डेंगु परीक्षण किट अभाव

स्वास्थ्य कार्यालयले उपलब्ध गराएका १५० किट गत भदौ १५ मै सकियो, त्यसयता बिरामीलाई परीक्षणका लागि निजी ल्याबमा पठाइने गरेको छ
अमृता अनमोल

बुटवल — पाँच दिनसम्म ज्वरो निको नभएपछि बुटवल ९, इँटाभट्टीकी सुनिता शर्मा मंगलबार यहाँस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भइन् । चिकित्सकले डेंगु संक्रमणको आशंका गरे । त्यहाँ परीक्षण सम्भव भएन । किट अभाव जनाउँदै चिकित्सकले नीति जिनोमिक डायग्नाष्टिक ल्याबोरेटोरीमा पठाए ।

डेंगु परीक्षण किट अभाव

अस्पतालमा निःशुल्क हुने परीक्षणका लागि उनले १ हजार २ सय रुपैयाँ तिर्नुपर्‍यो । परीक्षणबाट डेंगु पुष्टि भयो । त्यसपछिको उपचार अस्पतालमै गरिन् । उक्त अस्पतालको आकस्मिक कक्षमा आएका अधिकांशले उक्त निजी प्रयोगशालामा परीक्षण गराएका छन् ।

रूपन्देहीमा साउन ३१ देखि सुरु भएको डेंगुको संक्रमण बढेको बढ्यै छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म २ हजार ९२ जनामा संक्रमण भेटिएको छ । अहिलेसम्म संक्रमणबाट २ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा मात्रै दैनिक २० भन्दा बढी बिरामी आउँछन् ।


अस्पतालमा डेंगु परीक्षण गर्न किट अभाव छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएका १ सय ५० किट गत भदौ १५ मा सकिएको थियो । त्यसयता अस्पताल आउने बिरामीलाई निजी ल्यावमा परीक्षणका लागि पठाउने गरेको छ ।


आर्थिक रुपले सम्पन्न भएपनि प्रादेशिक अस्पतालले किट खरिदका लागि कुनै प्रयास गरेको छैन् । सटर भाडा मार्फत मात्रै वार्षिक करिब साढे ८ करोड रुपैयाँ आम्दानी गर्छ । तर, धेरै बिरामीको माग र आवश्यकता रहेको डेंगु परिक्षणको किटबारे अहिलेसम्म छलफलसमेत नभएको अस्पतालका मेडिकल रेकडर चन्द्रकान्त महतोले बताए ।


सुरुमा लुम्बिनी प्रादेशिक अस्पतालसहित रूपन्देहीका ७ वटा अस्पतालले डेंगु परीक्षण गर्थे । अहिले मेडिकलपिच्छे परीक्षण हुन्छ । ज्वरो आएर बिरामी गयो कि स्वास्थ्यकर्मीले डेंगु परीक्षण गर्न पठाउँछन् । डेंगुको किट होलसेलमा ३ सय रुपैयाँमा पाइन्छ । त्यही किट चेकजाँचको एक हजार २ सय रुपैयाँ तोकिएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ६ सय रुपैयाँमा चेकजाँच गर्छ ।


जिल्लामा भदौ यता दैनिक ३ सय बढी डेंगु परीक्षण भएको जनस्वास्थ्य कार्यालयको दावी छ । कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले ३ तहका सरकारले परीक्षणमा तदारुकता नदेखाउँदा बिरामी ठगिएको बताए । ‘डेंगुको उपचार र नियन्त्रणमा संघले प्रदेश र प्रदेशले स्थानीय तहको जिम्मामा छोडेका छन्,’ उनले भने ।


प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने डेंगुको किटको प्रभावकारिता नभएकाले किन्नेबारे चासो नदिएको बताए । ‘डेंगुको किटको प्रभावकारीता नरहेको डब्लुएचओले बताइसकेको छ । त्यसअनुसार संघीय स्वास्थय मन्त्रालयले पनि सुचना निकालेको थियो,’ उनले भने, ‘त्यसैले किट किन्ने कुरालाई प्राथमिकता नदिएका हौं ।’ लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले अस्पतालमा किट अभावले डेंगु रोग पहिचानका लागि अस्पतालमा भर्ना भएका बिरामीलाई बाहिर परीक्षण गराउनु परेको बताए ।


जिल्लाको सबैभन्दा धेरै संक्रमण बुटवलमा छ । अहिलेसम्म उपमहानगरका एक हजार ३ सय ९० जनामा डेंगु संक्रमण भएको छ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले आफ्नो क्षेत्रमा डेंगु रोक्न चेतनामूलक र रोकथामका कार्यक्रम चलाएको बताए । उनका अनुसार उपमहानगरका ७, ११, १२, १७ र १८ लाई संकटग्रस्त घोषणा गरिएको छ ।


असोज पहिलो सातादेखि त्यस क्षेत्रका सहरी स्वास्थय केन्द्रमासमेत डेंगु परीक्षण थालिएको छ । त्यसका लागि उपमहानगरले प्रति केन्द्र ७५ किट उपलब्ध गराएको छ । सहरी क्षेत्रमा खाली तथा थोत्रा टायर र पानी जम्ने ठाउँ बढी भएका स्थानमा लामखुट्टे धेरै हुने भएकाले डेंगुको संक्रमण बढी भेटिएको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?