चाडपर्वका बेला किसानलाई अनुदान

कान्तिपुर संवाददाता

पाल्पा — रिब्दीकोट गाउँपालिकाले स्थानीय किसानलाई चाडपर्वको अवसर पारेर उत्पादनमा आधारित अनुदान दिएको छ  । गोलभेँडा उत्पादन गर्ने किसानलाई प्रतिकिलो १ देखि २ रुपैयाँ ५० पैसासम्म उपलब्ध गराएको हो  । यसले किसान खुसी भएका छन् ।

पहिलो चरणमा पालुङमैनादीका ४९ जना किसानले यस्तो अनुदान पाए । चालु वर्षको साउन र भदौमा उत्पादित गोलभेँडाका लागि २ लाख २३ हजार ४ सय ४ रुपैयाँ अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताए । ‘कतिपय किसानलाई नगद अनुदानले चाडपर्व टर्ने अवस्था देखियो,’ उनले भने, ‘त्यसैले अहिले अनुदान दिँदा किसान खुसी छन् ।’ यस्तो अनुदान पाउन समूह र सहकारीमा आबद्ध हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

पहिलोपटक रिब्दीकोट–७ को मैनादीस्थित कृषि सहकारीमा आबद्ध किसानलाई साउन र भदौ महिनामा उत्पादन भएको गोलभेँडाको अनुदान दिइएको हो । यस अवधिमा उत्पादित १ लाख ३२ हजार किलोग्राम गोलभेँडाको अनुदान किसानलाई वितरण गरेको उनले बताए । विपन्न तथा बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षण बढाउन गाउँपालिकाले यस्तो नीति लिएको हो ।

गत वर्ष दूधमा मात्र अनुदान दिएको गाउँपालिकाले यस वर्ष गोलभेँडामा पनि अनुदान दिन कार्यविधि बनाएर अघि बढेको छ । ‘अब तरकारी र मासुमा पनि अनुदान दिने योजना छ,’ गाउँपालिका अध्यक्ष जीसीले भने, ‘जसबाट धेरैभन्दा धेरै किसान यसमा आकर्षित हुन सकून् भन्ने चाहना हो ।’ कृषि क्षेत्रमा काम गर्दै आएका किसानलाई व्यावसायिक बनाउन अनुदानको व्यवस्था गरेको उनले बताए । किसानलाई उत्पादनका आधारमा नगद प्रदान गर्दा थप मिहिनेत गर्ने बानीको विकास हुने उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?