२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मूर्तिमा परिवारै व्यस्त

माधव ढुंगाना

(भैरहवा) — झिसमिसेबाट उनीहरू मध्यरातसम्म व्यस्त हुन्छन्  । भूमिकाअनुसारको काम गर्छन्  ।

मूर्तिमा परिवारै व्यस्त

कोही बाँसका कप्टेरा ठड्याउँछन् । पराल गुजुल्ट्याउँदै मानिसको शरीरजस्तै आकृति बनाउँछन् । माटो मुछ्दै हात, खुट्टा, शरीर र अनुहार बनाउन बेग्लै खटिएका छन् । पानीमा हात चोप्दै माटोको लेपन लगाउने पनि छुट्टै छन् । यसरी मिहिनेत गरेपछि लक्ष्मीको मूर्ति तयार हुन्छ । यही काममा ५० वर्षीया गोबरी केवटको परिवार खुसी छ ।

सम्मरीमाई गाउँपालिका–६, बनरहवाका गोबरी केवट, श्रीमती, दुई छोरा, बुहारी र छोरीसमेत सात जनालाई यतिबेला धपडी छ । दीपावलीमा पूजाका लागि लक्ष्मीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । मूर्ति बनाउनका लागि धेरैले अर्डर गरिसकेका छन् । परिवारले १५ वर्षदेखि मूर्ति बनाइरहेको छ । मूर्ति बनाएर बेचेको पैसाले गुजारा चलाउँदै आएका छन् । यसकै आम्दानीबाट भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत बेथरीमा घडेरी खरिद गरेको गोबरीले बताए । ‘पैसा जोगाएर नातिनातिनीको पढाइ पूरा गर्नु छ,’ उनले भने, ‘पहिला मूर्ति बनाउने कम थिए । आम्दानी धेरै हुन्थ्यो । अहिले धेरै भए, बिक्री कम छ ।’

मूर्ति बनाउन प्रत्येक वर्ष झन्डै ६ महिना उनीहरू घरमा ताला लगाएर १४ किमि टाढा रहेको बनगाई चोकमा गोठ भाडामा लिएर बस्छन् । अब लक्ष्मी पूजापछि फर्किने उनीहरूले जनाए । यस वर्ष जेठबाट भाडामा बसेर मूर्ति बनाउन थालेको गोबरीले सुनाए । दसैंमा दुर्गा भवानीको मूर्ति बनाएर बिक्री गर्न परिवार व्यस्त थियो ।

खाना पकाउने काम श्रीमती, बुहारी र छोरीले गर्छन् । साँझ ८ बजे खाना खाएपछि उनीहरू तुरुन्तै सुत्दैनन् । राति १२/१ बजेसम्म सँगै काम गर्छन् । तिहार सकिएपछि परिवारका केही सदस्य खेतीपाती र केही फलफूलको व्यापारतर्फ लाग्ने उनीहरूले सुनाए । केबटको गोठ पारि ११ युवापनि मूर्ति बनाउनमा व्यस्त छन् ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?