नेपाल प्रहरीको सई बलात्कार प्रयासको आरोपमा पक्राउ

मधु शाही

(बाँके) — नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र भित्रै प्रशिक्षार्थी महिला प्रहरी जवानले आफूमाथि बलात्कारको प्रयास भएको आरोप लगाएकी छिन् । तालिम केन्द्रको ब्यारेकमै कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले बलात्कार गर्न खोजेको पीडितको आरोप छ ।

नेपाल प्रहरीको सई बलात्कार प्रयासको आरोपमा पक्राउ

यसै आधारमा उनले २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । २७ गते नै आरोपीलाई प्रहरीले पक्राउ गरी ‘जबर्जस्तीकरणी उद्योग’मा मुद्दा चलाएको छ ।


जिप्रका बाँकेका प्रवक्ता एवं डिएसपी शिव सिंहका अनुसार पीडितले असोज २७ गते उजुरी दिएको बताए । उनका अनुसार पीडित र पीडकको नाता साली–भेना परेको छ । पीडित महिलाले दिएको लिखित बयान अनुसार तालिम अवधिभर प्रशिक्षार्थीलाई मोबाइल चाउने अनुमति छैन । घरमा आमा बुबालाई फोन गर्न आउ भन्दै सईले पीडित महिलालाई ब्यारेकको कोठामा बोलाएर कोठाभित्र पस्ने बित्तिकै कोठाको चुक्कुल लगाएर हात समाउन खोजेको पीडितको निवेदनमा उल्लेख छ ।


अनुसन्धानमा पीडित महिला प्रहरीको परिवारले उनको रेखदेखको जिम्मेवारी सईलाई दिएको देखिएको छ । ‘परिवारले घटनामाथि विश्वास नै गरेका छैनन्,’ उनले भने, ‘हामीले पीडितको उजुरी पछि अनुसन्धान थालेका छौं ।’

उनले मिडियामा बलात्कार भएको भन्दै आएका समाचार तथ्यपरक नभएको समेत बताए । ‘जबर्जस्तीकरणी गर्न खोजेको भन्दै पीडितले उजुरी दिएकी हुन्, त्यसैको आधारमा अनुसन्धान चलेको छ,’ उनले भने । पीडित महिला ३ महिनादेखि प्रहरी तालिम केन्द्रमा प्रशिक्षण लिँदै आएकी थिइन् ।


प्रकाशित : आश्विन ३०, २०७६ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?