वारि मदिरा पारि लागूऔषध

परासी/रुपन्देही/बर्दिया — पश्चिम नवलपरासीमा प्रत्येक दिन लागू औषध दूर्व्यसन र ओसारपसार आरोपमा व्यक्ति पक्राउ पर्छन् । एक दिन पक्राउ गरेर शृंखला थामिदैन । विभिन्न बहानामा भारत गएर लागूपदार्थ सेवन गर्छन् । फर्किदा लागूऔषध भित्र्याउने गर्छन् । यसरी पक्राउ पर्नेमा स्थानीयभन्दा जिल्ला बाहिरबाट आएका युवा बढी हुन्छन् ।

वारि मदिरा पारि लागूऔषध

काठमाडौं, पोखरा, लमजुङजस्ता टाढाका जिल्लाबाट सेवन र ओसारपसार गर्नेको संख्या धेरै छ । प्रदेश ५ का रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका सीमावर्ती भारतीय बजारबाट लागू औषध भित्र्याउने गरिएको छ ।


करिब ६ महिनाअघि काभ्रेका ३१ वर्षीय सुमन मगर र लम्जुङ दुधपोखरीका ३० वर्षीय आइतराम घले सदरमुकाम रामग्राम नगरपालिकाको रानीपाकडबाट पक्राउ परेका थिए । उनीहरू सेवन गर्ने र केही महिनाकालागि आवश्यक पर्ने लागूऔषध खरिद गर्न सिमावर्ती ठुटीबारी बजारमा आएका थिए । प्रहरीका अनुसार दुवैजना एक दिन सिमावर्ती क्षेत्रमा बास बसे । भोलीपल्ट घर फर्कने क्रममा पक्राउ परेका थिए । दुवै जनाले शरिरमा लुकाएर लागूऔषध लैजान लागेका थिए । प्रहरीले उनीहरूबाट बरामद गर्‍यो । डेढ महिनाअघि प्रहरीले रुपन्देहीको रुद्रपुरका १८ वर्षीय दीप र १६ वर्षीय कमल गोसाईको साथबाट डाइजीपाम २५, नुर्फिन २५ र फेनरागन २५ एम्पुल बरामद गर्‍यो ।

रुपन्देहीबाट कसरी किन जिल्लामा आएर उनीहरूले लागूपदार्थको कारोबार गरे भन्नेबारे प्रहरी अलमलमा पर्‍यो । अनुसन्धानका क्रममा रुपन्देहीका सीमाक्षेत्रमा चिनजानका मानिस भेट हुने भएकाले छिमेकी जिल्लामा आएको तथ्य खुल्यो । दुई महिनाअघि भारतको बहराइचस्थित नानापारा थाना मेडकियाका २३ वर्षीय भानुप्रताप मंगता बर्दियामा लागूऔषधसहित पक्राउ परे । बढैयाताल गाउॅपालिका २ फुटाहामा १ सय ६२ थान नाइट्रोजेपाङ बोकेर आइरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनायो । भारतकै लखिमपुर जिल्लाका हरजित सिंहलाई प्रहरीले लागू औषधसहित राजापुरबाट पक्राउ गर्‍यो ।


गत असार ८ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा चेक गर्ने क्रममा प्रहरीले स्थानीय देवराज गुरुङ र बुटवलका मनिष ज्ञवालीलाई पक्राउ गर्‍यो । उनीहरूबाट ४ ग्राम १ मिलीग्राम ब्राउन सुगर बरामद गर्‍यो । नियन्त्रणका लागि प्रहरीले सीमा नाका बेलहियामा निगरानी बढाएको छ । गत आवमा रुपन्देहीमा ३ सय ७१ लागू औषध सेवन र कारोबारका मुद्दा दर्ता भएका थिए । तिनमा संलग्न आरोपमा ४ सय ७५ जना पक्राउ परे । उनीहरू मध्ये १४ विदेशी रहेको प्रहरीको भनाइ छ । गत असारमा लागूऔषध कारोबारमा संलग्न ३६ जना पक्राउ परेको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।


पश्चिम नवलपरासीको ठुटीबारीबाट खुलेयाम बिक्री बढेपछि प्रहरीले मिसन बनाएर रोकथाम अभियान चलाएको छ । ठुटीबारी र त्रिवेणी नाका खुला भएकाले लागूपदार्थ ओसारपसार बढेको थियो । अहिले ती नाकामा नेपाल र सशस्त्र प्रहरीले संयुक्तरुपमा निगरानी गरिरहेका छन् । खुल्ला सिमाना भएकाले किनमेल र घुम्न भन्दै युवायुवती भारत जाने गरेका छन् । त्यहाँ पुगेपछि सेवन तथा बिक्रीका लागि लुकाएर ल्याउने गरेका छन् । अधिकांश प्रयोगकर्ता मोटरसाईकलमा आउँछन् । त्यसमा निगरानी सुरु गरेपछि बसको प्रयोग गर्न थालेका छन् । प्रहरी उपरीक्षक लालमणी आचार्यले ओसारपसार बढेपछि नियन्त्रण अभियान सुरु गरिएको बताए । ‘पश्चिम नवलपरासीमा लागूऔषध कारोबार निकै पाइयो,’ उनले भने, ‘छुट्टै फोर्स तयार गरेर निगरानी बढाएपछि धमाधम नियन्त्रणमा आएका छन् ।’ जिल्ला प्रहरीका अनुसार गत वर्ष ६३ भन्दा बढी लागू औषधसम्बन्धी दर्ता भएका छन् ।

दशगजामा घुइँचो
सिमावर्ती दशगजामा प्रत्येकदिन साँझपख मानिसको घुइँचो देखिन्छ । कुनै मेला–महोत्तसवले त्यस्तो भीड लागेको होइन । त्यो मदिरा सेवनका लागि जम्मा भएका सर्वसाधारणको घुइँचो हो । भारतमा मदिरा सेवन तथा विक्रीका लागि कडा नियम भएकाले दिनभरि काम सकेर भारतीय साँझपख नेपाली भूमिमा आउने गर्छन् । दिनभर सीमावर्ती बजारमा किनमेलकालागि आउने ग्राहकको भीड हुन्छ । साँझपरेपछि मदिरा सेवनका लागि आउनेको भीड हुन्छ ।

भारतमा मदिरा बेचविखनका लागि सम्बन्धित निकायबाट स्वीकृती लिनुपर्ने नियम छ । यहाँ बिना स्वीकृती मदिरा विक्री हुदै आएको छ । अवैधरुपमा विना दर्ता खोलिएका भट्टी पसलमा नेपालमा प्रतिबन्धित मदिरा खुल्लमखुल्ला विक्री हुने गरेका छन् । यहाँबाट कुलतमा फसेका युवायुवती सिमापारी लागूऔषध किनबेच र सेवनकालागि जाने गरेका छन् । महेशपुरका रामजी केवट भारतीयहरू मदिरा सेवनका लागि मात्र यहाँ आउने गर्छन् । महेशपुर भन्सारभन्दा बिष्णुपुरा, त्रिबेणी भुजहवा, प्रसौनी छोटी भन्सार आसपासमा यस्ता भट्टी पसल बढी सञ्चालनमा रहेका छन् ।

खानेपानी तथा सरसफाईको अभावमा झिंगा भन्किएको भट्टी पसल सञ्चालनमा रहेपनि त्यसको नियमन र सुधारका लागि कहिलेसम्म पहल नभएको स्थानीयको गुनासो छ । स्थानीय प्रशासनले पटकपटक अवैधरुपमा सञ्चालनमा रहेका मदिरा पसल सञ्चालन नगर्न भनेपनि अटेर गरेर पसल सञ्चालन गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीका अनुसार अनुमती विना मदिरा विक्री वितरण भइरहदा एका तर्फ राज्यलाई राजस्व घाटा भइरहेको छ भने अर्को तर्फ सिलबन्दि नगरीएका मदिराको गुणस्तरबारे जानकारी नहुदा प्रयोगकर्ताको स्वास्थ्यमा समेत असर पुगिरहेको छ । बर्दियामा लागू औषधका पूर्व कारोवारीले यस्ता युवाबारे जानकारी दिन थालेपछि सेवनकर्ता पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ । जिल्लास्थित केही पान पसलबाट लागूऔषध कारोबार भइरहेको स्थानीयले बताए ।

प्रहरीका अनुसार यस्ता पशलबाट विद्याथीलाई लागू औषध विक्री हुने गरेको अनुसन्धानबाट खुलेको छ । लागू औषध कारोवारका ‘ट्रान्जिट’ बन्दै गएपछि विशेष अप्रेशन संचालन गरिएको बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । आव ०७४/७५ मा २८ लागूऔषध सेवनकर्ता र बेचबिखनमा संलग्न पक्राउ परेका थिए । आव ०७५/७६ मा बढेर ३२ जना लागू औषधका कारोबारी र सेवनकर्तालाई पक्राउ गरिएको प्रहरीले जनायो । अधिकांश लागू औषधका सेवनकर्ता र बेचबिखनमा संलग्न १८ देखि ४० वर्ष मुनिका छन् ।

चिन्नै मुस्किल
नेपाल–भारत खुला सीमा छ । विवाह, व्रतबन्ध र धार्मिक कामकालागि दिनहुँ सिमावर्ती नागरिक दुइ मुलुकमा ओहोरदोहोर गर्छन् । किनमेल गर्न दिनहु सयौं मानिस सीमा काट्छन् । ओहोर दोहोर गर्नेको भीडमा सुरक्षाकर्मीले दुर्व्यसनी चिन्न सक्दैनन । यहाँ प्रतिबन्धित औषधि भारतमा खुल्लमखुल्ला विक्री हुन्छन् । त्यसैले सीमा पारी गएर सेवन गर्ने र फर्किने गर्छन् । सेवन मात्र गरेको भेटिएमा प्रहरीले कारबाही गर्न सक्दैनन् । कारवाहीकालागि उनीहरूबाट लागूऔषध बरामद हुनुपर्छ । किनमेलको निहुँमा सीमा पारी जाने र चिनी चियापत्ती लिएर फर्किने यस्ता युवाको कारण नियन्त्रणमा आउन नसकेको हो ।

प्रकाशित : आश्विन १७, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?