सियान र बुटवलको भगिनी सम्बन्ध

कान्तिपुर संवाददाता

बुटवल — बुटवल उपमहानगरपालिका र चीनको ऐतिहासिक सहर सियान नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ  । सियान सिटी राष्ट्रपति सी चिनफिङको गृहनगर हो  ।

राष्ट्रपति सीको नेपाल भ्रमणका अवसरमा आइतबार काठमाडौंमा भगिनी सम्बन्ध स्थापना भएको हो । चीनका राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ सीले सम्झौतामा हस्ताक्षर गरेका छन् । भगिनी सम्बन्धले विकास र संस्कृति आदानप्रदान हुने उपमहानगर प्रमुख सुवेदीले बताए ।

‘त्यहाँको कला, संस्कृति र विकास हामीले सिक्ने छौं । यहाँको त्यहाँ सिकाउने अवसर जुरेको छ,’ उनले भने, ‘यसले समृद्ध नगर बनाउन सहज हुनेछ ।’सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ । बुटवल बुद्धवलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकशको अवशेष फेला परेको क्षेत्र हो । सियान सहरका उच्च अधिकारीले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यस क्रममा उनीहरूले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्त्वपूर्ण रहेको भन्दै प्रशंसासमेत गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?