कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अलपत्र र असहायको उद्धार

अमृता अनमोल

बुटवल — मानसिक विक्षिप्तता, पारिवारिक विचलन र दुर्घटनाका कारण अलपत्र पर्ने व्यक्ति बढ्दै गएपछि त्यसलाई रोक्न प्रदेशको सामाजिक विकास मन्त्रालयले अभियान सुरु गरेको छ  । सोमबार सिद्धबाबा मन्दिर परिसरबाट नौ असहाय व्यक्तिको उद्धार गरिएको छ  ।

सोमबार सिद्धबाबा मन्दिर परिसरबाट नौ असहाय व्यक्तिको उद्धार गरिएको छ । उद्धार गरिएका सबैलाई सरकारले संरक्षण दिने भएको छ ।तल्लो सिद्धबाबाबाट दुई र माथिल्लो सिद्धबाबा मन्दिरबाट सात जनाको उद्धार गरेर उनीहरूलाई बुटवलस्थित मानव सेवा आश्रममा राखिएको छ । मन्त्रालयको सहयोगमा उनीहरूको रेखदेख र संरक्षण आश्रमले गर्नेछ । असहायको उद्धार र संरक्षणपछि सिद्धबाबा क्षेत्रलाई भिक्षा माग्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले सडकमा बस्ने र मागेर खाने काम रोक्न प्रदेशभर सडक मानव उद्धार अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार सुरुवातमा प्रदेशका सबै मठमन्दिरमा माग्न निषेध गरी त्यहाँका असहायलाई उद्धार गरिनेछ । काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा संरक्षण दिइनेछ । उपचार गर्नुपर्नेलाई उपचार गराई पुनःस्थापना गरिनेछ ।

काम गर्न सक्नेलाई प्रदेश सरकारले क्षमताअनुसारको काम दिनेछ । यसले मागेर खानुपर्ने बाध्यता हट्नेछ । ‘बालबालिका, वृद्ध र असहाय मात्र होइन, उमेरदार र काम गरेर खान सक्नेसमेत माग्न बस्ने र सडकमै बस्ने देखिन्छ,’ मन्त्री बरालले भने, ‘माग्ने काम पेसा बन्न थालेकाले यसलाई रोक्न अभियान थालेका हौं ।’ विभिन्न उद्देश्यले सहरमा आउने र अलपत्र परेर सडकछाप बन्ने प्रवृत्ति रोक्न र मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न पनि यसो गरेको उनले बताए ।

प्रदेश सरकारले गत वर्षदेखि सडक मानव संरक्षण अभियान थालेको हो । प्रदेश सरकारको सहयोग रहेको मानव सेवा आश्रममा अहिले ७० जना असहायको संरक्षण भइरहेको छ । आश्रममा चार नाबालक र ३० वृद्धवृद्धा छन् । वयस्क धेरैजसो मानसिक अवस्था बिग्रिएका छन् । प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण अशक्त र अपांग बनेर सडकछाप भएकालाई पनि आश्रममा राखिएको छ । आश्रममा हुने पारिवारिक रेखदेख, खानपान, सामाजिक परामर्श र उपचारले उद्धार गरिएका व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल बन्दै गएका छन् । घरपरिवार र आफन्तविहीन जोकोहीलाई आश्रमले उद्धार गरेको आश्रमकी सहसंयोजक सरु अधिकारीले बताइन् । सडक मानवको संरक्षणका लागि छुट्टै भवन निर्माण थालिएको छ ।

बुटवल–७, दीपनगरमा भवन बनाउन लागिएको हो । वरिपरि पर्खालसहितको तीनतले भवन निर्माणका लागि पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?