२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फेरियो मुक्त कमलरीको जीवन

दुर्गालाल केसी

दाङ — राप्ती गाउँपालिका ६, बगरापुरकी नमिता चौधरी अचेल आफ्नो घरपरिवारसँग गुनासो गर्दिनन् । बाल्यकाल कमलरीका रूपमा बिताए पनि अहिले उनी विभिन्न आय आर्जनका उपाय खोजिरहेकी छन् । आर्थिक अभाव देखाउँदै बाआमाले कमलरी पठाएको क्षण उनलाई अहिले पनि झलझली सम्झना आउँछ । उनले अहिले कुकको तालिम लिएर होटल व्यवसाय सुरु गर्ने तयारी गरेकी छन् ।

फेरियो मुक्त कमलरीको जीवन

‘हाम्रो बाल्यकाल रोएरै बित्यो । रातदिन अर्काको काम गरेर पनि जीवनस्तर सुध्रिएन,’ उनले भनिन्, ‘अब आफ्नै सीपले व्यवसाय गर्ने तयारी गरेकी छु । होटल सञ्चालनको सबै सीप सिकेकी छु । अब कसैको भर परिंदैन ।’ उनले १८ दिनसम्म घोराहीमा बसेर होटल व्यवसाय सञ्चालनको सीप सिकेकी हुन् । उनीजस्तै पश्चिम तराईका ३१ मुक्त कमलरीले सँगै कुकको तालिम लिएका छन् । मुक्त कमलरी विकास मञ्च र नेपाल युथ फाउन्डेसनबाट तालिमसँगै होटल सञ्चालनका लागि आवश्यक भाँडाकुँडा र नगद रकम पनि बुझेका छन् । तालिम पाएपछि उनीहरूले २१ हजार रुपैयाँ बराबरको होटल चलाउने सामान र १५ देखि २५ हजारसम्म नगद पाएका छन् ।


बाँसगढी ९, बर्दियाकी सावित्री चौधरी पनि जीवनप्रति आशावादी छन् । अब आफ्नै सीपमा जीवन निर्वाह हुने आत्मविश्वास बढेको छ । ‘पहिले हामीसँग सीप थिएन । व्यवसाय गर्ने आँट पनि आउँदैनथ्यो । अहिले हामी सीप सिकेर व्यवसाय सुरु गर्ने योजनामा छौं,’ उनले भनिन्, ‘आय आर्जन नहुँदा धेरै पछि परिंदो रहेछ । हाम्रो परिवार आर्थिक अभावकै कारण कमलरी बस्नु परेको हो ।’


दंगिशरण २, हेकुलीकी गीता चौधरीले पनि गाउँमा खाजा पसल सुरु गर्ने योजना बनाएकी छन् । ‘हामीले विभिन्न खाजानास्ताका परिकार बनाउने सीप सिकेका छौं । व्यवसाय सुरु गर्ने सामान र नगद पनि पाएका छौं,’ उनले भनिन्, ‘अब आय आर्जनको काममा लाग्छौं । सीपलाई व्यवसायमा लगाउँछौं । अब पहिलेजस्तो अर्काको काम गरेर उपलब्धि छैन ।’


सीप सिक्न र विभिन्न योजना बनाउन मुक्त कमलरीले घोराहीमा आफ्नै भवन बनाएका छन् । त्यसैमा बसेर विभिन्न सीपमूलक तालिम चलाउँछन् । पहिले होटलमा तालिम चलाउँदा खानबस्नमै धेरै खर्च हुने गरेकामा अहिले आफ्नै भवनमा गर्दा बचत भइरहेको मञ्चकी केन्द्रीय कोषाध्यक्ष सुशीला चौधरीले बताइन् । ‘होटलमा गर्दा अनावश्यक खर्च हुन्थ्यो । अहिले तालिम लिनेहरू आफैं पकाएर खान्छन् । आफ्नै भवनमा मिलेर बस्छन्,’ उनले भनिन्, ‘यसबाट पैसा बचत भएको छ । त्यसबाट व्यवसाय गर्न सहयोग मिलेको छ ।’


नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमबाट प्राप्त ८० लाख रुपैयाँमा मुक्त कमलरीले आफ्नो श्रमदान र नगद थपी ९७ लाख २७ हजार ७१ रुपैयाँमा तीनतले भवन तयार पारेका छन् । घोराही १७, चौघेरामा निर्माण भएको भवन मुक्त कमलरीको सहारा

बनेको छ । यही भवनमा बसेर विभिन्न योजना बनाउने र आय आर्जनका काम गर्ने गरेको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् ।


‘हिजो हाम्रो घर थिएन । अहिले विभिन्न सीप सिक्ने र आत्मनिर्भर हुने थलोका रूपमा आफ्नै भवन सहयोगी बनेको छ,’ उनले भनिन्, ‘धेरै साथीले सीप सिकेर विभिन्न व्यवसाय गरिरहेका छन् । आत्मनिर्भर हुनेहरूको संख्या बढिरहेको छ ।’ तालिमबाट आम्दानी हुने रकमको ५० प्रतिशत भवन व्यवस्थापनमा खर्च हुने र ५० प्रतिशतबाट एक कोष बनाई अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उनले बताइन् ।


कानुनी रूपमा कमलरी प्रथा अन्त्य भएकाले अहिले खुला रूपमा राख्ने चलन हट्दै गएको मञ्चका कानुनी सल्लाहकार फकला थारुले बताए । ‘पहिलेजस्तो थारु चेलीहरू कमलरी जाने चलन छैन । लुकीछिपी राख्न खोजे पनि कारबाहीको डर छ । थारु बालिकाहरू पनि अहिले सशक्त भइसकेका छन्,’ उनले भने, ‘धेरै मुक्त कमलरी अहिले विभिन्न आय आर्जनका काममा लागेका छन् । पहिलेजस्तो रोएर बस्ने अवस्था छैन । शैक्षिक क्षेत्रमा पनि धेरै फड्को मारिसकेका छन् ।’


आर्थिक अभावको नराम्रो पीडा भोगेका कमलरी किशोरीहरूले मुक्त भएपछि आर्थिक स्तर सुधारमा जोड दिएका छन् । यसका लागि पश्चिम तराईका पाँच जिल्लामा ४३ सहकारी स्थापना भएका छन् । जसमा ९ करोड ५० लाख रुपैयाँ परिचालन भएको मञ्चले जनाएको छ । सहकारीबाट ऋण लिएर मुक्त कमलरीले व्यवसाय गरिरहेका छन् । हालसम्म ३ सय ३१ जनाले छोटो अवधिको तालिम लिएकामा २ सय २२ जनाले आय आर्जनको काम गरिरहेका छन् । लामो समयको तालिम लिएका २ सय ७० मध्ये ७२ जनाले जागिर खाइरहेका छन् । मञ्चमा हाल ९ हजार ६ सय ६१ सदस्य छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?