१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘मगन्ता’ को पहिचान न सम्मान

रूपा गहतराज

(नेपालगन्ज) — पुर्खाले मागेरै जीवन निर्वाह गरे । माग्ने पेसा भएकाले ‘मगन्ता’ को पहिचान बन्यो । अहिले मागेर गुजारा चल्न छाड्यो । उनीहरूले पेसा र पहिचान गुमाएका छन् । गरिबी, अशिक्षा र चेतनाको कमी छ । अहिले उनीहरू आफ्नो समुदायलाई सूचीकृत गर्न माग गरिरहेका छन् । आफूलाई दलितमा समावेश गर्नुपर्ने उनीहरूको भनाइ छ । 

गाउँघरमा खेतीपातीका लागि खट्ने यामसम्म घरै बस्ने अल्पसंख्यक मगन्ता समुदाय त्यसपछि भने माग्न हिँड्छन् । फिरन्ते जीवनशैलीका कारण उनीहरूसँग आफ्नो जग्गा र सम्पत्ति छैन । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा मगन्ता बस्ती छ । करिब ३५ कट्ठा जमिनमा १ सय २० घरधुरी छन् । धेरैजना ऐलानी जमिनमा टहरा बनाएर बसेका छन् । पेसाजस्तै बसोबास पनि अनिश्चित र अस्थायी छ । उनीहरू विभिन्न समय माग्नका लागि बसाइँ सरिरहन्छन् ।


हिरमिनियालगायतका विभिन्न ठाउँमा गरेर जिल्लामा दुई सय परिवार मगन्ताको जनसंख्या एक हजार हाराहारी छ । उनीहरूमा सयजनाभन्दा बढी बालबालिका छन् । कोही पनि विद्यालय जाँदैनन् । बाबुआमाको पेसामा सघाउँछन् । माग्नका लागि अभिभावक बसाइँ सर्ने भएकाले बालबालिका पढाइबाट बञ्चित भएका हुन् । मागेरमात्रै गुजारा नचल्ने भएपछि अहिले उनीहरूलाई आफ्नै परम्पराले पोलेको छ । एकातिर पुर्खाको पेसा भनेर मागेर हिँड्ने देख्ता समाजले अपहेलना गर्न थालेको छ । सामान्य जीवन जिउनुको विकल्प पनि छैन । पुर्ख्यौली परम्परा धान्न भन्दै उनीहरूले अझै पनि वृद्ध र बालबालिकालाई माग्न नेपालगन्ज र भारतका विभिन्न सहरमा पठाउने गरेका छन् । नौ वर्षीया सहिना महावतका बुबाआमा बिहानैदेखि घरमा हुँदैनन् । उनीहरू माग्न नेपालगन्ज पुग्ने गरेका छन् । बस्तीमा पुग्दा सहिना घर कुरेर बसिरहेको अवस्थामा भेटिइन् । कुराकानीका क्रममा उनले स्कुलको मुख हेर्न नपाएको बताइन् । ‘बा–आमा माग्न गएका छन् । म घर कुरेर बसेकी,’ उनले भनिन्, ‘पढ्न जान मन त छ । पठाउँदैनन् ।’ स्थानीय १७ वर्षीया किरण महावतले पनि विद्यालय टेकेकी छैनन् । जान्ने भएपछि अभिभावकले पढ्न पठाएनन् । सानै उमेरमा अरूको घरदैलोमा माग्न पठाए । उनीहरू प्लास्टिक र फुसको सानो टहरामा आमाबुबासहित बस्छन् । भुइँमा पराल ओछ्याएर लगाइएको बिछ्यौनामा रात बिताउँछन् । पेसा जोगाउन छोराछोरीलाई विद्यालय पठाउनुभन्दा पनि माग्न पठाउने गरेको पुद्धन महावतले बताए । ‘सम्पत्तिका नाममा बुबाआमासँग केही नभएपछि के गर्नु,’ उनले भने, ‘धेरैजसो आफैं जान्छौं, कहिले छोराछोरीलाई पनि माग्न पठाउँछौं ।


अरूको घरबाट मागेर खानु कहाँ सजिलो छ र ? कति गाली र दुर्व्यवहार सहनुपर्छ ।’ ‘त्यसैले भारत गएर रेलमा माग्न हिँड्ने गरेको उनले बताए । ‘आजका मान्छेमा दया रहेन । खुट्टा समाउँदा पनि गाली बर्साउँछन्,’ उनी भन्छन्, ‘पुर्खाको पेसाले काम चल्ने स्थिति अब रहेन ।’ छोराछोरी लिएर भारतका विभिन्न सहरदेखि नेपालका दूरदराजमा पुग्ने गरेको उनले बताए । उनी एक्लै पनि भारतको पन्जाब, कहिले आफ्नै देशको रुकुमसम्म माग्नकै लागि पुगेका छन् । उमेरले ६० वर्ष काटेकी शान्ति महावत अहिले पनि बिहानै ५ बजे घरबाट निस्कन्छिन् । घरमा कमाउने कोही छैनन् । भएका छोराछोरीको पनि बिहे भयो । छोराहरू बिहे गरेर अलग भए । वृद्ध श्रीमान् हिँडडुल गर्न सक्दैनन् । उनी आफ्नो परिवार पाल्न बजार डुल्दै माग्दै हिँड्छिन् । मगन्ताहरू मागेर मात्र नपुगेपछि कहिले प्लास्टिक र कबाड संकलन पनि गर्छन् । ‘त्यही बेचेर गुजारा चलाउँछु,’ उनले भनिन्, ‘जग्गा जमिन छैन ।


पुर्खाले माग्न सिकाए । कमाउने कुनै अवस्था नभएपछि माग्न थालेँ ।’ त्यसो त उनीहरूले पहिचानका लागि एक–दुई पटक स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र नबुझाएका होइनन् । तर, पेसा र पहिचानका लागि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । ‘रोजगारी र आफ्नो पहिचानका लागि एक–दुई पटक नेपालगन्ज पुगेर कुरा राख्यौं । हालसम्म केही सुविधा पाउन सकेनौं,’ मगन्ता समुदायका अगुवा आज्ञाराम महावतले भने, ‘निर्वाचनका बेला नेताहरूले भोटका लागि धेरै आश्वासन दिए । तर, कसैले फर्केर हेरेनन् । हामी पनि सम्मानको काम गरेर बाँच्न चाहन्छौं ।’


मुलुक संघीय संरचनामा छ । सबै समुदायको पहिचान र मानवअधिकारको संविधानले ग्यारेन्टी गरेको छ । मगन्ता बस्तीमा भने परिवर्तन आएको छैन । ‘हाम्रो माथि पहुँच छैन । नेताहरू पनि बोल्दैनन्,’ अगुवा आज्ञारामले भने, ‘हामीसँग न परम्परागत पेसा रह्यो, न सम्मान नै पाएका छौं ।’ माग्ने पेसा गर्दा समुदायको अपहेलना र तिरस्कार सहनु परेको उनले बताए । ‘वैकल्पिक पेसा नहुँदा गुजारा गर्न समस्या भएको छ,’ उनले भने । मगन्ता समुदायलाई दलितको सूचीमा राखिएको छ । तर, थर महावत लेख्ने गरेका कारण उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित छन् । महावतहरूले सरकारले दिने सुविधा सहजै रूपमा प्रदान गर्न जोड दिएका छन् । मगन्ता भनेपछि सबैले हेप्छन् । काम गर्न छोडेर किन माग्दै हिँडेको भनेर हप्काउँछन् । ‘उनीहरूलाई के थाहा, हाम्रो पेसा नै माग्ने थियो,’ स्थानीय शोभाराम महावतले भने, ‘सरकारले हामीलाई रोजगारी देओस् । हाम्रो अधिकार ग्यारेन्टी गरोस् ।


अल्पसंख्यक मानेर मासिक भत्ताको सुविधा दिनुपर्‍यो ।’ उनीहरूको बस्ती रहेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले राज्यले उनीहरूमाथि विभेद गरेको स्विकारे । समुदायको जीवन सहज तुल्याउन वैकल्पिक सीपको आवश्यकता रहेको उनले बताए । ‘आत्मनिर्भर बनाउने सीपमूलक तालिमको विशेष प्याकेज बनाएका छौं,’ उनले भने, ‘त्यसका लागि कार्यविधि पनि बनाउँदैछौं । करिब १५ लाख रुपैयाँ बजेट छुट्याएका छौं ।’

आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष डम्बर थापामगर मगन्ता लोपोन्मुख समुदायको जीवनस्तर बढाउन कुनै पहल नभएको गुनासो गर्छन् । ‘मगन्ताको आफ्नै संस्कार र पहिचान छ । हातमा सीप नभएकाले उनीहरू माग्नका लागि डुलिरहन्छन्,’ उनले भने, ‘उनीहरूका लागि दीर्घकालीन व्यवस्थापन आवश्यक छ ।’

प्रकाशित : कार्तिक ३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?