१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मर्मत भएन चर्खे पिङ

माधव अर्याल

(पाल्पा) — तिनाउ गाउँपालिका २, झ्याङला सडक छेउमा चर्खे पिङ अलपत्र छ । वर्षौंदेखि यस पिङको मर्मत भएको छैन । मर्मत नभएकाले पिङ खेल्न मिल्दैन । केही काठको जोहो गर्ने हो भने यसलाई खेल्न मिलाउन सकिन्छ । 

मर्मत भएन चर्खे पिङ

नजिकमै चुरे क्षेत्रको जंगल छ । सामुदायिक वनमा आबद्ध यहाँका परिवारलाई काठको कुनै समस्या छैन । तर, यस पिङको जगेर्ना गर्न भने कोही जुटेका छैनन् । ‘यसको मर्मतसम्भार गर्ने मान्छे भएन,’ स्थानीय चोपलाल गिरीले भने, ‘नयाँ पुस्तालाई मतलव नै छैन । पुरानो पुस्ताले बनाउन सकेन ।’ पहिला जंगलमा प्रशस्त काठ काट्न पाइन्थ्यो । गाउँलेले चर्खे पिङ राख्ने भनेपछि काठ सित्तैंमा दिन्थे । अहिले पिङ बनाउन कसैले इच्छा जाहेर गरे पनि सामुदायिक वनबाट काठ पाउन समस्या छ ।


यहाँ मात्र होइन, जिल्लाका धेरै स्थानमा यस्ता काठैकाठले बनाइएका चर्खे (रोटे) पिङ वर्षौंदेखि अलपत्र छन् । यिनीहरूको मर्मत गर्न कसैको वास्ता छैन । युवापुस्ताको पलायन, पुरानो पुस्ताले बेवास्ता गर्दा यस्ता काठैकाठका पिङ अलपत्र परेका हुन् । जल्पाका नीरबहादुर सारुका अनुसार ठाउँठाउँमा राखिने चर्खे पिङ अहिले देख्नै मुस्किल छ । ‘बनाउने मिस्त्रीभन्दा पनि युवा पुस्तामा चासो देखिँदैन,’ उनले भने, ‘अब पछिल्लो पुस्ताले यस्ता पिङ देख्नै मुस्किल पर्ने भयो ।’


बसाइँसराइ, युवाको विदेश पलायन, पुरानो पुस्ताले काम गर्न नसक्दा ग्रामीण भेगमा दसैंमा राख्ने चर्खे पिङ बनाउनै छाडेका छन् । ‘धेरै स्थानका जंगल सामुदायिक वन भए, मनपरी काठ काट्न पाइँदैन,’ जल्पाकै वीरबहादुर घर्तीले भने, ‘धेरै वर्षदेखि नै यस्ता पिङ बनाउनै छाडेका छन् । पिङ बनाउन झन्झट छ । त्यसैले पनि राख्न छाडेका हुन् ।’ रामपुर नगरपालिका–९ जब्गादीका तीन/चार स्थानमा यस्ता पिङ राख्थे । अहिले कतै देखिंदैन । ‘पहिला जतासुकै यस्ता पिङ हुन्थे,’ स्थानीय डिलबहादुर रानाले भने, ‘अहिलेको पुस्तालाई मतलब नै छैन । सामाजिक सञ्जाल र टेलिभिजनमा झुम्मिन्छन्, यस्ता पिङप्रति वास्तै छैन ।’


पहिले तानसेन नजिकैको चिर्तुङधारामा मात्रै चार स्थानमा चर्खे पिङ खेल्न पाइने गरेको स्थानीय दीपक ढुंगानाले बताए ।


अहिले भने देख्नै मुस्किल छ । कतिपय स्थानमा काठ चोरी हुने पनि समस्याले राख्न छाडेका हुन् । जिल्लाको पश्चिम र उत्तर भेगमा धेरैले चर्खे पिङ राख्दैनन् । पूर्व भेगका मगरी समुदायमा भने पिङ राख्ने चलन छ । देवीनगरका भुवन सिंजालीका अनुसार चार–पाँच स्थानमा सप्तमीदेखि चर्खे पिङ राख्ने चलन छ । जल्पा, बहादुरपुर, झडेवा, ज्यामिरे, मित्याललगायत स्थानमा भने यस्ता पिङ अझै पनि राख्ने गर्छन् ।


सदरमुकाम र वरपरका गाउँमा पछिल्लो १०/१२ वर्षयता यस्ता पिङ देख्नसमेत नपाएको अनुभव धेरैको छ । पहाडी जिल्लाका अधिकांश स्थानमा काठ अभाव भएपछि राख्न छाडेका हुन् । ‘दसैंमा चर्खे पिङ खेल्न पाइनै छाड्यो,’ स्थानीय कमल बस्यालले भने । काठैकाठले बनेको चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय थियो । दसंैका बेला गाउँका युवा मिलेर त्यस्तो पिङ बनाउने गर्थे । युवा पुस्ता बाहिर हिँडेपछि कसले बनाउने भन्ने अवस्था छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?