मन्दिरमा श्रद्धालुको भीड

बिहान पूजा र बेलुकामा प्रवचनसहित भजन–किर्तनमा श्रद्धालु रमाउने गर्छन्, भक्तजनले दुर्गामाताका लागि ल्याएका चुनरी ओढाइदिने गर्छन्
कान्तिपुर संवाददाता

रूपन्देही — दसैंका अवसरमा रुपन्देहीका सहर र ग्रामीण क्षेत्रका टोलटोलमा दुर्गा मन्दिर स्थापना गरेर पूजाअर्चना भइरहेको छ  । समिति बनाएर पूजा गर्ने परम्पराअनुसार माटाका ठूलाठूला मूर्ति स्थापना गरिएको छ  ।

मन्दिरमा श्रद्धालुको भीड

त्यहाँ साँझ–बिहान पूजा गरिन्छ । दिनभर भजन बजाउने गरिएको छ । आकर्षक तरिकाले सजाइएका कारण श्रद्धालुको भीड लाग्छ ।

बुटवलको ट्राफिकचोकस्थित पुरानो दुर्गा मन्दिरमा प्रत्येक दिन बिहान पूजा गर्नेको भीड लाग्छ । त्यहाँ दिनभर भक्तजन आउँछन् । काठमाडौंबाट बिदामा आएकी पूजा पाण्डे शुक्रबार बिहान दुर्गा मन्दिर पुगेकी थिइन् । दसैंका बेला पूजा गरे निडर र शक्तिशाली भइने विश्वासले मन्दिर आउने गरेको उनले बताइन् । अध्ययनका लागि जिल्ला बाहिर बस्ने उनी दसैंका बेला घर आउने र दुर्गा मन्दिरमा पूजा गर्ने गर्छिन् ।

विगत जस्तै यस वर्ष पनि बुटवल, भैरहवालगायत आसपासका क्षेत्रमा मूर्ति स्थापना गरेर पूजापाठ भइरहेका दृश्य देखिन्छन् । कतिपय स्थानमा मन्दिर निर्माण गरेर पूजा भइरहेको छ । कतिपय स्थानमा मूर्ति राखिएका छन् । यसरी ९ दिनसम्म दुर्गाको पूजा गरी दशमीका दिन मान्यजनबाट टिका तथा जमरा ग्रहण गरी दसैं मनाउने परम्परा छ ।

तिलोत्तमा नगरपालिका ६ स्थित दुर्गामन्दिर ०७० मा स्थापना भएको हो । अहिले मन्दिरमा दैनिक पूजा गर्नेको भीड लाग्छ । बिहान पूजा र बेलुकामा प्रवचनसहित भजन किर्तनमा श्रद्धालु रमाउने गर्छन् । भक्तजनले दुर्गामाताको लागि चुनरी ल्याई ओढाइदिने गरेका छन् । ९ दिनसम्म पूजा गर्ने र व्रत बस्ने श्रद्धालु धेरै हुन्छन् ।

पाल्पा पर्बासस्थित मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत युनाल भण्डारी नवदुर्गाको व्रत बसिरहेका छन् । दुर्गामाताले शक्ति प्रदान गर्ने विश्वासमा सधै व्रत बस्ने गरेको उनले बताए । मन्दिरका पूजारी राधाकृष्ण उपाध्यायले दसैंमा भिड हुने बताए ।

‘जिल्ला बाहिर रहेकाहरू घर आउछन,’उनले भने, ‘पूजा गर्नेको भीड बिहानैदेखि हुन्छ ।’ साँझमा भजनकिर्तन सहित प्रवचन र लक्ष्यवर्ती हुने उनले बताए । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा स्थानीयबाहेक अन्य ठाउंबाट समेत भक्तजन आउने गरेका छन् । पूजाआजा मात्र नभई प्रवचन र किर्तनले समेत श्रद्धालुको घुइंचो बढाएको उनले बताए ।

सिद्धार्थनगर ८, भैरहवा गाउँमा नवयुवा दुर्गापूजा समितीले नौतनवाबाट दुर्गा मूर्ति ल्याएर दैनिक पूजापाठ गरिरहेको छ । ‘प्रत्येकवर्ष यसरी मूर्ति स्थापना गरी पूजाअर्चना गर्छौ,’ समितीका सल्लाहकार विनोद विकले भने, ‘युवाको अग्रसरतामा मुर्ती ल्याएपनि पूजा गर्न सबैलाई सजिलो भएको छ ।’ उक्त स्थानमा भक्तजनले पूजा गर्नुका साथै ध्यान गर्ने र भजन गाउने गरेका छन् ।

सैनामैनाको होमस्टेमा दुर्गा पूजाका लागि लुम्बिनीबाट मुर्ती ल्याई राखिएको छ । टाढा गएर पूजा गर्ने झन्झट नहोस् भन्ने उद्धेश्यले वर्षेनी मुर्ती स्थापना गरेर पूजा गरिने मुर्ती व्यवस्थापन समितीका प्रतिनिधी जितेन्द्र ठाकुरले बताए । दसैंका बेलामा राखिने मुर्तीले रमाइलो र भक्तिभावको शोभा दिने उनले बताए ।

दसैंको अवसर पारेर भारतबाट आयातित र नेपालबाटै लयाइएका दुर्गा मुर्ती र दुर्गामन्दिरमा भक्तजनको उपस्थिती अन्य समयमा भन्दा बढी हुने गर्दछ । दुर्गा स्तुती वाचन र भजन किर्तनले समेत मानिस मन्दिर र मुर्ती भएका स्थानमा पुग्ने गरेका छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?