गाउँ–गाउँमा दुर्गापूजा

ठाकुरसिंह थारू

बर्दिया — दसैंमा नवरात्र पूजाका लागि गाउँ–गाउँमा दुर्गा भवानीको प्रतिमा राखिएको छ  । घटस्थापनाको दिन सार्वजनिक स्थानमा दुर्गाको प्रतिमा राखेर पूजा सुरु गरिन्छ  ।

ZenTravel

एउटै गाउँमा २/३ मूर्ति राखिएका छन् । चोकचोकमा दुर्गा मूर्ति स्थापना गरिएको छ । नेपालगन्ज र भारतको रुपैडिहाबाट करिब २० देखि २५ हजार रुपैयाँमा मूर्ति खरिद गरेर ल्याइएको छ । मूर्ति किन्न गाउँभरीका घरघरबाट पैसा संकलन गरिएको छ । पूजाका लागि आवश्यक पर्ने समाग्रीका लागि पनि सामूहिक रकम जम्मा गरिएको छ ।

घटस्थापनादेखि नौ दिन नवरात्रसम्म निरन्तर सार्वजनिक रुपमै पूजाका गर्ने व्यवस्था मिलाइएको छ । ‘दुर्गा माताको मूर्ति खरिद गरी गाउँको बीचमा राखिसक्यौँ । ९ दिनसम्म पूजा हुन्छ,’ बढैयाताल गाउँपालिका ३ का शम्भुप्रसाद चौधरीले भने, ‘साँझ बिहान पूजा गरिन्छ । राति महाभारत हेरेर रमाइलो गर्छौं ।’

Meroghar

पश्चिम तराईका जिल्लामा दुर्गाको मूर्ति राख्ने राख्ने परम्परा सुरुमा मधेसी समुदायमा थियो । अहिले थारू र पहाडी समुदायले पनि मूर्ति राखेर पूजा गर्ने परम्परा बनेको छ । दुर्गाको मूर्ति राखिएपछि गाउँमा चहलपहल बढेको छ ।

स्थानीयहरू रमाइरहेका छन् । नाचगान नहुने गाउँमा दुर्गाको मूर्तिले रौनकता थपेको छ । गाउँमा रातिका समयमा चहलपहल बढेको छ । बजारका चोकहरूमा पनि दुर्गा राखिएका छन् । ‘दुर्गाको मूर्ति राखिएको ठाउँमा गाउँभरीका युवा जम्मा हुँदा त्यसै रमाईलो हुन्छ । पूजापाठ हुन्छ,’ बाँसगढी नगरपालिका मोतिपुरका रामप्रताप चौधरी भन्छन्, ‘हरेक वर्ष दसैंको पूजाका लागि दुर्गाको मूर्ति राख्दै आएका छौँ ।’

दसैं सकिएको भोलिपल्ट नजिकैको नदी खोलामा मूर्ति बिसर्जन गर्ने चलन छ । सयौं मूर्ति एकसाथ सेलाउँदा हजारौको भिड लाग्ने गरेको छ । बर्दियाका पूर्वी क्षेत्रका स्थानीयले मानखोलामा, गुलरिया क्षेत्रका स्थानीयले भादामा र पश्चिम क्षेत्रकाले कर्णाली नदीमा मूर्ति बिसर्जन गर्दै आएका छन् ।

पश्चिम क्षेत्रमा भने निकै कम मूर्ति राख्ने गरिएको छ । तर बाँकेका सीमावर्ती बर्दियाका गाउँगाउँमा मूर्ति राखिएको छ । यसले युवाहरूलाई अनुशासनमा बाँध्न सहयोग पुगाएको छ । जथाभावी मदिरा प्रयोगमा कमी आएको स्थानीय बताउँछन् ।

‘नवरात्र पूजा गाउँमा हुन थालेपछि मदिरा प्रयोगमा कमी आउछ । धेरै युवाले दसैंका बेला पनि मदिरा खादैनन्,’ स्थानीय युवा रामदास चौधरी भन्छन्,‘दुर्गा पूजाले युवाहरूलाई गलत कार्य गर्नबाट रोक्छ ।’

प्रकाशित : आश्विन १८, २०७६ ११:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भरिँदै गाउँघर : भारतबाट दसैं मनाउन घर फर्किए

ठाकुरसिंह थारू

बर्दिया — बाँसगढी नगरपालिकाका सुरेश सुनार दसैं मनाउन घर फर्किएका छन् । उनी एक वर्षदेखि भारतको चण्डीगढमा मजदुरी गरिरहेका थिए । दसैंतिहार मनाएर फेरि मजदुरी गर्न उतै फर्किने सोचमा छन् । गाउँमै रोजगारी नभएकाले परदेश जाने गरेको उनले बताए । चाडपर्वका बेला प्रत्येक वर्ष गाउँ फर्किन्छन् । 

वर्षभरिको थकान मेटेर र साथीभाइ भेटेर उनी कर्मथलो फर्किन्छन् । गाउँका उनी जस्ता थुप्रै युवा कामका लागि मजदुरी गर्न स्वदेश तथा विदेश गएका छन् । चाडपर्वमा भने उनीहरू घर फर्किन्छन् । युवा फर्किने क्रम बढेपछि गाउँको रौनक फेरिएको छ । चहलपहल बढेको छ । ‘परिवारसँग भेट गर्न घर फर्किन्छौं । अरू बेला काम गर्छौं,’ उनले भने, ‘घर बसेर मात्र के गर्नु ? भारतमा मजदुरी गरेर परिवार पाल्नुपर्छ ।’

बढैयाताल, मैनापोखरका अजय चौधरी पनि ६ महिनापछि भारतको राजधानी दिल्लीबाट फर्किए । त्यहाँको एउटा होटलमा वेटरको काम गर्दै आएका उनी खाडी मुलुक जाने प्रयासमा बिराम लागेपछि भारत पसेका थिए । गाउँमा उद्योग छैन । मजदुरीका लागि नेपालगन्ज जानुपर्छ । त्यहाँको भन्दा राम्रो कमाइ हुने भएकाले आफू भारत गएको उनको भनाइ छ । ‘तिहारसम्म कहीँ जान्नँ । साथीभाइसँग रमाउँछु । त्यसपछि सोच्नुपर्ला,’ उनले भने ।

सुरेश र अजय जस्तै भारतमा रहेका हजारौं नेपाली युवा अहिले दसैं मनाउन धमाधम गाउँ फर्किरहेका छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्लाबाहिर गएका पनि फर्किंदै छन् । धेरैजसो फूलपातीसम्म घर आइपुग्छन् । बसले छतमा समेत यात्रु राखी ओसारिरहेका छन् । गाउँघर गुलजार छन् । युवा फर्केपछि गाउँमा सांस्कृतिक एवं खेलकुद कार्यक्रम आयोजना गरिन्छन् । मित्र मिलन र शुभकामना साटासाट गरिन्छ । चाडपर्वभन्दा अन्य समय गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै भेटिन्छन् । ‘दसैंतिहार सकिएपछि गाउँ फेरि सुनसान हुन्छ,’ बढैयातालका सन्तोष चौधरीले भने, ‘यहाँका युवा रोजगारी खोज्दै गाउँ छाड्न बाध्य छन् ।’

चाडपर्वका बेला सबै फर्किंदा गाउँमा खुसियाली छाउने गरेको छ । प्रदेश ५ का सबैजसो र कर्णालीका रुकुम, रोल्पा, सल्यान, जाजरकोटका युवा मजदुरीका लागि पारि जाने र चाडपर्वका बेला फर्किने परम्परा नै बनेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १०:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×