३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ज्येष्ठ नागरिकको घरमै उपचार

अमृता अनमोल

बुटवल — दसैंको अवसर पारेर यहाँका धेरै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बाँडेका छन्  । बुटवल उपमहानगरले घरदैलोमै पुगेर स्वास्थ्य उपचार गरिरहेको छ  ।

ज्येष्ठ नागरिकको घरमै उपचार

चाडबाडका बेला घरमै स्वास्थ्य सेवा पाउँदा वृद्धवृद्धा खुसी छन् । बिहीबार बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष महेन्द्र लिगल स्वास्थ्यकर्मी लिएर घरघरै पुगे । स्थानीय १ सय ५ वर्षीय सेतीलक्ष्मी श्रेष्ठलाई भेटे ।

उनीसँगै गएका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरे । ‘आमाको रक्तचाप अलि कम रहेछ । यसले रिंगटा लाग्न सक्छ,’ स्वास्थ्यकर्मी गीता शर्माले भनिन्, ‘शरीर दुखेमा खाने सिटामोल र कमजोरी हटाउन भिटामिन दिएका छौं ।’

स्वास्थ्यकर्मीको टोली ८९ वर्षीय चन्द्रमान शाक्यको घरमा पुग्यो । बेलाबेलामा रक्तचाप बढ्ने र हाडजोर्नीको समस्या देखिन्छ । स्वास्थ्यकर्मीले चिसोबाट बच्न, गेडागुडी र नुन कम खान सुझाव दिए । दुखाइ कम गर्ने औषधि र भिटामिन दिए । उपमहानगरले दुई वर्षदेखि ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य उपचार प्रदान गरिरहेको छ ।

गत वर्षबाट ८० वर्ष पुगेकालाई सेवा दिइरहेको हो । प्रत्येक चौमासिकमा उपमहानगरका १९ वडामा स्वास्थ्यकर्मी खटिने गर्छन् । स्वास्थ्य टोलीमा वडाका प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हुन्छन् । उनीहरूले ज्येष्ठ नागरिकको चेकजाँच गरी सामान्य खालका बिरामीलाई घरमै औषधि दिन्छन् ।

औषधिसँगै उमेर अनुसार उपयोगी हुने भिटामिन तथा पोषक तत्त्व समेत निःशुल्क वितरण गर्छन् । जटिल रोगका लागि भने सरकारी अस्पतालमा रिफर गर्ने गरेका छन् । त्यहाँ समेत ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

चाडबाडका बेला ज्येष्ठ नागरिकमा हुन सक्ने स्वास्थ समस्या ख्याल गरेर स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष लिगलले बताए । परिवारबाट रेखदेख नपाएका नागरिकका लागि छिमेकी र परिवारका सदस्य जुटाएर सम्मान र संरक्षणको वातावरण मिलाउन सहजीकरण गरेको उनले सुनाए ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले चाडबाडका बेला ज्येष्ठ नागरिकलाई स्वस्थ र खुसी पार्न भन्दै जनप्रतिनिधि र स्वास्थ्य टोली घरदैलोमा खटेको बताए । उपमहानगरमा ८० वर्ष पुगेका करिब ८ सय वृद्धवृद्धा छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?