कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महत र हुकाममा अब एकीकृत बस्ती

हरि गौतम

रुकुम पूर्व — दसवर्षे सशस्त्र द्वन्द्वका बेला सबभन्दा धेरै मानवीय क्षति बेहोरेको महत र हुकाममा एकीकृत बस्ती विकास कार्यक्रम सुरु भएको छ । भूमे गाउँपालिका–६, महतलाई प्रदेश ५ सरकारले एकीकृत बस्ती विकासको अवधारणाअनुसार अगाडि बढाउन लागेको हो ।

प्रदेश सभा सदस्य तेजबहादुर वलीले महतको बृहत्तर विकासका लागि सरकारले आवश्यक योजना निर्माण गरेर अघि बढाएको बताए । सोही अनुसार पहिलो चरणमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत गत आवमा ५० लाख रुपैयाँबाट बाटो निर्माण र सडक बत्ती जडान गरिएको छ । महत गाउँको बीचमा रहेको आठ सय मिटर बाटो पक्की गराइएको भूमे–६ का वडाध्यक्ष देवबहादुर बुढाले बताए ।


बाटोको छेउमा सोलार बत्ती जडान गरिएको छ । त्यसले गाउँ झिलीमिली भएको छ भने रातिमा हिँड्डुल गर्दा सजिलो भएको छ । महत गाउँ पस्ने मुख्य बाटोलाई चौडा गरेर ढलान गरिएपछि यातायातका साधन तथा मानिसलाई आउजाउमा सजिलो भएको वडाध्यक्ष बुढाले बताए ।


चालु आवमा पनि ५० लाख रुपैयाँ विनियोजन भएको प्रदेश सभा सदस्य वलीले बताए । एकीकृत बस्ती विकास कार्यक्रम पूरा नभएसम्मका लागि बजेट आइरहने र त्यसबाट एकीकृत बस्ती निर्माणका पूर्वाधार बनाइने उनले बताए । कार्यक्रमअन्तर्गत महत गाउँभित्रका सहायक बाटो निर्माण, ढल निकास, आँगन सुधार, करेसाबारी निर्माण, सुगुर, बंगुर र गाईगोरुको व्यवस्थापन गाउँदेखि एक किमि टाढा गर्ने र गाउँ सफा तथा व्यवस्थित गरिने जनाइएको छ ।


तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा महतमा सबभन्दा धेरै मानवीय क्षति भएको थियो । राज्य र विद्रोही पक्षबाट ५८ जना मारिएका थिए भने धेरै सर्वसाधारण विस्थापित भएका थिए । नेपाल प्रहरीका डीएसपी ठूले राईलाई महतबाटै माओवादी लडाकुले अपहरण गरेका थिए । उतिबेला भएको क्षतिको सम्बोधनको प्रयास स्वरूप स्थानीय तथा प्रदेश सरकारले महतमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।


स्थानीय सरकारले पनि गौतम बुद्धको अर्धकदको सालिक राख्ने, युद्ध फिचर राख्नेदेखि अन्य कामका गर्दै आएको छ । ‘तत्कालीन विद्रोहका क्रममा धेरै ठाउँमा लडाइँ, भीडाइ भए, कति सर्वसाधारण यत्तिकै मारिए,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘तुलनात्मक रूपमा महतले धेरै मानवीय क्षति बेहोरेको छ । त्यसको सम्बोधनका लागि स्थानीय सरकारले पनि क्रमागत रूपमा विभिन्न कार्यक्रम गरिरहेको छ ।’


प्रदेश सरकारले पुथाउत्तरगंगा गाउँपालिका–५ को हुकाम गाउँलाई पनि एकीकृत वस्ती विकास गर्न भन्दै ५० लाख बजेट विनियोजन गरेको छ । बस्ती व्यवस्थापन र सरसफाइसहितका कार्यक्रम यस वर्ष गरिने र आगामी वर्षमा पनि उक्त कार्यक्रमका लागि बजेट आइरहने जनाइएको छ । यो बहुवर्षीय कार्यक्रम हो ।

प्रकाशित : आश्विन २७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?