१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बसाइँसराइले रित्तिँदै बस्ती

तिनाउ गाउँपालिकाको नुवाकोटका ७८ मध्ये ३६ परिवार बसाइँ सरे । अहिले रमणीय बस्ती उजाडिएको छ । विद्यालय खाली हुन थालेका छन् ।

पाल्पा र बुटवल — पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित नुवाकोटमा १२ वर्षअघिसम्म ७८ परिवार बस्थे  । अहिले ४२ परिवार मात्रै छन्  ।

बसाइँसराइले रित्तिँदै बस्ती

पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित नुवाकोटमा १२ वर्षअघिसम्म ७८ परिवार बस्थे । अहिले ४२ परिवार मात्रै छन् । यहाँका ३६ परिवार रूपन्देहीलगायत अन्य जिल्लामा बसाइँ सरेका हुन् । स्थानीयले गाउँ छाडेपछि रमणीय बस्ती उजाड देखिएको छ । बसाइँसराइले विद्यालय खाली हुन थालेका छन् ।

स्थानीय रूपा प्राविमा २५ छात्रछात्रा छन् । कक्षा ३ खाली छ । पहिले १ सय ७५ जनासम्म विद्यार्थी थिए । विद्यालयका कोठा रित्तै छन् । ‘विद्यार्थीलाई बस्ने ठाउँ हुन्थेन,’ रूपाका प्रधानाध्यापक पर्शुराम शर्माले भने, ‘नुवाकोटलाई पर्यटकीय क्षेत्र बनाउने योजना अघि बढे पनि बस्ती रित्तियो ।’ प्रत्येक वर्ष विद्यार्थी संख्या घट्छ । शिक्षक र अभिभावक सुधार्ने प्रयास गर्छन् । गाउँमा जनसंख्या घटेपछि सम्भव भएको छैन । कतिपय घर भत्किएका छन् । खेतबारी बाँझिएका छन् । पुराना बासिन्दाले यहाँको जमिन बिक्री गरेर तराई झरेका हुन् । स्थानीयको जग्गा खरिद गर्नेले घर निर्माण गर्ने विश्वास यहाँ रहेकालाई छ । अहिलेसम्म आठ सयभन्दा बढी घडेरी बिक्री भइसकेका छन् । यहाँको सात सय रोपनी जग्गा बिक्री भइसकेको छ । ‘यसरी नै बस्ती रित्तिने हो भने आगामी चार/पाँच वर्षमा विद्यार्थी संख्या शून्य हुन्छ कि भन्ने डर लागेको छ,’ शर्माले भने, ‘भएका बसाइँ सरे । केही बालबालिका बजारका स्कुलमा भर्ना गरेका छन् ।’

व्यापारिक केन्द्र बुटवलबाट नजिक भए पनि पहिले यहाँ बिजुली/पानीको अभाव थियो । त्यही दुःखले पुर्ख्यौली जमिन बिक्री गर्ने धेरै छन् । ‘अहिले पानी, बिजुलीको सुविधा छ,’ शिक्षक शर्माले भने, ‘त्यसैले अब बसाइँसराइ नहोला जस्तो लाग्छ ।’ यहाँबाट ११ किलोमिटर यात्रा गरेपछि बुटवल पुगिन्छ । अहिले कच्ची मोटरबाटो बनेको छ । हावापानी अनुकूल र सहरबाट नजिकै भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइयो । व्यवसायीले यहाँको जग्गा महँगोमा खरिद गर्न थाले । त्यसपछि स्थानीय जमिन बिक्री गर्दर् ैबसाइँ सर्न थालेका हुन् ।

‘यहाँका बासिन्दालाई पैसा चाहिएको थियो,’ स्थानीय विष्णु कुमालले भने, ‘दुःख पाउन्जेल बसेका थिए । अहिले सबै सुविधा पाउने बेलामा अन्तै गए ।’ १० वर्षअघिसम्म सडक थिएन । गाउँमा बिजुली बत्ती बलेको थिएन । गोल पोल्ने, कोइला बिक्री गर्ने, दूध बिक्री गर्ने, तरकारी बुटवल लगेर बिक्री गर्ने गर्थे । दैनिक चार घण्टा पैदल हिंडेर उनीहरूले जीवनयापन गर्दै आएका थिए । त्यही दुःख सम्झेर सस्तैमा जग्गा बिक्री गरेर यहाँका बासिन्दा तराई झरे । राष्ट्रिय वन उजाड बन्दै गयो । ०५४ सालमा सामुदायिक वन बन्यो । त्यसपछि जंगल काट्न पाएनन् । गोल पोल्न बन्द भयो । काम गर्न हिंडन समस्या भयो । दैनिक बुटवल आउजाउ गर्दा दुःख, चोरी, लुटपाटसमेत हुन्थ्यो । त्यसपछि यहाँबाट पलायन सुरु भएको स्थानीय मीना पेमी मगरले बताइन् ।

पर्यटकीय योजना
०५९ सालमा तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठको नेतृत्वमा नुवाकोटलाई पर्यटकीय गन्तव्य बनाउन योजना बनेको थियो । त्यसलगत्तै जग्गा खरिदबिक्री सुरु भयो । पूर्वाधार निर्माण गर्ने जनाएपछि धेरै व्यापारीले नुवाकोटमा जग्गा किने । उनीहरूकै पहलमा खानेपानी, विद्युत् सरकारी बजेट र सहयोग जुटाएर जुट्न थाल्यो । ‘रैथाने हिंडेपछि व्यापारी र व्यवसायीले धेरै जग्गा खरिद गरे,’ स्थानीय अन्जना विकले भनिन्, ‘सरकारी स्रोत पनि आउन थाल्यो । यहींका बासिन्दा बसेको भए अहिले पनि यो विकास आउने थिएन ।’

पहिले दुर्गमका बासिन्दालाई कसैले मतलब गरेनन् । अहिले लिफ्टबाट खानेपानी ल्याइएको छ । सडक नुवाकोटसम्मै पुगेको छ । पार्क निर्माण गरिएको छ । भैरव मन्दिर, त्रिशूल बनेको छ । रूपन्देहीका सांसद विष्णु पौडेलले बेलबास क्षेत्रबाट नुवाकोट जोड्नका लागि ३६ करोड रुपैयाँ विनियोजन गराए । दोभानतर्फबाट पक्की पुल र मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ । ‘विकास हुँदै जाँदा रैथाने भने घट्दै गए,’ स्थानीय चन्द्रबहादुर क्षत्रीले भने, ‘अहिले बाटो, पानी, बिजुली, पार्क, मन्दिर सबै बनेको छ । यो सबै रूपन्देहीका पहुँचवालाले गर्दा नै भएको हो ।’

नुवाकोटमा दुई वर्षअघिसम्म कित्ताकाट अत्यधिक थियो । सरकारले कित्ताकाट रोकेपछि भने घडेरी कारोबारमा कमी आएको छ । सुरुमा चार हजार रुपैयाँ रोपनीमा किनबेच भएको थियो । कतिपयले ७० हजार रुपैयाँसम्म हात पारे । अहिले बिक्री गर्नेले भने प्रतिरोपनी २० लाख रुपैयाँ पाएका छन् । स्थानीय चन्द्रबहादुरका अनुसार प्रतिरोपनी २०–२५ लाख रुपैयाँ पुगेको छ । स्थानीयले आफ्नै जग्गा बिक्री गर्न पाउँदैनन् । नुवाकोट विकास समितिको अनुमतिपछि मात्र बिक्री हुन्छ । रूपन्देहीका व्यापारीले जग्गा खरिद गरेपछि नुवाकोट गढीमा भैरव मन्दिर बनेको हो । यो ऐतिहासिक एवं पुरातात्विक क्षेत्र हो । यहाँ नेपाल–अंग्रेज युद्धको स्मारक गढी रहेको छ ।

रमणीय वातावरण
तराईमा कुहिरो र हुस्सुले जीवन कठ्यांग्रिएका बेला नुवाकोट घमाइलो हुन्छ । हिमचुलीदेखि समथर फाँटको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तले मन लोभ्याउँछ । गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थलका लागि पनि नुवाकोट प्रसिद्ध छ । यहाँ भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने घर छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?