१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कक्षामा मोबाइल निषेध

कान्तिपुर संवाददाता

बर्दिया — दुरुपयोग बढेपछि गुलरिया र बारबर्दिया नगरपालिकाले विद्यालयमा मोबाइल फोन चलाउन रोक लगाएको छ । पढाउने समयमा शिक्षक लामो समय कुराकानीमा व्यस्त हुने, गेम खेल्ने, सामाजिक सञ्जालमा भुल्ने गरेको गुनासो बढेपछि शिक्षकलाई विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाइएको नगरपालिकाले जनाएका छन् ।

विद्यार्थी र अभिभावकको सामूहिक गुनासोपछि कक्षाकोठामा शिक्षकलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । ‘कार्यालयमा शिक्षकका लागि व्यवस्था गरिएको खापा (र्‍याक)मा मोबाइल फोन राखेर कक्षाकोठामा जानुपर्ने नियम लगाइएको छ,’ उनले भने, ‘खाली पिरियडमा मात्रै फोन प्रयोग गर्ने, अन्यथा विद्यालय प्रशासनमाथि कारबाही हुनेछ ।’ गुलरिया नगरका हरेक वडाध्यक्षदेखि सदस्यसम्मले शिक्षकमाथि निगरानी राख्ने शिक्षा शाखाका अधिकृत सतिशकुमार यादवले बताए । अत्यन्त जरुरी भए टिफिन समयमा मोबाइल प्रयोग गर्न पाइने उनले जनाए ।


आधुनिक र प्रविधिको जमानामा विद्यालयमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाइनु जायज नभएको शिक्षकले गुनासो गरेका छन् । विद्यार्थीलाई आधुनिक सञ्चार प्रविधिको ज्ञान दिने ठाउँमा मोबाइल प्रयोगमा रोक लगाइनु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताए । कोटही माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र रावलले कक्षाकोठामा मोबाइल फोन प्रयोग गर्न नमिल्ने बताए । प्रयोग गर्नु परे विद्यालय प्रशासनको अनुमति लिनुपर्ने नियम राख्नुपर्ने उनको सुझाव छ । बारबर्दिया र गुलरिया नगरपालिकाभित्र निजी र सामुदायिक गरी झण्डै एक सय विद्यालय छन् ।


प्रकाशित : कार्तिक ३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?