१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डाँडा बाँझै, बेंसीमा प्लटिङ

गिरुप्रसाद भण्डारी

(प्युठान) — खानेपानी, सडक, यातायातलगायतका सुविधा खोज्दै डाँडाका बस्तीबाट बेसी झर्ने क्रम बढेको छ । यसरी बसाइँ सर्दा डाँडा उराठ बनेका छन् । खेतीपाती गरिएको छैन । जमिन बाँझिन थालेका छन् । यसको चाप समथर फाँटमा परेको छ । खोला किनार र फाँट भरिएका छन् ।

डाँडा बाँझै, बेंसीमा प्लटिङ

जिल्लाको बाहाने, ठूलाबेसी, मच्छि, खप्रेङखोला, दाखाक्वाडि, रातामाता, ढुंगेठाटी, बरौला, दरभान लगायत धान उत्पादन हुने खेत अहिले महंगा घडेरी बनेका छन् । डाँडा क्षेत्रका उब्जाउ जमिन बाँझिएर झाडीमा परिणत हुन थालेको छन् । बेसी झर्नेको संख्या ह्वात्तै बढेपछि जग्गाको कारोवार गर्नेले खेत मासेर धमाधम प्लटिङ गर्न थालेका छन् । केही वर्ष अघिसम्म धान झुल्ने नौबहिनीको बाहाने फाँट, झिमरुकको मच्छि फाँट, गौमुखीको ठूलाबेसी फाँट, ऐरावतीको बरौला फाँट, प्यूठान नगरपालिकाको झिमरुक फाँट घरले भरिन थालेका छन् । ठाउ–ठाउमा प्लटिङ गरिएका छन् । धान उत्पादन हुने क्षेत्रमा प्लटिङ हुनु र खेति हुने पहाडका जमिन बाँझो हुनुमा सरकारी निति प्रमुख कारण रहेको यहाँका अगुवा बताउँछन् ।


जिल्लाका स्थानीय तहसँग आफ्नो क्षेत्रमा खेतियोग्य र बाँझो जमिन कति छ त्यसको तथ्यांक छैन । जग्गा बाँझै राख्ने प्रवृतिलाई कम गर्न स्थानीय तहले किसानको मन जित्ने नीति पनि बनाएका छैनन् । ‘स्थानीय सरकार संचालन भएको पनि तीन वर्ष भयो,’ गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष नेत्रमणी आचार्यले भने, ‘कुनै पनि स्थानीय तहको यस विषयमा ध्यान गएको छैन ।’ पहाड खोतलेर डाँडामा सडक पुर्‍याउन स्थानीय तह लागि परेको उनले बताए । ‘स्थानीय बेसी झरिसकेका छन्,’ उनले भने, ‘स्थानीय तह डाँडामा सडक पुर्‍याउने धुनमा पहाड खोतल्दै छन् ।’ डाँडामा सडक बनाउन जथाभावि डोजर, स्काभेटर लगाउदा बेसी झरेकालाई समेत बाढीको जोखिम बढेको आचार्यको भनाई छ ।


‘धान उत्पादन हुने खेतमा नयाँ बस्ती बनेको छ,’ प्यूठान नगरपालिका–४ का स्थानीय कुलचन्द्र पौडेलले भने,‘डाँडाका बस्तीमा सुविधा छैन । स्थानीय सुविधा खोज्दै बेसी झर्दै छन् ।’ गाउँमा परम्परागतरुपमा प्रयोग गर्दै आएका पँधेराहरूमा पानी सुख्दै गएपछि त्यसको सुविधाको लागि पनि खोला किनारमा बसाइ सर्नेक्रम बढेको पौडेलले बताए । १० वर्ष अघिसम्म प्यूठान नगरपालिका–५ र ६ को सीमा ढुंगेठाटी क्षेत्रमा एउटा पनि घर नभएकोमा हिजोआज २ सय बढि परिवारको बसोबास बसेर नयाँ गाउँ बनेको बताए । उनले ढुंगेठाटी क्षेत्रमा जुम्रीकाढाँ, माझकोट, टाकुरा लगायत डाँडाका बस्तीबाट स्थानीय बसाईसरेर आएको बताए ।


झिमरुक फाँट जोगाउने नगरपालिकाले योजना बनाएपनि रोक्न नसकिएको मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘आफ्नो जमिन प्रयोग गर्न रोक लगाउने कानुन हाम्रो हातमा छैन,’उनले भने,‘यसलेगर्दा फाँट मासिदै छ ।’ उनले पहिले डाँडामा बसेर फाँटमा खेति गर्नेहरूनै आफ्नो खेतमा घर बनाएर बेसी झर्दै गरेको बताए । नगरपालिकाले जग्गा बाँझो नराख्न अनुरोध गरेपनि गाउँमा खेति किसानीगर्ने युवाहरू बैदेशिक रोजगारिमा रहेका कारण बृद्ध, महिला, केटाकेटीले खेति किसान गर्न नसक्ने भएकाले गाउँको पाखो बाँझिदै गएको कक्षपति बताउँछन् । ‘युवापुस्तालाई गाउँमै रोजगारि दिने कार्यक्रमलाई जोड दिइरहेका छौ,’ कक्षपतिले भने, ‘युवाउद्यमी बनाउन कृषि र पशु पालनमा अनुदानको व्यबस्था गरेका छौ । ’ उनले नगरपालिका क्षेत्रको कृषि योग्य जमिनमा प्लटिङ गर्नबाट रोक लगाएको बताए ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?