कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खानेपानीको समस्यामा वनकसवासा

कान्तिपुर संवाददाता

कपिलवस्तु — शिवराज नगरपालिका–१, वनकसवासाकी ६० वर्षीया चमेली विकको चुलोचौको गर्ने समय पिउने पानी जोहो गर्नमै बित्छ  । उनी आधा घण्टाभन्दा बढी समय हिँडेर एक गाग्री पानी लिएर घर फर्किन्छिन्  ।

दुई/तीन पटक ल्याएर उनी खाना बनाउन थाल्छिन् । उनीजस्तै कक्षा ३ मा पढ्ने आरती पुन पनि बिहान खोलामा पुगेर पानी ल्याउँछिन् । ‘बिहान पढ्नै पाइँदैन,’ उनले भनिन्, ‘ग्राग्रीमा पानी ओसार्दै ठिक्क छ ।’ सुकुम्बासी बस्तीको यो गाउँका बासिन्दाले प्रशस्त पानी प्रयोग गर्न पाउँदैनन् । अडकलेर प्रयोग गर्नुपर्छ । यो गाउँ अन्य आधारभूत सुविधाबाट पनि वञ्चित छ । कक्षा ३ सम्ममात्र विद्यालय छ । उपल्लो कक्षा नहुँदा बालबालिका पढ्नबाट समेत वञ्चित छन् ।

वनकसवासामा ७२ घर छन् । पूर्व–पश्चिम राजमार्गको पूर्व र पश्चिम वन क्षेत्रमा बाक्लो बस्ती छ । ०२८ सालमा राजमार्ग निर्माण गर्न आएका मजदुरहरू बस्न थालेपछि यहाँ बस्ती विकास भएको हो । त्यसपछि बिस्तारै बस्ती बढ्दै गयो । ०५६ सालदेखि बाक्लो बनेको हो ।

‘नातिनातिना यहीं जन्मे,’ स्थानीय ७२ वर्षीय भरत पुनले भने, ‘ज्याला मजदुरी गर्ने हामी गरिब थियौं । त्यही भएर यहीं बस्यौं । तर, पानीको समस्या उहिलेदेखिकै हो ।’ यस गाउँका बासिन्दाले टुकी बालेर बसेको ३५ वर्ष भयो ।

पहाडको फेदीमा बस्ती छ । जमिन तल ठूलठूला बोल्डर हुँदा ह्याण्ड पम्प गाड्न सकिँदैन । ओभरहेड ट्यांकीमा पानी जम्मा गरेर मात्र पिउने विकल्प छ । पहाडको टुप्पोमा रहेको पानीको मूलबाट गाउँलेले पहिले पानी ल्याएका थिए । जेनतेन चलेको थियो । तर, त्यहाँबाट अन्यत्र धेरै ठाउँमा पानी लैजान थालेपछि यहाँ समस्या भएको हो । दिनभरि हिँडेर बल्ल मूलमा पुगिन्छ । आउजाउमै समस्या हुँदा मूलको पानीको आश छाडेर खोलाको पानीले गुजारा चलाउन थालेको यहाँका सुनिल घिमिरेले बताए । ‘खोलाको पानी खान्छौं भन्दा धेरैले विश्वास गर्दैर्नन्,’ उनले भने, ‘बाध्य भएर फोहोर पानी पिउनुको विकल्प छैन ।’

यहाँ प्यूठान, अर्घाखाँची, बाग्लुङ र रोल्पा लगायतका जिल्लाबाट आएर बसेका छन् । यस बस्तीबाट खरका छाना हटाउने अभियान नगरपालिकाको छ । ‘नगरमा खरका छाना हटाउने अभियान सञ्चालन गरेका छौं,’ शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भने, ‘यस वर्ष बनकसवासलाई त्यो कार्यक्रममा समेट्छौं ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?