कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाग्दुला–भीमगिठे सडक : निर्माणमा अन्योल

गिरुप्रसाद भण्डारी

प्यूठान — बाग्दुला–भीमगिठे सडक निर्माणमा अन्योल बढेको छ । सडक सुधार तथा विकास आयोजनामार्फत निर्माण थालिएको सडक केएमसी/टुन्डी जेभि निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । केएमसी इन्डियन निर्माण कम्पनी हो भने, टुन्डी नेपाली कम्पनी हो । केएमसी निर्माण कम्पनी भारतीय बैंकको कालोसूचीमा परेकाले एक्जिम बैंकले केएमसीसँग भएको ठेक्का तोड्न भनेपछि सडक निर्माणको काम अन्योलमा परेको हो ।

एक्जिम बैंकमार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ दशमलव ६ किमि दूरी कालोपत्रे गर्न लागिएको थियो । एक्जिम बैंकको ठेक्का रद्ध गर्ने पत्र पछि अन्योलमा परेको आयोजना प्रमुख सुबोध देबकोटाले बताए । २ अर्ब ३५ करोड रुपैयाँको लागतमा योजना निर्माणको लागि ठेक्का भएको थियो । निर्माण कम्पनीलाई साइडसमेत दिएको अवस्थामा ठेक्का तोड्ने पत्र आएको देवकोटाले बताए ।


‘निर्माण कम्पनीसँग सम्झौता भएर काम अगाडी बढाएका थियौं,’ उनले भने, ‘फिल्डमा नाप नक्साको काम भइरहेकै अवस्थामा रोक्न परेको छ ।’ ठेक्का भएको आयोजना तोड्ने सजिलो नभएकाले एक्जिम बैंकलाई पुर्नबिचार गर्न पत्र पठाएपनि हालसम्म कुनै जवाफ नआएको देवकोटाले बताए ।


हाल ट्रयाक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गर्न लागिएको थियो । यो सडकसँगै ठेक्का भएको लमही–घोराही–तुल्सीपुर र चन्दौटा–कृष्णनगर सडकमा काम अगाडी बढिसक्दा प्यूठानको सडक अन्योलमा छ । दलका नेताले काम सुरु हुने भयो भनेर प्रचार गर्न थालेको ३ वर्ष बढी भए पनि काम अझै सुरु नभएको गौमुखी गाउँपालिका २ अर्खाका मित्र थापाले बताए ।


‘सडकले उत्तरी प्यूठानको मुहार नै फेर्ने हामीले अपेक्षा गरेका थियौं,’ उनले भने, ‘वर्षौं सडक पूर्वाधारमा पछाडि परेको बाग्दुला–मच्छी–ठूलाबेंसी क्षेत्रका स्थानीयको राम्रो चौडा सडक निर्माण हुने आशा निराशामा बदलिएको छ ।’ सडक ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको उनले बताए ।


सडक सुधार विकास आयोजनामार्फत बजेट परेपछि स्थानीय तह र प्रदेश सरकारलेसमेत यो सडकमा बजेट विनियोजन नगर्दा सडक जीर्ण हुँदै गएको छ । यो सडक निर्माण पूरा भएपछि बागलुङको बडीघाट गाउँपालिकास्थित भीमगिठे क्षेत्रमा मध्यपहाडी राजमार्गसँग जोडिनेछ ।


बाग्दुलादेखि अर्खासम्म ४४ किमि कच्ची सडक निर्माण भइसकेको छ । सडकले प्यूठानतर्फ प्यूठान नगरपालिका, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ भने, गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ र बागलुङको बडीगाड गाउँपालिका समेटेको छ । सडकको सन् २०१६ मा डिटेल सर्भे गरिएको थियो ।


निर्माणपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीका ५१ हजार ९ सय जनाले प्रत्यक्ष फाइदा पाउने भनिएको थियो । सडक निर्माण पूरा भएर कालोपत्रे भए प्यूठान, दाङ, रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयलाई केन्द्रीय राजधानी काठमाडौं जाने वैकल्पिक मार्गसमेत हुनेछ ।


भारतको कोइलावास, दाङको भालुबाङ, प्यूठानको बाग्दुला, बागलुङको भीमगिठे भएर म्याग्दीको बेनी र मुस्ताङ हुँदै चीन जोड्ने सडकको लक्ष्य छ । पूर्व–पश्चिम रागमार्गअन्तर्गत दाङको भालुबाङदेखि भीमगिठेसम्म १ सय ३२ किमि दूरीमा मध्यपहाडी राजमार्ग जोडिन्थ्यो ।


‘सडक निर्माणले यस क्षेत्रको समग्र आर्थिक विकासमा फड्को मार्ने आशा गरेका थियौ,’ गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले भने, ‘काम रोकीएको कुराले हामी धेरै चिन्तित छौ ।’

प्रकाशित : कार्तिक २, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?