१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाउँमा चहलपहल, सहर सुनसान

कान्तिपुर संवाददाता

परासी — ठूलो बजार, चाडपर्वमा किनमेल भन्नासाथ पहिले सदरमुकामको सम्झना हुन्थ्यो  । जिल्लाभरिबाट सर्वसाधारण सामान किनबेच गर्न धाउँथे  ।

ठूला पसल, होटल र मनोरञ्जनका माध्याम सदरमुकाम केन्द्रित हुन्थे । सरकारी कामकाजका लागि सदरमुकाम आउजाउ गर्नुपर्थ्यो । अहिले समय फेरिएको छ । स्थानीय तह कार्यान्वयनपछि गाउँमै मुकाम स्थापना भए ।

सदरमुकामका कार्यालय स्थानीय तहमा आए । नगरपालिका र गाउँपालिकाका केन्द्र सञ्चालनसँगै सदरमुकामको चहलपहल गाउँ केन्द्रित बनेको छ ।

साबिक नवलपरासी जिल्ला पश्चिम सुनवलदेखि पूर्वमा गैंडाकोटसम्म फैलिएको थियो । सामान्य कामका लागि सदरमुकाम आउनुपर्थ्यो । एक दिनमा काम पूरा नहुने समस्या थियो । दूरी धेरै भएकाले बास बस्नुपर्थ्यो । सेवाग्राहीको चापले व्यवसाय फस्टाएको थियो । दुई जिल्ला बनेपछि सदरमुकाम परासी सुनसान बनेको छ ।

दुई दिन लगाएर नवलपुरको पहाडी क्षेत्रबाट परासी आउने सेवाग्राहीको काम अहिले स्थानीय तहमै हुन्छ । जिल्लाभरिका योजना सम्झौता, पेस्की तथा रकम फर्स्योटका लागि सदरमुकाम धाउनुपर्दैन । पहिले नवलपुर क्षेत्रबाट गाडी रिजर्भ गरेर उपभोक्ता योजना सम्झौताका लागि सदरमुकाम परासी आउने गर्थे । अहिले जिल्ला समन्वय समितिको कार्यालय सुनसान छ । तीन महिनादेखि समन्वय समिति प्रमुखविहीन भए पनि कसैले पनि गुनासो गरेका छैनन् । सानादेखि ठूला सबै विकास आयोजनाको कार्यान्वयन स्थानीय तहबाट हुन थालेपछि नेता, सांसद र मन्त्रीसम्म बजेट माग्न स्थानीय केन्द्रमै आउँछन् । सदरमुकामका कार्यालय कर्मचारीको तलब मात्र खुवाउने र अनुगमनमा सीमित बनेका छन् ।

सर्वसाधारणको आउजाउ घटेपछि सदरमुकामस्थित होटल व्यवसाय प्रभावित बनेको छ । सदरमुकाममा प्रशासनिक कामका लागि आउँदा हुने किनमेल, टाढा ाट आउदा बास बस्नुपर्ने भएकाले यहाँको होटल व्यवसाय फस्टाएको थियो । अहिले जिल्लाबाट हुने सरकारी काम स्थानीयतहबाट हुन थालेपछि सेवाग्राही शून्य बनेका छन् ।

सानादेखी ठूला योजना, सिफारिस वडा, गाउँ र नगरपालिका केन्द्रमा हुने गरेका छन् । यसको प्रत्यक्ष यहाँ व्यवसायीलाई परेको छ । राज्य पुनसंरचनाका क्रममा साबिकको नवलपरासी जिल्ला दुई प्रदेशमा विभाजित भएको छ । पहिले सदरमुकाममा रहेका अधिकार स्थानीय तहमा पुगेका छन्, पर्याप्त शान्ति सुरक्षा नहुनु, लगानीको वातावरण नहुनु, रातको समयमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकामसम्म सार्वजनिक यातायात सञ्चालन नहुनुजस्ता कारण व्यवसायका लागि प्रतिकूल भएको हो ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले विकेन्द्रिकरणको अभ्यासमा यस्तो हुनु स्वभाविक भएको बताए । ‘हामीसँग प्रशस्त साभावना छन् । औद्योगिक तथा पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना भएकाले सदरमुकाम परासीको भविष्य उज्वल छ,’उनले भने, ‘सदरमुकाम भएको नगरपालिकाको गौरवका योजना सम्पन्न भएपछि नमुना नगरको रुपमा विकसित हुनेछ ।’ स्थानीय तहको कार्यान्वयनसँगै बर्दघाट, सुनवल, सुस्ताको बेलाटारी, पाल्हीनन्दनको केन्द्र लगायत स्थानमा बजार बिकास भएका छन् ।

सानादेखी होलसेल पसल सञ्चालन हुन थालेका छन् । फोटो स्टुडीयो देखी होटल तथा अन्य व्यवसाय सुरु भएका छन् । उद्योग वाणीज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डेका अनुसार संघियतापछि सदरमुकाम परासीमा साना लगानीका व्यवसायीको संख्यामा कमी आएको बताए ।

प्रकाशित : आश्विन १८, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?