अंग्रेजी माध्यमपछि विद्यालय उत्कृष्ट

कान्तिपुर संवाददाता

अर्घाखाँची — कक्षा पाँचसम्म पढाइ हुने सन्धिखर्क नगरपालिका–८ नेपाली चौरस्थित जनता आधारभूत विद्यालयमा विद्यार्थी न्यून भएपछि कक्षा घटाएर तीनमा झारियो । त्यसपछि पनि ५ शिक्षक र ७ विद्यार्थी भए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले ०७३ मा स्कुल बन्द गर्ने पत्र पठायो । गाउँलेले सुधार्ने भन्दै बन्द नगर्न माग राखे ।

प्रध्यानाध्यापक कमलप्रसाद गैरेसहित नयाँ शिक्षक आए । शिक्षकले घरदैलो गरेर अभिभावकको चाहना बुझे । अभिभावकले अंग्रेजी माध्यमका बोडिङ स्कुलको भन्दा राम्रो पढाइ हुनुपर्ने माग राखे । शिक्षकले त्यही अनुसार सुधारको काम थाले । संकटमा परेको त्यही विद्यालय अहिले सन्धिखर्क नगरपालिकाकै उत्कृष्ट बन्न सफल भएको छ । विद्यार्थी संख्या ९८ जना पुगेको छ । ७० प्रतिशत छात्रछात्रा नीजि विद्यालय छाडेर आएका हुन् । नीजि र सरकारी पाठ्यक्रम पढाइ हुन्छ । कक्षा ४ सम्म पढाइ हुन थालेको छ । वर्षेनी कक्षा बढाउँदै जाने प्रध्यानाध्यापक गैरेले बताए । भत्किन थालेको विद्यालयको भवन मर्मत गरिएको । नेपाली सेनाले दुई कोठाको भवन निर्माण गरेको छ । बाँसको बारले घेरिएको छ ।


गेट भित्र छिर्नासाथ विभिन्न थरीका फूलको बास्नाले स्वागत गर्छ । चिटिक्क छ । शिक्षक र अभिभावकले फूलमा मलजल गर्छन । भवन रंगरोगन गरिएको छ । अभिभावकले महंगो नीजि स्कुलबाट सन्तान ल्याएर यसमा भर्ना गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पोखरेल र अभिभावक दैनिक विद्यालय आएर छोराछोरीको पढाइबारे शिक्षकलाई सोध्ने गर्छन । ‘०७३ सालमा म सरुवा भए र आउँदा ७ विद्यार्थी ५ जना शिक्षक थिए,’ प्रअ गैरेले भने, ‘शिक्षा कार्यालयले बन्द गर्ने निर्णय गरेको थियो । अभिभावक र स्थानीयबीच छलफल डाके, पढाइमा अब्बल बनाउन धेरै मेहनेत गर्‍यौं ।’ अंग्रेजी माध्यामबाट पढाइ भएपछि अभिभावकको ध्यान तानिएको उनले बताए । अहिले अंग्रेजीमा स्नातक ४ जना शिक्षक नीजि स्रोतमा राखेको गैरेले जनाए । ‘सदरमुकामको गंगाआधारभुत विद्यालयबाट ३० र बोडिङ छाडेर ३२ जना विद्यार्थी यहाँ आएका छन्,’ उनले भने । अभिभावकले नियमित शिक्षक छन्/छैनन् निगरानी गर्छन् ।


शिक्षकले छोराछोरीलाई घरमा पढाउन, धेरै काममा नलगाउन, मिठो बोल्न, गाली नगर्न अभिभावकलाई स्कुलमा बोलाएरै भन्छन् । विद्यार्थीले सफा कपडा लगाउने, सातामा दुई चोटी नुहाउने, नंग काट्ने, अरुसित नम्र भएर बोल्नुपर्छ । स्कुलमा तयारी खाना निषेध गरिएको छ । सबै विद्यार्थीले घरबाट टिफिनमा रोटी, भुटेको मकै, भात, सातु ल्याउँछन् । ‘खाजा खाने समय ३० मिनेट छुट्टाइएको छ, हामीले खाजा खुवाउँछौं,’प्रअ गैरेले भने ।


गतवर्ष देउसी भैलोबाट संकलित तीन लाख रुपैयाँले नीजि स्रोतका शिक्षकलाई एक वर्ष तलब दिन पुग्यो । पढाई राम्रो भएपछि यहाँको पाहारपाखा र भलायडाँडा सामुदायिक वनले वर्षमा एक लाख रुपैयाँ सहयोग गरेका छन । दरबन्दी नगर शिक्षामा माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताए । ‘पढाई राम्रो बनाउन निरन्तर गाउँलेबीच छलफल भइरहेको छ,’ उनले भने । बोडिङ छाडेर आएकालाई परीक्षा गराएरै यहाँ भर्ना गरिन्छ । अर्घाखाँची इङलिस बोडिङ स्कुलमा कक्षा ३ पढने अस्मिता पोखरेल यहाँ भर्ना हुन आइन् । उनी परीक्षा उर्तीण गरी भर्ना भइन । बोडिङमा भन्दा यहाँ पढाइ राम्रो छ, म खुसी छु, उनले भनिन । कक्षा ४ मा सुन्दर भुसाल, २ मा राजिब बञ्जाडे ४ मा पुजन भुसाल लगायत थुप्रै विद्यार्थी बोडिङ छाडेर यता आएका छन् ।


पढाई राम्रो नभएपछि घर अगाडीको स्कुल छाडेर महंगो बोडिङमा छोराछोरी पढाउन बाध्य थिए । ऋण काढेर भएपछि छोराछोरीलाई त बोडिङ पढाउनु पर्ने बाध्यता थियो, गाउँका धेरैले बोडिङ छाडेर यहाँ भर्ना गरेका छन्, पढाई राम्रो छ, स्थानीय अभिभावक पुष्करनाथ बञ्जाडेले भने । ‘सबै शिक्षकको हातमा हुँदो रहेछ, त्यस्तो स्कुल आज यति राम्रो पढाई हुन थाल्यो’, उनले भने, ‘छोराछोरीको पढाइप्रति बाआमालाई धेरै चिन्ता हुन्छ । ऋण काढेर भएपनि पढाउनुपर्छ ।’ सरकारीमै राम्रो पढाई भएपछि बोडिङ पठाउन धेरैले छाडेको उनले बताए । प्राय: दैनिक स्कुलमा अभिभावक गएर मेरो छोरा वा छोरीको पढाई कस्तो छ भनेर शिक्षकलाई सोध्ने उनले सुनाए ।


स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र गाउँले जागरुक र प्रतिबद्ध भएपछि दुई वर्षमै परिवर्तन हुन्छ भन्ने उदाहरण हो, सन्धिखर्क शिक्षा अधिकारी युगनारायण बस्यालले भने । नगर भित्रका स्कुल मध्ये जनता आधारभूत पढाई राम्रो हुनेमा उत्कृष्ट विद्यालय भएको उनले सुनाए ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?