रैथाने कुखुरामा आकर्षण

विकासेका तुलनामा राम्रो आम्दानी दिने भएकाले लोकल प्रजातिलाई व्यवस्थित तवरले पालेर फाइदा लिनेहरु सक्रिय भएका छन्
माधव अर्याल, वीरेन्द्र केसी

(पाल्पा) र (अर्घाखाँची) — स्थानीय जातका कुखुरा पाल्नेको संख्या अहिले गाउँमा बढेको छ । उन्नत जातका कुखुरा पाल्ने पनि स्थानीय जातका कुखुराप्रति आकर्षित हुँदैछन् । पाल्ने र खाने दुवैको स्थानीय जातको कुखुरामा आकर्षण बढ्दो छ । रैथाने ‘साकिने’ जातको भाले र बंगलादेशी साथै पाकिस्तानी पोथी माउबाट उत्पादन भएको चल्लाको बजार बढेको रुप्सेका अगुवा किसान तारा पाण्डेयले बताए ।

बंगलादेशी र पाकिस्तानी पोथीलाई स्थानीय जातको कुखुरा क्रस गराएर चल्ला उत्पादन गर्न थालेका छन् । त्यसका लागि ठूलो ठाउँमा तारजालीले घेरेर व्यावसायिक उत्पादन सुरु गरेपछि यसको बिक्री पनि बढेको हो । जिल्लाका रिब्दीकोट–७, डबकाको भैरवस्थान, माथागढी–२ रुप्से, वडा–५ को गोठादीलगायत स्थानमा स्थानीय जातका कुखुराको व्यावसायिक पालन सुरु भएको छ । बिक्रीमा समस्या नहुने र रोगबाट पनि कम संक्रमण हुने भएकाले स्थानीय जातका कुखुराप्रति आकर्षण बढेको किसानहरूको दाबी छ ।

रुप्सेका माडीटर्की फार्मका प्रोपाइटर पाण्डेयले ३ सय ५० भन्दा बढी स्थानीय जातका कुखुरा हुर्काएका छन् । उनी मात्र होइन, बतासे डबकामा रामबहादुर रायमाझीले एक हजारभन्दा बढी स्थानीय जातका कुखुरा पालेका छन् । गोठादी, भैरवस्थानमा पनि पाँच सयभन्दा बढी स्थानीय जातका कुखुराका चल्ला हुर्कंदै छन् । ‘स्थानीय जातका कुखुरा हराउन लागेका थिए,’ रायमाझीले भने, ‘यसै बखतमा हामीले स्थानीय जातका चल्ला र माउ खोजी गरी व्यावसायिक रूपमा कुखरा पाल्न थालेका हौं ।’ उत्पादन गर्न सके स्थानीय जातका कुखुराको बिक्री फार्मबाटै हुने उनले बताए । ‘गर्मी याममा कम बिक्री भए पनि चिसो लाग्नासाथ खोजी गर्ने धेरै छन्,’ उनले भने, ‘अहिलेको उत्पादनमा बिक्रीको कुनै समस्या छैन ।’ उन्नत जातको तुलनामा दोब्बर मूल्यमा स्थानीय जातका कुखुरा बिक्री हुने उनले बताए ।

लामो समय खाडी मुलुक बसेका रायमाझीले घरेलु दानाकै प्रयोग गरेका छन् । घरेलु प्रविधिबाटै चल्ला निकालेका छन् । ‘१० वर्ष खाडी मुलुकमा पसिना बगाएको थिएँ,’ उनले भने, ‘अहिले यहीं बसेर काम गर्दा खुसी नै छु ।’ गत माघबाट उनले कुखुला पाल्न थालेका हुन् । आठ महिनामा पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी स्थानीय जातका कुखुराको बिक्रीबाट भएको उनले बताए । अन्डासमेत प्रतिगोटा २० रुपैयाँमा बिक्री हुन्छ । स्थानीय जातका कुखुराको मूल्य पनि दोब्बर पर्छ । माथागढीमा भने गाउँपालिकाले स्थानीय जातका कुखुरा प्रवर्द्धन गर्न १ हजार ५ सय चल्ला वितरण गरेको छ । गाउँपालिकाका आठवटै वडाका २८ किसानलाई चल्ला नि:शुल्क वितरण गरेको अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘स्थानीय जातका कुखुराको माग अत्यधिक छ,’ उनले भने, ‘यसको प्रवर्द्धनमा गाउँपालिका पनि लागेको छ ।’ आवश्यकताको आधार र विपन्न परिवारलाई आम्दानी बढाउन कुखुराका चल्ला दिइएकोउनले बताए ।

रैथाने जोगाउँदै परिवार
बिक्री र मूल्यमा समस्या नहुने भएपछि अर्घाखाँचीको सन्धिखर्कका सहयोगी बीसीको चार जनाको परिवार पनि स्थानीय जातका कुखुराको संरक्षण र व्यावसायिक पालनमा जुटेको छ । रैथाने प्रजाति लोप भएको चिन्ताले बीसी, उनकी श्रीमती मीना, छोरा हेनरी र ८२ वर्षीय बाबु डुकबहादुर लोकल कुखुरा जोगाउन लागिपरेका हुन् । ‘फरक तरिकाले पालेपछि रैथाने नै काफी छ,’ सहयोगीले भने, ‘लोकलको जस्तो स्वाद अरुमा हुँदैन ।’ सन्धिखर्क आँटिकापाटको ३० रोपनीमध्ये १५ रोपनीमा कुखुराको आहारका लागि खेतमा मकै, गहुँलगायत खेती गर्छन् । बाँकीमा कागती, भुइँकटर र तरकारी खेती गर्छन् । १० रोपनी जग्गा भाडामा लिएर लोकल जातका कुखुरा मात्र पालेका छन् ।

छोरा, बुहारी र नातिले लोकल कुखुरा संरक्षण गर्न लागेकामा बाबु डुकबहादुर खुसी छन् । परिवार मिलेर भूमि बहुउद्देश्यीय कृषि तथा पशु फार्म खोलेका छन् । सहयोगी र मीना पेसाले शिक्षक हुन् । एकै दिन शिक्षण पेसामा लागेका थिए । २० वर्ष अवधि पुगेपछि दम्पतीले एकै दिन अवकाश लिए । ‘बुबाले कुखुराको रेखदेख, छोरा र श्रीमतीले व्यवस्थापनमा सघाउँछन्,’ सहयोगीले भने, ‘व्यवसायका लागि मात्रै नभएर लोप हुँदै गएको रैथाने पन्छी संरक्षण सुरु गरेको हुँ ।’ फार्ममा थप तीन जनाले रोजगारी पाएका छन् । ‘बोइलर टोलैपिच्छे पाइन्छन्,’ उनले भने, ‘लोकल कुखुरा विस्थापित भइसके । गाउँभरिका माउ र चल्ला बटुलेर ल्याई पालेको हुँ ।’

लोकल स्वाद जिब्रोमा बसेकाले यही खोज्छन् । आधा किलोको मासु भए चार/पाँच जनालाई पुग्ने र स्वादिलो अनि मिठो पनि हुन्छ । अहिलेसम्म लोकल कुखुराको व्यावसायिक पालन गाउँमा अरुले गरेका छैनन् । लोकलमा कुनै औषधि नखुवाएको, स्वास्थ्यलाई फाइदा, जाडोमा चिसोबाट बच्ने भएकाले माग धेरै छ । तिजमा एक लाख रुपैयाँको कुखुरा बेचेको बीसीले बताए । ‘गाडीमा दाङ पठाइदिएँ,’ उनले भने, ‘माग थेगिसक्नु छैन । अब बाहिर जिल्लामा समेत पठाउँछु ।’ दाना स्थानीय हुन्छ । रोग लाग्दैन । बोइलर ४५ दिनमै तयार हुन्छ । लोकल भने १ सय ८० दिन पाल्नु पर्छ ।

विकासे जातबाट मात्रै फाइदा हुन्छ भन्ने भ्रम हटाउन विस्थापित हुँदै गएको रैथाने जात संरक्षण र पालन सुरु गरेको बीसीको दाबी छ । अचेल रैथाने बाली, पशुपन्छी संरक्षण गर्नुपर्छ भन्ने कोही छैनन् । धान, मकै, गहुँलगायत अन्नबाली र सिमी, बोडीलगायत तरकारी सबै उन्नत जातकै खेती हुन्छ । रैथाने खानाको जस्तो स्वादिलो र मिठो उन्नतको छैन । कुखुरा पनि बोइलर, गिरीराजलगायत विकासे जाततिर सबै लागेकाले रैथाने लोकल कुखुराको संरक्षण गर्न लागेको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डेढ महिना टिकेन टायल

कान्तिपुर संवाददाता

कास्की — पोखराको चिप्लेढुंगास्थित फुटपाथमा बिछ्याइएको टेक टायल (अपांगमैत्री टायल) डेढ महिनामै उप्किएको छ । टायल उप्किदा बाटो हिँड्न असहज भएको दृष्टिविहीन अस्मिता चापागाईं बताउँछिन् । ‘बनाइसकेपछि लामो समयसम्म टिक्ने गरी बनाएको भए राम्रो हुन्थ्यो नि,’ उनले भनिन, ‘देख्नलाई राम्रो बनाएर मात्र भएन । बलियो हुनुपर्‍यो ।’ उनले फुटपाथमा खाल्डाखुल्डी हुँदा आफूजस्ता दृष्टिविहीन लड्न सक्ने बताइन् । टायल नओछ्याउँदा धेरै सहज भएको र महानगरले सजिलो बनाउँछु भन्दा झन् अप्ठ्यारो अवस्थामा पुर्‍याएको उनको गुनासो छ ।

नजिकका पसलमा काम गर्ने विष्णु भुर्तेलले सडकमा जाम भएका बेला मोटरसाइकल फुटपाथबाटै चलाउने गरेको बताए । यसले पनि पैदलयात्रु जोखिममा रहेको उनको भनाइ थियो । टेक टायल विशेष गरी दृष्टिविहीन भएका व्यक्तिलाई हिंड्न बनाएको इन्जिनियर मोहन गौतमले बताए । ‘टाइल सेट हुँन ४ घण्टा सुक्न दिनुपर्छ तर, बिछ्याउँदासाथ यात्रु हिँड्ने भएकाले छिट्टै उप्केको हो,’ उनले भने,’ ‘मोटरसाइकल र हेवी सवारी साधन हिँडिदिए भने झनै छिटो उप्किन्छ ।’ उप्किएको टायल मर्मत भइरहेको उनले बताए ।

महानगरको ६० र एसियन कंक्रिट र उपभोक्ताले ४० प्रतिशत व्यहोर्ने गरी चिप्लेढुंगा र महेन्द्रपुल क्षेत्रमा फुटपाथ बनाइएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जीसीले फुटपाथमा दिगोरूपमा टायल राख्ने योजना सुनाए । महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने यस विषयका कुनै मेसो नपाएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT