२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिकलसेलबारे बुझाउन पाठ्यक्रम

ठाकुरसिंह थारू

(बर्दिया) — बारबर्दिया नगरपालिकाले रक्त अल्पता (एनेमिया) सिकलसेल रोगको महामारीबारे सचेतना जगाउन पाठ्यक्रम तयार गरी पढाइ सुरु गरेको छ  । सचेतना अभियानले विद्यार्थीलाई सिकलसेलको महामारीबाट जोगिने उपायबारे जानकारी मिलेको छ  । उनीहरूले सचेतता अपनाउने र समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न पीडितलाई सुझाव दिएका छन् ।

सिकलसेलबारे बुझाउन पाठ्यक्रम

बर्दियाका थारू गाउँमा उक्त रोगको महामारी छ । वंशाणुगत रूपमा सर्ने भएकाले नियन्त्रणका लागि पालिकाले उक्त पाठ्यक्रम लागू गरेको हो । पाठ्यक्रम भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेले तयार पारेका हुन् । उनले शिक्षकहरूलाई पढाउनेबारे तालिम दिने गरेका छन् । त्यहीअनुसार शिक्षकले बालबालिकालाई पढाउने गरेका हुन् ।

सिकलसेलको पहिचान हुन नसक्दा मृत्यु हुनेको संख्या बढेपछि पालिकाले विद्यालयमै त्यसबारे पढाइ सुरु गरेको हो । थारू समुदायमा बिहेबारी गर्नुअघि रगत परीक्षण गर्ने चलन छैन । जसका कारण भूसको आगोजस्तै यसको महामारी फैलिरहेको छ । ‘सिकलसेलबारे पढाइ सुरु भएपछि धेरैले त्यसबारे जानकारी पाएका छन् । रगत जाँच गराएर बिहेबारी गर्नुपर्ने सचेतना फैलिएको छ,’ बारबर्दियाका नगर प्रमुख दुर्गा चौधरीले भने, ‘पढाइ सुरु भएपछि बालबालिका सचेत हुनुका साथै अभिभावकलाई पनि त्यसबारे जानकारी दिन थालेका छन् ।

सिकलसेल रोग लागेका पतिपत्नीले बच्चा जन्माउँदा २५ प्रतिशत सन्तान पूर्ण रूपमा प्रभावित, ५० प्रतिशत रोगी र २५ प्रतिशत सन्तानमात्रै स्वस्थ हुने भएकाले महामारी मानिएको हो । त्यस्तै पूर्ण रूपमा रोग लागेकाको अकालैमा मृत्यु हुन्छ र जन्मिंदै प्रभावित ५० प्रतिशतले बिहेबारी गर्दा बच्चामा पनि त्यो रोग सर्छ । त्यस्तै, पति वा पत्नीमध्ये एक मात्रै उक्त रोगबाट पीडित छन् भने उनीहरूबाट जन्मिने सन्तान २५ प्रतिशत रोगी हुनसक्ने भएकाले बिहेबारीअघि रगत परीक्षणका लागि पाठ्यक्रममा जानकारी दिइएको छ । रोग पत्ता नलाग्दै ५ वर्षमुनिका ५० प्रतिशत बालबालिकाको ज्यान जाने गरेको छ । यो रोग पुस्तान्तरण हुँदै गएकाले समस्या बल्झिएको हो ।

सामुदायिक विद्यालय र संस्कृतिमा जोड
बाँसगढी नगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान चलायो । चालु आवमा संस्थागत विद्यालयका करिब ७ सय बढी विद्यार्थी सरकारी विद्यालयमा भर्ना भए । अभियानले सामुदायिक विद्यालयलाई पढाइ सुधार्न र जिम्मेवार हुन दबाब दिएको छ । पालिकाले पढाइ सुधार गर्दै संस्थागतमा पढ्ने विद्यार्थीलाई सरकारी विद्यालयमा भर्ना गराउने अभियान जारी राख्ने जनाएको छ । यसले सरकारी विद्यालयको पढाइमा गुणस्तर बढ्नुका साथै विद्यार्थीको आकर्षण बढ्ने विश्वास छ ।

बाँसगढीका नगर प्रमुख शालिकराम अधिकारीले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिकस्तरलाई सुधार गर्न अभियानै सञ्चालन गरेको बताए ।ठाकुरबाबा नगरपालिकाले सांस्कृतिक परम्परा एवं व्यावहारिक शिक्षा दिन आफ्नै पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रमको नाम हाम्रो ठाकुरबाबा राखिएको छ । त्यसमा धान कुट्ने ढिकी, माछा फँसाउने ढडिया, संस्कृति र संस्कारबारे जानकारी दिइएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम लागू गरिएको हो ।

प्रकाशित : आश्विन २९, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?