बालविवाहविरुद्ध सडक नाटक

कान्तिपुर संवाददाता

पाल्पा — बगनासकाली गाउँपालिका २, पोखराथोकस्थित वडास्तरीय बाल सञ्जालले बालविवाहविरुद्ध सडक नाटक अभियान सुरु गरेको छ  । सञ्जालले गाउँपालिकाका नौवटै वडामा नाटक देखाउने गरी अभियान थालेको हो  । बालमैत्री गाउँपालिका बनाउने अभियानलाई साथ दिन चेतनामूलक सडक नाटक तयार गरेका हुन् ।

बालविवाहविरुद्ध सडक नाटक

अभियानको सुरुवात नायरनमतलेसको आर्यभञ्ज्याङ बजारबाट गरे । उनीहरूले सानो उमेरमा हुने बालविवाहबाट हुने बेफाइदाका विषयलाई नाटकमा उठाएका छन् । नाटकमा देखाइएको विषयवस्तुबाट बालविवाह गर्नु हुन्न भन्ने प्रस्ट सन्देश प्रवाह हुन्छ ।

‘गाउँपालिकास्तरीय बाल सञ्जालको सहयोग र सल्लाहमा हामीले सडक नाटक तयार पारेका हौं,’ वडास्तरीय बाल सञ्जालकी अध्यक्ष निशा खरालले भनिन्, ‘बालमैत्री गाउँपालिका बनाउने सूचकका रूपमा सडक नाटक पनि पर्छ । त्यसैले हामीले गाउँपालिकाको सल्लाहमै नाटक तयार गरेका छौं र यसलाई सबै वडामा लगेर देखाइनेछ ।’

गाउँले परिवेशलाई प्रस्टसँग देखाइएको नाटक ३० मिनेटको छ । बालबालिका कसरी सानो उमेरमै विवाह गर्छन् भन्ने नाटकमा देखाइएको छ । सानो उमेरमै प्रविधिको प्रयोग र गाउँघरमा कसरी विवाह गर्न प्रोत्साहन गरिन्छ भन्ने पनि नाटकमा देखाइएको अध्यक्ष खरालले बताइन् ।

उपाध्यक्ष सुशील गैरेले सडक नाटक हेरुन्जेल दायाँबायाँ हेर्नु नपर्ने गरी सिलसिलेवार मिलाइएको बताए । ‘२० वर्ष उमेर नपुगी विवाह गर्दा स्वास्थ्यमा देखिने समस्यालाई पनि केन्द्रित गरिएको छ,’ उनले भने, ‘जसले गर्दा आमा र बच्चाको मृत्यु हुने र स्वास्थ्यमा आइपर्ने समस्यालाई उजागार गरिएको छ ।’ नाटकमा अल्लारे उमेरमै विवाह गर्दाका बेफाइदा र कलिलैमा विवाह गर्दा हुने कानुनी जटिलता पनि उठाइएको छ । नाटकमा १२ जनाले अभिनय गरेका छन् । आवश्यकताअनुसार कलाकार थपघट गर्न सकिने सञ्जालका सचिव सुदीप गैरेले बताए ।

बगनासकाली बालमैत्री गाउँपालिका बन्ने तयारीमा छ । बालमैत्री शासन लागू भएको गाउँपालिका बन्न ३९ सूचक पूरा गर्नुपर्छ । त्यसमध्ये अहिलेसम्म २८ भन्दा बढी सूचक पार गरिसकेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ‘बालमैत्री बनाउने अभियानलाई सडक नाटकले पनि साथ दिएको अनुभूति भएको छ,’ उनले भने, ‘नाटक चेतनामूलक रहेकाले यसबाट पनि धेरै फाइदा पुग्नेछ ।’

स्थानीय बालमैत्री शासन लागू गर्न विभिन्न १६ चरण छ । अहिले बालबालिकाको शिक्षा र स्वास्थ्यसम्बन्धी सूचकमा काम भइरहेको फोकल पर्सन मनोज आचार्यले बताए । स्थानीय सरकारका हरेका कार्यक्रम र योजना तर्जुमामा बालबालिकाको सहभागिता गराउने काम भइरहेको उपाध्यक्ष सरस्वती चिदीले बताइन् ।

‘सडक नाटक पनि यसैलाई साथ दिने गरी तयार भएको रहेछ,’ उनले भनिन्, ‘धेरै भन्दा धेरैलाई सजिलो गरी बुझाउन सडक नाटक सफल हुने विश्वास छ ।’ बालमैत्री गाउँपालिका घोषणा गर्न बालबालिकालाई भेदभाव नगर्ने, हिंसा, दुर्व्यवहार, हेला, बेवास्ता नगर्ने, जोखिमपूर्ण काममा नलगाउने आचारसंहिता छ ।

प्रकाशित : आश्विन २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?