कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुलाकी सडकको काम गुणस्तरहीन

कमल पन्थी

बर्दिया — संघीय सरकारको लगानीमा निर्माण भएको हुलाकी सडकअन्तर्गत गुलरिया खण्डको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

हुलाकी सडकको काम गुणस्तरहीन

सदरमुकाम गुलरिया बजारमा ठेक्का सम्झौताविपरीत जथाभावी ठूला साइजका ढुंगा, रुखका ठुटा, भत्काइएका संरचनाका इटा आफूखुसी सडक पुर्ने काम भइरहेको छ । सडकमा ७० एमएम साइजको ढुंगा राख्नुपर्नेमा तुलापुर चोकबाट जिल्ला प्रशासन कार्यालयसम्म ५ सय एमएमभन्दा ठूलो साइजका ढुंगा राख्दै डोजर लगाएर पेल्ने काम भइरहेको छ ।


सडक मापदण्ड सम्झौताअनुसार ७० एमएम ढुंगा (गिट्टी) प्रयोग गर्नुपर्नेमा १ सय ५० देखि ५ सय ५० एमएमसम्मका ढुंगा राखेर पटान गरिएको छ । माटो १५ देखि २० एमएम हुनुपर्ने सम्झौतामा उल्लेख छ । तर, सडकमा ५० प्रतिशत साइजभन्दा बढी ढुंगाको प्रयोग गरिएको छ । ७० एमएम साइजको ७० प्रतिशत ढुंगा राख्नुपर्ने हुन्छ । ३० प्रतिशत चालेको माटो राख्नुपर्नेमा सोही सडकमा खनिएका कमसल माटो प्रयोग गरिएको आयोजनाले जनाएको छ ।


गणपति निर्माण सेवाले निर्माण गरिरहेको उक्त सडकमा बिछ्याइएका ठूलो साइजका ढुंगालगायत कमसल निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएको हुलाकी आयोजनाका साइड इन्चार्ज रमेश पाठकले बताए । सडकमा बिछ्याइएका ठूलो साइजका ढुंगा र कमसल निर्माण सामग्रीले सडक दिगो नहुने उनले बताए । निर्देशन दिए पनि ठेकेदार कम्पनीले अटेर गरी काम गरिरहेको छ । यस्तो सडक दिगो नहुने गुलरिया नगरपालिकाका सब–इन्जिनियर अर्जुन लम्सालले जनाए ।


मापदण्डविपरीतका काम नगर्न ठेकेदार कम्पनीलाई जानकारी गराएको उनले बताए । निर्माण व्यवसायी संघका अध्यक्ष भरत आत्रेयले सडक फराकिलो बन्दा खुसी लागेको तर कमसल सामग्री प्रयोग गर्नु दुर्भाग्य भएको बताए । ‘सडक निर्माणमा गुणस्तरीय सामग्री प्रयोग भएको छैन,’ उनले भने, ‘यस्तो हुँदा पनि सरोकारवाला निकाय मौन बस्नु सोचनीय कुरा छ ।’


सडक मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काउँदा थुप्रिएका टुक्रा इँटा, ढलेपडेका रुखका ठुटा र टिन–रड आदि सडकमा पुरेर सडक पिच गर्दा सडक बजबुत र बलियो नहुने स्थानीय व्यवसायी बुद्धि पौडेलले बताए । सडक निर्माण गर्दा अनुगमन गर्ने निकायसमेत मौन बसेकामा उनले गुनासो गरे ।


ठेकेदार कम्पनीले गत साउन महिनाभित्र सडक निर्माण गर्ने सम्झौता थियो । गुलरिया नगरपालिकाले १२/१२ मिटर सडकको मापदण्ड तोकेको छ । सडक मापदण्डअनुसार संरचना नबनेका ठाउँमा विद्युत्, टेलिफोनका पोल सार्ने, खानेपानी र नाली बन्न सकेको छैन । ठेकेदार कम्पनी गणपति निर्माण सेवाले वेलवा चोकदेखि मुर्तिहा सीमासम्म करिब १८ किमि सडक निर्माण गरी कालोपत्रे गर्ने सम्झौता गरेको हो । ग्रामीण क्षेत्रमा ७ किमि चौडा कालोपत्रे बनाउने सम्झौता छ । सहरी क्षेत्रमा भने १३ मिटर चौडा कालोपत्रे निर्माण हुने सम्झौतामा उल्लेख छ ।


तीन प्याकेजअन्तर्गत मधुवन–गुलरिया खण्ड १८ किमि हुलाकी सडक २५ करोड ३१ लाख ८५ हजारमा निर्माण भइरहेको छ । भुरीगाउँ–वेलवा खण्ड राजेन्द्र जेभी निर्माण कम्पनीले २८ करोड ३१ लाख १५ हजार रुपैयाँमा निर्माणको ठेक्का लिएको छ । वेलवा राजापुरसम्म करिब २२ किमि सडक आशिष जेभीले २६ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।


गणपतिले कालोपत्रे गरेको सडक भासिन थालेको छ । मधुवन नगरपालिका ५ मा तीन महिनाअघि गरिएको कालोपत्रे भासिएको छ । निर्माण गरिएको कालोपत्रे उक्किनुका साथै सडक समथर नभएकाले यसलाई पुनर्निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।


यस सम्बन्धमा ठेकेदार कम्पनीका सञ्चालक तुलसी भण्डारीले वर्षातको समयमा हिलो पानी जमेका ठाउँमा ठूला ढुंगा राखिएकाले सडक भासिएको बताए । ‘तुरुन्तै बेसाइजका त्यस्ता ढुंगा हटाउँछौं,’ उनले भने, ‘कामदारलाई त्यस्ता ढुंगा हटाएर तोकिएको साइजका ढुंगा राखेर पुनःनिर्माणका लागि अह्राइसकेका छौं ।’


प्रकाशित : आश्विन २७, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?