जन्मदर्ताबाट वञ्चित

कान्तिपुर संवाददाता

बर्दिया — राजापुर नगरपालिका–४ का निरुद्दिन जसगढले ०६३ मा नेपाली नागरिकता प्राप्त गरे । उनका बाबु मोहद्दिन अहमद जसगढ र बाजे मस्तान अलीले पूरै जीवन राजापुरमा कपडा व्यवसायमै बिताए । बाबु र बाजेको निधन भइसकेको छ । पुस्तौदेखि बसोबास भए पनि परिवारका बालवालिका जन्म दर्ताबाट वञ्चित छन् । वडा कार्यालयले जन्म दर्ता गर्न नमानेको परिवारको आरोप छ । 

निरुद्दिनका जेठी छोरी चाँदबीबी एक कक्षामा पढछिन् । ६ वर्षीया उनको जन्म दर्ता भएको छैन । पञ्जिकरण ३५ दिन भित्र गरे जन्म दर्ता नि:शुल्क हुन्छ । त्यसपछि ५० रुपैयाँ जरिवाना गरेर दर्ता गर्नुपर्ने नियम छ । छोरा समिरुद्दिन नर्सरीमा पढ्छन् । उनको जन्म दर्ता भएको छैन । ८ महिने छोरा जलानुद्दिन जसगढको जन्म दर्ता रोकिएको छ । छोराछोरीको जन्मदर्ताका लागि निरुद्दिन पटकपटक वडा कार्यालय पुगे । अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । ‘दर्जनौ पटक वडामा पुगिसके । न जन्म दर्ता गरिन्छ, न कैफियत लेखिन्छ । यो कस्तो विभेद हो,’ उनले भने, ‘नेपाली भएपनि हामीलाई नागरिक जस्तो व्यवहार गरिदैन ।’ छोराछोरीको जन्म दर्ता नहुँदा बिद्यालयमा नाम लेखाउन समस्या हुने गरेको उनले बताए ।


आफ्नो परिवार १२ औँ पुस्तादेखि राजापुर बजारमा बस्दै आएको उनले दाबी गरे । पुस्तौदेखि बस्दै आएपनि स्थानीय सरकारले नेपाली नागरिकका रुपमा स्वीकार नगर्दा पीडा हुने गरेको उनले बताए । ‘नागरिकता छ । पुस्तौदेखि राजापुरमै बसोबास छ । तर नेपाली मानिदैन,’ निरुद्दिनले भने, ‘वडा कार्यालयले हामीलाई नेपाली भएको स्वीकार गर्नु पर्‍यो । होइन भने गैरनागरिक हो भनि प्रमाणित गरिदिनु पर्‍यो ।’ स्थानीय अमित नागले ०६३ सालमा गाउँमा टोली आएका बेला नागरिकता बनाए । उनले जन्मदर्ताका लागि भौतारिनु परिरहेको बताए । आमाको नागरिकता नभएको भन्दै वडा कार्यालयले उनकी बहिनी १२ बर्षीया दुर्गा चौरसीयाको जन्म दर्ता गर्न मानेको छैन । ‘मेरो नेपाली नागरिकता बन्ने तर मेरो बहिनीको जन्म दर्ता गर्दैन,’उनले भने,‘दु:ख दिनुको एउटा सीमा हुन्छ नि ।’ स्थानीय रन्जित गुप्ताको परिवार यस्तै समस्यामा छ । नगरपालिकाका १ सय २५ घरधुरीलाई नेपाली नागरिकताको समस्या छ ।

ती परिवारका करिब २ सय ५० भन्दा बढीको नागरिकता र जन्म दर्ता हुनसकेको छैन । अनेक कागज मागेर नागरिकताबाट बन्चित गरिएको स्थानीयको गुनासो छ । पुस्तौदेखि बसोबास गरेका सर्वसाधारणले नागरिकता नपाउँदा समस्या भइरहेको छ । राजापुर–४ का वडा सचिव राजकुमार पौडेलले जन्मको आधारमा नागरिकताको सिफारिस गर्न सरकारले रोकेको दाबी गरे । जन्मदर्ता कसैको नरोकेको उनले दाबी गरे ।


‘जन्म दर्ता रोकिएको छैन । कागज पुर्‍याएर आएका सबै बालवालिकाको दर्ता भइरहेको छ,’ उनले भने,‘ गुनासो कसले गर्यो । म कहाँ पठाई दिनुस अहिले बनाएर पठाइदिन्छु । तर नागरिकता बनाउने अधिकार मलाई छैन ।’ पीडितले नागरिकता बनाउनका लागि आवश्यक पर्ने कागजात वडा कार्यालयले दिन नमानेको आरोप लगाएका छन् । ‘कागजात सबै पुर्‍याएका छौँ । तर वडाबाट सिफारिस दिइएको छैन,’ निरुद्दिनले भने । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले प्रक्रिया पूरा भएका व्यक्तिका लागि नागरिकता बनाउन आवश्यक पर्ने कागजात सिफारिस दिन निर्देशन दिइसकेको बताए । राजापुर–४ का वडाध्यक्ष रमण रेग्मीले कार्यालयमा जन्म दर्ता गराउने सबैको पन्जिकरण गरिरहेको बताए । दाबी गरे ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?