१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अनुगमनको विरोधमा बजार बन्द

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित महेशपुर बजारमा किनमेलका लागि सधै भीड हुन्छ । दसैंकालागि खाद्यान्न र लत्ताकपडा खरिद गर्नेको बुधबार घुइचो थियो । नेपाली र भारतीय बजारमा गाडीको जाम थियो । व्यस्त बजार एकाएक सुनसान भयो । बजारका सयौँ सटर बन्द भएपछि होहल्ला मच्चियो । किराना पसलदेखी हाटलसम्म बन्द गरेर व्यापारी सडकमा निस्किए । ठूलै आपत परेको जस्तो दृश्य थियो ।

संयुक्त बजार अनुगमन टोलीले स्थानीय एक किराना पसलका सामान जाँच गरेपछि विरोधमा बजार बन्द गरिएको थियो । एकाएक बजार बन्द भएपछि अनुगमन टोलीका सदस्य छक्क परे । पटकपटक चेतावन दिदापनि बिना दर्ता संचालन गर्ने र गुणस्तरमा ध्यान नदिने ४ जनालाई टोलीले नियन्त्रणमा लियो । टोलीको नेतृत्व गरेका जिल्ला प्रशासनका सुचना अधिकारी ज्योतीराज अर्यालले बन्द गरिएका केही पसल व्यापारी बोलाएर खुलाउन लगाए ।


तीनमा जाँच गर्दा नेपालमा प्रतिबन्धित तेल, खाद्य पदार्थ र म्याद गुज्रिएका खाद्यान्न फेला परे । अर्यालका अनुसार महेशपुरमा ९० प्रतिशत भन्दा धेरै पसल बिना दर्ता संचालन गरिएका छन् । ‘अनुगमनकालागि जाँदा पसल बन्द गरेर व्यापारी भाग्न थाले । नियमानुसार चलाएका पसलमा हामीले केही पनि गर्दैनौ,’उनले भने, ‘धमाधम पसल बन्द गरिएपछि उहाँहरूले नियमसंगत संचालन नगरेको बुझियो ।’ उनले नीयम पूरा नगरेका पशल बन्द गरिने बताए ।


अनुगमनका क्रममा पाल्हीनन्दन गाउँपालिकाकै बेलासपुर बजारमा पनि अखाद्य बस्तु र खुल्ला चौरमा मासु विक्री गरेको भेटिएको थियो । त्यहाँ पनि एउटा पसलमा अनुगमन सुरु भएपछि अन्य पसल धमाधम बन्द गरेर व्यवसायी भागे । सिमावर्ती दशगजामा मासु काट्ने लहरै २०/२५ वटा पसल छन । भारतीय कुखुरा दशगजामा ल्याउने र त्यही काटेर बेच्ने गरीन्छ । मरेका कुखुरा काट्ने तथा मासु पसलका लागि न्युनतम आवश्यक पर्ने मापदण्ड र दर्ता पनि नगरी संचालन भएका पसल पनि बन्द भए । उनीहरू अनुगान टोली देखेपछि भारत तर्फ भागेका थिए ।


सीमावर्ती क्षेत्रमा सस्तो मूल्यमा सामान पाउने आशामा टाढाटाढा बाट महेशपुरमा सामान खरिदका लागि नेपाली उपभोक्ता पुग्छन् । ‘व्यवसायी बढी मुनाफा कमाउने तर्फ लाग्ने र उपभोक्ताले पनि सामानको गुणस्तर भन्दा सस्तो खोज्ने हुँदा म्याद गुज्रिएका र अखाद्य सामाग्री छ्यापछ्याप्ती राखिएको रहेछ,’उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष रामचन्द्र पौडेलले भने ,‘बिना दर्ता संचालन र नेपालमा प्रतिबन्धित सामान बिक्रीका लागि राखेको हुदा अनुगमन टोली जादा पसल बन्द गरेर बसेका होलान । अनुगमनलाई निरन्तर गर्न सकीयो भने यो समस्या हट्दै जानेछ ।’ स्थानीय सरकारलाई बजार अनुगमन, दर्ता तथा सुपरिवेक्षणको अधिकार भएपनि बजार अनुगमन गर्न स्थानीय तहले सकेका छैन् ।


जिल्ला प्रशासनको टोली जाँदा आफ्ना प्रतिनिधि पठाउने बाहेक आफ्नै योजनामा प्रभावकारी बजार अनुगमन गर्न जनप्रतिनिधी डराउँछन् । बर्दघाट नगरपालिकाका प्रबक्ता रविन्द्र विक्रम हमालले मासु पसल दर्ताको मापदण्ड, व्यवसाय दर्ता र अनुगमन समिति गठन भएकाले आन्तरिक रुपमा पनि अनुगमन भइरहेको बताए । ‘हामीले आफ्नै तरीकाले अनुगमन गरीरहेका छौ । जिल्लाले पनि गरीरहेको छ,’उनले भने,‘केही नितीगत कुराहरू निमार्णको क्रममा भएकाले बिस्तारै अनुगमनलाई तिब्रता दिईनेछ ।’अधिकासं स्थानीय तहले बजार अनुगमनको कार्यविधि बनाएका छैनन् ।’

प्रकाशित : आश्विन १७, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?