हाटबाटै बिक्री

अमृता अनमोल

(बुटवल) — सधैंजसो तरकारी, फलफूल बेच्ने यहाँका हाटबजारमा दसैंको रौनकसँगै खसीबोकाको व्यापार बढेको छ  । उपभोक्ताहरू मोलतोल गरेर खसीबोका किन्ने र डोर्‍याएर लैजाने गरेका भेटिन्छन्  ।

हाटबाटै बिक्री

यहाँको सुक्खानगरका हरिप्रसाद पौडेल बुधबार हाटबजारमा भेटिए । केहीबेर बजार छेउमा राखिएका खसीबोका घोरिएर हेरे । त्यसपछि मोलतोल गर्न थाले । करिब २० किलोको कालो बोका रोजे । १७ हजार ५ सय रुपैयाँ दिए । यसपछि बोका डोर्‍याउँदै पौडेल हिंडे । ‘छोराको जागिरका लागि देवीको भाकल थियो । भाकल पूरा भएकाले यही अष्टमीमा चढाउने विचार छ,’ उनले भने, ‘त्यसैले कालो बोका किनेको हुँ ।’

नवदुर्गा सुरु भएसँगै रूपन्देहीमा खसीबोका खपत बढेको छ । दसैंमा देवीदेउताका नाममा बोका चढाउने प्रचलन छ । भाकल गर्नेले पूरा भएपछि र भाकल नगर्नेले इच्छाअनुसार शक्तिपीठमा बोका चढाउँछन् । परिवार ठूलो हुने र मासुका सोखिनले जिउँदो खसीबोका किन्ने र सिंगै काट्ने चलन छ । यसले खसीबोका खपत बढेको हो । देवीनगर चौतारीका रत्नसिंह थापा पनि हाटबजारमा भेटिए । उनी सेतो बोकाको खोजीमा थिए । केही बेरमा फेला पर्‍यो । करिब २५ किलोको बोका २३ हजार रुपैयाँमा खरिद गरे । ‘दसैंका बेला यसै महँगो भन्छन् । त्यसमाथि एक रंगको बोका किनिहाल्छन् भनेर हजार पन्ध्र सय बढी भन्छन्,’ रत्नसिंहले भने, ‘खान पनि हुने र एक रंगको बोका देवीलाई चढाउँदा फल पनि पाइने आशमा यस्तो रोजेको हुँ ।’

अघिल्लो वर्षसम्म दसैं सुरु भयो कि भारतीय बजारबाट खसीबोका ओइरिन्थे । व्यापारीहरूले आफ्नै पसल वा पशु हाटमा मात्रै खसीबोका बेच्थे । गत वर्षदेखि सरकारले भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि त्यताबाट आउन रोकिएको छ । यसले गर्दा गाउँगाउँका किसान सीधै खसीबोका डोर्‍याएर बुटवल र आसपासको बजार झरेका हुन् ।

किसान आफैं हाटबजारमा आएर आफ्ना खसीबोका बेच्न थालेका छन् । किसानबाट सीधै किन्न पाइने भएकाले उपभोक्ता पनि खसीबोका किन्न हाटबजार धाएका हुन् । ‘दुई सय बढी नै तिरे पनि दुःख गरेर बाख्रा पाल्ने र हुर्काउने किसानको हातमा जाओस् भन्ने लाग्यो,’ देवीनगर हिमचुली पथकी कल्पना पन्थीले भनिन्, ‘त्यसैले खसी किन्न हाटबजारमै आएका हौं ।’

यहाँको हाटबजारमा खसीबोका बेच्नेमा पाल्पा, अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीका ग्रामीण भेगका किसान धेरै भेटिन्छन् । रोल्पा, रुकुम, दाङ र सुर्खेततिरका केही व्यापारीले पनि खसीबोका ल्याएका छन् । त्यहाँका केही सहकारी र कृषि उत्पादन संघले यहाँका मासु व्यवसायीको सहयोग र सम्झौतामा खसीबोका पालेका छन् । मासु व्यवसायी निरज शर्माले उत्पादनको सुरुवातदेखि नै लगानी गरेका व्यवसायीले बिक्रीयोग्य भएलगत्तै त्यहीं पुगेर ढुवानी गर्ने गरेको बताए ।

मासु व्यवसायी संघ रूपन्देहीका अनुसार जिल्लामा अन्य समयमा दैनिक पाँच सय खसीबोका उपयोग हुन्थ्यो । फूलपातीबाट भने यो खपत बढेर एक हजार पुगेको छ । त्यसमा दैनिक एक हजारभन्दा बढी जिउँदो खसीबोका किसानले सीधै उपभोक्ताकहाँ पुर्‍याएका छन् । मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण पौडेलले हरेक वर्ष दसैंमा खसीबोका कारोबार बढेको बताए ।

प्रकाशित : आश्विन १६, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?