३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रैथाने कुखुरामा आकर्षण

विकासेका तुलनामा राम्रो आम्दानी दिने भएकाले लोकल प्रजातिलाई व्यवस्थित तवरले पालेर फाइदा लिनेहरु सक्रिय भएका छन्

(पाल्पा) र (अर्घाखाँची) — स्थानीय जातका कुखुरा पाल्नेको संख्या अहिले गाउँमा बढेको छ । उन्नत जातका कुखुरा पाल्ने पनि स्थानीय जातका कुखुराप्रति आकर्षित हुँदैछन् । पाल्ने र खाने दुवैको स्थानीय जातको कुखुरामा आकर्षण बढ्दो छ । रैथाने ‘साकिने’ जातको भाले र बंगलादेशी साथै पाकिस्तानी पोथी माउबाट उत्पादन भएको चल्लाको बजार बढेको रुप्सेका अगुवा किसान तारा पाण्डेयले बताए ।

रैथाने कुखुरामा आकर्षण

बंगलादेशी र पाकिस्तानी पोथीलाई स्थानीय जातको कुखुरा क्रस गराएर चल्ला उत्पादन गर्न थालेका छन् । त्यसका लागि ठूलो ठाउँमा तारजालीले घेरेर व्यावसायिक उत्पादन सुरु गरेपछि यसको बिक्री पनि बढेको हो । जिल्लाका रिब्दीकोट–७, डबकाको भैरवस्थान, माथागढी–२ रुप्से, वडा–५ को गोठादीलगायत स्थानमा स्थानीय जातका कुखुराको व्यावसायिक पालन सुरु भएको छ । बिक्रीमा समस्या नहुने र रोगबाट पनि कम संक्रमण हुने भएकाले स्थानीय जातका कुखुराप्रति आकर्षण बढेको किसानहरूको दाबी छ ।


रुप्सेका माडीटर्की फार्मका प्रोपाइटर पाण्डेयले ३ सय ५० भन्दा बढी स्थानीय जातका कुखुरा हुर्काएका छन् । उनी मात्र होइन, बतासे डबकामा रामबहादुर रायमाझीले एक हजारभन्दा बढी स्थानीय जातका कुखुरा पालेका छन् । गोठादी, भैरवस्थानमा पनि पाँच सयभन्दा बढी स्थानीय जातका कुखुराका चल्ला हुर्कंदै छन् । ‘स्थानीय जातका कुखुरा हराउन लागेका थिए,’ रायमाझीले भने, ‘यसै बखतमा हामीले स्थानीय जातका चल्ला र माउ खोजी गरी व्यावसायिक रूपमा कुखरा पाल्न थालेका हौं ।’ उत्पादन गर्न सके स्थानीय जातका कुखुराको बिक्री फार्मबाटै हुने उनले बताए । ‘गर्मी याममा कम बिक्री भए पनि चिसो लाग्नासाथ खोजी गर्ने धेरै छन्,’ उनले भने, ‘अहिलेको उत्पादनमा बिक्रीको कुनै समस्या छैन ।’ उन्नत जातको तुलनामा दोब्बर मूल्यमा स्थानीय जातका कुखुरा बिक्री हुने उनले बताए ।


लामो समय खाडी मुलुक बसेका रायमाझीले घरेलु दानाकै प्रयोग गरेका छन् । घरेलु प्रविधिबाटै चल्ला निकालेका छन् । ‘१० वर्ष खाडी मुलुकमा पसिना बगाएको थिएँ,’ उनले भने, ‘अहिले यहीं बसेर काम गर्दा खुसी नै छु ।’ गत माघबाट उनले कुखुला पाल्न थालेका हुन् । आठ महिनामा पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी स्थानीय जातका कुखुराको बिक्रीबाट भएको उनले बताए । अन्डासमेत प्रतिगोटा २० रुपैयाँमा बिक्री हुन्छ । स्थानीय जातका कुखुराको मूल्य पनि दोब्बर पर्छ । माथागढीमा भने गाउँपालिकाले स्थानीय जातका कुखुरा प्रवर्द्धन गर्न १ हजार ५ सय चल्ला वितरण गरेको छ । गाउँपालिकाका आठवटै वडाका २८ किसानलाई चल्ला नि:शुल्क वितरण गरेको अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘स्थानीय जातका कुखुराको माग अत्यधिक छ,’ उनले भने, ‘यसको प्रवर्द्धनमा गाउँपालिका पनि लागेको छ ।’ आवश्यकताको आधार र विपन्न परिवारलाई आम्दानी बढाउन कुखुराका चल्ला दिइएको उनले बताए ।


रैथाने जोगाउँदै परिवार

बिक्री र मूल्यमा समस्या नहुने भएपछि अर्घाखाँचीको सन्धिखर्कका सहयोगी बीसीको चार जनाको परिवार पनि स्थानीय जातका कुखुराको संरक्षण र व्यावसायिक पालनमा जुटेको छ । रैथाने प्रजाति लोप भएको चिन्ताले बीसी, उनकी श्रीमती मीना, छोरा हेनरी र ८२ वर्षीय बाबु डुकबहादुर लोकल कुखुरा जोगाउन लागिपरेका हुन् । ‘फरक तरिकाले पालेपछि रैथाने नै काफी छ,’ सहयोगीले भने, ‘लोकलको जस्तो स्वाद अरुमा हुँदैन ।’ सन्धिखर्क आँटिकापाटको ३० रोपनीमध्ये १५ रोपनीमा कुखुराको आहारका लागि खेतमा मकै, गहुँलगायत खेती गर्छन् । बाँकीमा कागती, भुइँकटर र तरकारी खेती गर्छन् । १० रोपनी जग्गा भाडामा लिएर लोकल जातका कुखुरा मात्र पालेका छन् ।


छोरा, बुहारी र नातिले लोकल कुखुरा संरक्षण गर्न लागेकामा बाबु डुकबहादुर खुसी छन् । परिवार मिलेर भूमि बहुउद्देश्यीय कृषि तथा पशु फार्म खोलेका छन् । सहयोगी र मीना पेसाले शिक्षक हुन् । एकै दिन शिक्षण पेसामा लागेका थिए । २० वर्ष अवधि पुगेपछि दम्पतीले एकै दिन अवकाश लिए । ‘बुबाले कुखुराको रेखदेख, छोरा र श्रीमतीले व्यवस्थापनमा सघाउँछन्,’ सहयोगीले भने, ‘व्यवसायका लागि मात्रै नभएर लोप हुँदै गएको रैथाने पन्छी संरक्षण सुरु गरेको हुँ ।’ फार्ममा थप तीन जनाले रोजगारी पाएका छन् । ‘बोइलर टोलैपिच्छे पाइन्छन्,’ उनले भने, ‘लोकल कुखुरा विस्थापित भइसके । गाउँभरिका माउ र चल्ला बटुलेर ल्याई पालेको हुँ ।’


लोकल स्वाद जिब्रोमा बसेकाले यही खोज्छन् । आधा किलोको मासु भए चार/पाँच जनालाई पुग्ने र स्वादिलो अनि मिठो पनि हुन्छ । अहिलेसम्म लोकल कुखुराको व्यावसायिक पालन गाउँमा अरुले गरेका छैनन् । लोकलमा कुनै औषधि नखुवाएको, स्वास्थ्यलाई फाइदा, जाडोमा चिसोबाट बच्ने भएकाले माग धेरै छ । तिजमा एक लाख रुपैयाँको कुखुरा बेचेको बीसीले बताए । ‘गाडीमा दाङ पठाइदिएँ,’ उनले भने, ‘माग थेगिसक्नु छैन । अब बाहिर जिल्लामा समेत पठाउँछु ।’ दाना स्थानीय हुन्छ । रोग लाग्दैन । बोइलर ४५ दिनमै तयार हुन्छ । लोकल भने १ सय ८० दिन पाल्नु पर्छ ।


विकासे जातबाट मात्रै फाइदा हुन्छ भन्ने भ्रम हटाउन विस्थापित हुँदै गएको रैथाने जात संरक्षण र पालन सुरु गरेको बीसीको दाबी छ । अचेल रैथाने बाली, पशुपन्छी संरक्षण गर्नुपर्छ भन्ने कोही छैनन् । धान, मकै, गहुँलगायत अन्नबाली र सिमी, बोडीलगायत तरकारी सबै उन्नत जातकै खेती हुन्छ । रैथाने खानाको जस्तो स्वादिलो र मिठो उन्नतको छैन । कुखुरा पनि बोइलर, गिरीराजलगायत विकासे जाततिर सबै लागेकाले रैथाने लोकल कुखुराको संरक्षण गर्न लागेको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?