बाघको आक्रमणमा महिलाको मृत्यु

कमल पन्थी

बर्दिया — सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघको आक्रमणमा परेकी एक महिलाको मृत्यु भएको छ । बासगढी नगरपालिका–२ राँझाकी ४२ वर्षीया गंगा सलामीमगरको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

बाघको आक्रमणमा महिलाको मृत्यु

सोही दिन दिउँसो उनी बाख्रा चराउन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको स्वर्गद्वारी सामुदायिक वनमा गएकी थिइन् । बाख्रालाई झम्टँदा उनले प्रतिकार गरेको हुन सक्ने स्थानीयको अनुमान छ ।


हात र अनुहारमा चोट लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारार्थ कोहलपुर पठाइएको थियो । बाघले दुईवटा बाख्रा पनि मारेको छ । निकुञ्जसँग जोडिएको उक्त सामुदायिक वनमा बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोलीसहित सुरक्षाकर्मी पठाइएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


केही समययता निकुञ्जबाट आहाराको खोजीमा बाहिर निस्कने बाघले एक वर्षयता ५ जनाको ज्यान लिइसकेको छ । उक्त अवधिमा ६ जना घाइते भएका छन् ।

प्रकाशित : आश्विन १५, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?