षक लामो समय कुराकानीमा व्यस्त हुने, गेम खेल्ने, सामाजिक सञ्जालमा भुल्ने गरेको गुनासो बढेपछि शिक्षकलाई विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाइएको नगरपालिकाले जनाएका छन् ।

विद्यार्थी र अभिभावकको सामूहिक गुनासोपछि कक्षाकोठामा शिक्षकलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । ‘कार्यालयमा शिक्षकका लागि व्यवस्था गरिएको खापा (र्‍याक)मा मोबाइल फोन राखेर कक्षाकोठामा जानुपर्ने नियम लगाइएको छ,’ उनले भने, ‘खाली पिरियडमा मात्रै फोन प्रयोग गर्ने, अन्यथा विद्यालय प्रशासनमाथि कारबाही हुनेछ ।’ गुलरिया नगरका हरेक वडाध्यक्षदेखि सदस्यसम्मले शिक्षकमाथि निगरानी राख्ने शिक्षा शाखाका अधिकृत सतिशकुमार यादवले बताए । अत्यन्त जरुरी भए टिफिन समयमा मोबाइल प्रयोग गर्न पाइने उनले जनाए ।

आधुनिक र प्रविधिको जमानामा विद्यालयमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाइनु जायज नभएको शिक्षकले गुनासो गरेका छन् । विद्यार्थीलाई आधुनिक सञ्चार प्रविधिको ज्ञान दिने ठाउँमा मोबाइल प्रयोगमा रोक लगाइनु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताए । कोटही माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र रावलले कक्षाकोठामा मोबाइल फोन प्रयोग गर्न नमिल्ने बताए । प्रयोग गर्नु परे विद्यालय प्रशासनको अनुमति लिनुपर्ने नियम राख्नुपर्ने उनको सुझाव छ । बारबर्दिया र गुलरिया नगरपालिकाभित्र निजी र सामुदायिक गरी झण्डै एक सय विद्यालय छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT