मर्मत भएन चर्खे पिङ

माधव अर्याल

(पाल्पा) — तिनाउ गाउँपालिका २, झ्याङला सडक छेउमा चर्खे पिङ अलपत्र छ । वर्षौंदेखि यस पिङको मर्मत भएको छैन । मर्मत नभएकाले पिङ खेल्न मिल्दैन । केही काठको जोहो गर्ने हो भने यसलाई खेल्न मिलाउन सकिन्छ । 

नजिकमै चुरे क्षेत्रको जंगल छ । सामुदायिक वनमा आबद्ध यहाँका परिवारलाई काठको कुनै समस्या छैन । तर, यस पिङको जगेर्ना गर्न भने कोही जुटेका छैनन् । ‘यसको मर्मतसम्भार गर्ने मान्छे भएन,’ स्थानीय चोपलाल गिरीले भने, ‘नयाँ पुस्तालाई मतलव नै छैन । पुरानो पुस्ताले बनाउन सकेन ।’ पहिला जंगलमा प्रशस्त काठ काट्न पाइन्थ्यो । गाउँलेले चर्खे पिङ राख्ने भनेपछि काठ सित्तैंमा दिन्थे । अहिले पिङ बनाउन कसैले इच्छा जाहेर गरे पनि सामुदायिक वनबाट काठ पाउन समस्या छ ।

यहाँ मात्र होइन, जिल्लाका धेरै स्थानमा यस्ता काठैकाठले बनाइएका चर्खे (रोटे) पिङ वर्षौंदेखि अलपत्र छन् । यिनीहरूको मर्मत गर्न कसैको वास्ता छैन । युवापुस्ताको पलायन, पुरानो पुस्ताले बेवास्ता गर्दा यस्ता काठैकाठका पिङ अलपत्र परेका हुन् । जल्पाका नीरबहादुर सारुका अनुसार ठाउँठाउँमा राखिने चर्खे पिङ अहिले देख्नै मुस्किल छ । ‘बनाउने मिस्त्रीभन्दा पनि युवा पुस्तामा चासो देखिँदैन,’ उनले भने, ‘अब पछिल्लो पुस्ताले यस्ता पिङ देख्नै मुस्किल पर्ने भयो ।’

बसाइँसराइ, युवाको विदेश पलायन, पुरानो पुस्ताले काम गर्न नसक्दा ग्रामीण भेगमा दसैंमा राख्ने चर्खे पिङ बनाउनै छाडेका छन् । ‘धेरै स्थानका जंगल सामुदायिक वन भए, मनपरी काठ काट्न पाइँदैन,’ जल्पाकै वीरबहादुर घर्तीले भने, ‘धेरै वर्षदेखि नै यस्ता पिङ बनाउनै छाडेका छन् । पिङ बनाउन झन्झट छ । त्यसैले पनि राख्न छाडेका हुन् ।’ रामपुर नगरपालिका–९ जब्गादीका तीन/चार स्थानमा यस्ता पिङ राख्थे । अहिले कतै देखिंदैन । ‘पहिला जतासुकै यस्ता पिङ हुन्थे,’ स्थानीय डिलबहादुर रानाले भने, ‘अहिलेको पुस्तालाई मतलब नै छैन । सामाजिक सञ्जाल र टेलिभिजनमा झुम्मिन्छन्, यस्ता पिङप्रति वास्तै छैन ।’

पहिले तानसेन नजिकैको चिर्तुङधारामा मात्रै चार स्थानमा चर्खे पिङ खेल्न पाइने गरेको स्थानीय दीपक ढुंगानाले बताए ।

अहिले भने देख्नै मुस्किल छ । कतिपय स्थानमा काठ चोरी हुने पनि समस्याले राख्न छाडेका हुन् । जिल्लाको पश्चिम र उत्तर भेगमा धेरैले चर्खे पिङ राख्दैनन् । पूर्व भेगका मगरी समुदायमा भने पिङ राख्ने चलन छ । देवीनगरका भुवन सिंजालीका अनुसार चार–पाँच स्थानमा सप्तमीदेखि चर्खे पिङ राख्ने चलन छ । जल्पा, बहादुरपुर, झडेवा, ज्यामिरे, मित्याललगायत स्थानमा भने यस्ता पिङ अझै पनि राख्ने गर्छन् ।

सदरमुकाम र वरपरका गाउँमा पछिल्लो १०/१२ वर्षयता यस्ता पिङ देख्नसमेत नपाएको अनुभव धेरैको छ । पहाडी जिल्लाका अधिकांश स्थानमा काठ अभाव भएपछि राख्न छाडेका हुन् । ‘दसैंमा चर्खे पिङ खेल्न पाइनै छाड्यो,’ स्थानीय कमल बस्यालले भने । काठैकाठले बनेको चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय थियो । दसंैका बेला गाउँका युवा मिलेर त्यस्तो पिङ बनाउने गर्थे । युवा पुस्ता बाहिर हिँडेपछि कसले बनाउने भन्ने अवस्था छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

कारागारमा आफन्तको भीड

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित बोटबारी सुनसान जस्तै छ । सहरदेखि गाउँघरसम्म दसैंले धपक्कै छोपे पनि यो गाउँमा दसैंको रौनकता छैन । बोटबारीका अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन् । बाँकी गाउँमा भएका युवाहरू पनि लागूऔषधलगायत अन्य मुद्दामा कारागारमा कैदी जीवन बिताइरहेका छन् । 

‘दुई छोरी बिहे भएर गइसके एक भाइ छोरा विदेशमा छ, अर्को जेलमा’, बोटबारीका ६३ वर्षीय देवी चेपाङले भने, ‘यसपालिको दसैंमा पनि हामी बुढाबुढी मात्रै हुनेभयौं ।’ यहाँका बुढापाकालाई चाडपर्व आउँदा सन्तानको चिन्ताले पीडा दिन्छ । ‘ज्याला मजदुरीका लागि शहर गएका केही युवा फर्कंदै छन्, तर बाँकी युवा बिभिन्न मुद्दामा जेलमा छन्’, राक्सिराङ वडा ८ का अध्यक्ष रामकृष्ण चेपाङले भने, ‘यो दसैंमा पनि गाउँघर बुढापाकाले मात्र भरिनेभयो ।’
गाउँघर शून्य भए पनि क्षेत्रीय कारागार भीमफेदी भने दसैं रौनकले छोपिएको छ । आफन्तले ल्याइदिएको दसैं भागले कारागारमा खानेकुराको पनि कमि छैन । कारागारभित्र दसैंको स्वागत गेट निर्माण, ध्वजा पतकाले सजाउनेदेखि सरसफाइमा कैदीबन्दीहरू ब्यस्त छन् । कारागारको ‘क’ ब्लकका नाइके सुरेश मोक्तानलाई कैदीबन्दी भेट्न आउने आफन्तको समय मिलाउन भ्याइ नभ्याई छ ।

कारागारभित्रका आफन्तलाई दसैं भाग पुर्‍याउन आएका मकवानपुर कैलाश गाउँपालिकाकी सकुन्तला ब्लोन कारागारभित्र पुग्दा गाउँमा छु की कारागारमा भन्ने अन्योलमा परिन् । ‘मलाई गाउँकै कुनै भोज/कार्यक्रममा पुगेजस्तो भयो’, उनले भनिन्, ‘गाउँका धेरै आफन्त कारागारमा भेट्दा खुसी पनि लाग्यो, दु:ख पनि ।’

भरिभराउ र दसैंको रौनकले छाएको कारागारभित्र कैदीबन्दीको मन भने खुसी छैन । ‘गाउँघरमा धेरै साथीभाइ पनि छन्, खानेकुराको पनि समस्या छैन तर चाडबाडमा आफ्नो गाउँघरमा जस्तो कहाँ हुन्छ र’, लागूऔषध मुद्धामा कैद भुक्तान गरिरहेका मकवानपुर राक्सिराङका मनदीप लामाले भने, ‘सायद अर्को वर्ष दसैं गाउँमै मनाउन पाइएला ।’

झट्ट कोही पुग्दा मकवानपुरको कुनै गाउँ झल्को दिने भीमफेदी कागारारमा हाल ९ सय ९४ कैदीबन्दी छन् । तीमध्ये ६० प्रतिशत मकवानपुरका मात्र रहेको कारागार कार्यालयको तथ्याङ्क छ । मकवानपुरका अधिकांश पश्चिमी मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख केदारप्रसाद सापकोटाले बताए । अधिकांश युवाहरू कैदीको रुपमा कारागारमा रहेका कारण राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिको टोलीले कारागारमै पुगेर खाद्यान्न हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङलगायतको टोली दुई वटा खसी, चिउरा, चामल, तेल, फलफूल र अन्य खानेकुरा बोकेर त्यहा पुगेका थिए ।

‘गाउँमा भन्दा बढी युवा कारागारमा छन्, त्यही भएर उनीहरूलाई भेट्न र दसैंको शुभकामना दिन यहाँ आएका हौं’, गाउँपालिका अध्यक्ष मल्लले भने, ‘लागूऔषध गाँजाले गर्दा गाउघर सुनसान छ, कारागार भरिभराउ भएको छ । भीमफेदी कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका ३ सय ७९ कैदीबन्दी छन् । लागूऔषधपछि जर्बजस्ती करणीका २ सय १५ कैदीबन्दी रहेको कारागारको तथ्याङ्क छ । कारागारमा रहेकामध्ये ८३ विदेशी छन् । यहाँ महिला कैदीबन्दी भने राखिएका छैनन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्