३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ज्येष्ठ नागरिकको चिन्ता : हराउँदै संस्कार

अमृता अनमोल

(बुटवल) — पुरानो बजार बटौलीको बीचमा छ नारायण मन्दिर  । मन्दिरकै अगाडि १ सय ५ वर्षीया सेतीलक्ष्मी श्रेष्ठको घर छ  ।

ज्येष्ठ नागरिकको चिन्ता : हराउँदै संस्कार

बिहान १० बजेतिर त्यहाँ पुग्दा सेतीलक्ष्मी खाटमा बसेर बत्ती कात्दै थिइन् । नजिकै तीन नातिनीबुहारी बसेर उनका कुरा सुन्दै थिए । ‘नवरथा सुरु भएको छ । अरुबेला भन्दा धेरै धुपबत्ती गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले खाना खानासाथ बत्ती कात्न थालेकी हुँ ।’ सेतीलक्ष्मी हात खाली राख्दिनन्, कहिले बत्ती कात्छिन् त कहिले पात गाँसेर दुना टपरी बनाउँछिन् । बत्ती र दुनाटपरी आफन्तकहाँ समेत पठाउँछिन् । ‘अहिले चाडबाड आउँदा रमाइलो बढी गर्छन् ।

पहिलेजस्तो घरपरिवार, भगवान् र संस्कार सम्झदैनन्,’ उनले भनिन्, ‘मेरो परिवार त्यस्तो नहोस् भनेर सिकाउँदैछु । बाँचुन्जेल यही गरिरहन्छु ।’

उनी चाडबाड र कसैको जन्मदिन आयो कि रमाउँछिन् । घरपरिवार सबैको जन्मदिनमा उनी आफैंले भगवान्को पूजा गरेर धुपबत्ती बाल्छिन् । टीका लगाएर दीर्घायुको कामनासहित अण्डा, माछा, लसुन र अदुवा सगुन दिन्छिन् । ‘नेवार संस्कारमा हरेक चाडबाड र अवसरमा सगुन दिने चलन रहेछ,’ उनकी ठूली नातिनीबुहारी तृष्णा श्रेष्ठले भनिन्, ‘अजीले सबै सिकाउनुभएको छ ।’ पाल्पाको तानसेनमा जन्मेकी सेतीलक्ष्मीको ११ वर्षमै बिहे भयो । २० वर्षमै पति बिते ।

एक्ला छोरा थिए । आफू ७० वर्षकी पुग्दा ६ महिना अन्तरमा छोराबुहारी पनि गुमाइन् । उमेरले नेटो काटे पनि उनलाई अहिलेसम्म अस्पताल लैजानुपरेको छैन । सय वर्ष पुगेपछि उनको रथारोहण गरियो । त्यसपछि पारिवारिक बोझ उठाउन छाडेकी छन् । ‘अहिले धर्म र संस्कार कसरी मान्ने, कसरी राम्रो मान्छे बन्ने भन्ने कुरा गरेर हामीलाई उत्प्रेरणा दिनुहुन्छ,’ नातिनीबुहारी तृष्णाले भनिन्, ‘उहाँको अर्ती सुन्न वरपरका छिमेकी र आफन्त आउनुहुन्छ ।’

नारायण मन्दिरनजिकै वसन्तपथमा अर्का वृद्ध छन्, चन्द्रभान शाक्य । ८९ वर्षीय चन्द्रभानमा बुढ्यौलीपन देखिंदैन । ठमठमी हिंड्छन् । चस्मा नलगाई किताब खरखरी पढ्छन् । बोलीमा लरबर छैन । बिहान ६ बजे उठेर टोलको एकफन्को लगाउँछन् । एक घण्टा योगा र ध्यान गर्छन् । त्यसपछि नुवाइधुवाइ गर्छन् । बुद्ध संस्कार अनुसार पाठ गर्छन् । ‘अहिले संस्कार हराउँदैछ । नयाँ पुस्तामा नैतिकता र अनुशासन पनि हराएको छ । आफ्नो अर्को बिर्सेका छन्,’ उनले भने, ‘आफ्नो सेखपछि नातिनातिनीले पनि संस्कार सिकून् भनेर सधैं बुद्धपाठ गर्छु ।’ उनी कि किताब पढ्छन् कि आसपासका केटाकेटी जम्मा गरेर कथा सुनाउँछन् । ‘अहिले संयुक्त परिवार छैन । बाआमालाई आदर्श र ज्ञानका कुरा सुनाउने फुर्सद छैन,’ चन्द्रभानले भने, ‘यही पिरलोले टोलका केटाकेटीलाई कथाका माध्यमबाट आफ्नो संस्कार, परम्परा, नैतिकता, आदर्श र अनुशासन सिकाउने गरेको छु ।’

भारतको सिलाङमा जन्मेका चन्द्रभान ११ वर्षमा पुर्खौली घर बाग्लुङ फर्के । व्यापार गर्ने क्रममा ००८ सालमा बुटवल झरेपछि यतै बसेका हुन् । उमेरमा उनले यहाँ व्यापार र परोपकारको संस्था नै खोलेर काम गरे । बुटवलमा सबैभन्दा पहिले आफूले मिल खोलेको उनले बताए । दाउरे टोलमा आफ्नो तोरी र अन्न कुटानी पिसानी मिल खुलेपछि भारतीय व्यवसायी आफ्नो मिल बोकेर फर्केको उनले सुनाए ।

ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी हुन् । उनीहरूका हरेक कुरामा नैतिकता र अनुशासन जोडिएको हुन्छ । तर, धेरै नयाँ पुस्ता उनीहरूका कुरा सुन्न खोज्दैनन् । सूचना र प्रविधिको विकासले उनीहरू त्यतै रम्छन् । यसले कर्तव्य सम्झने, ठूलाको आदर गर्ने, सानालाई माया गर्ने बानी हराउँदै गएको छ । बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँका ८७ वर्षीय हरिप्रसाद क्षत्रीले यस्तो चलनले ज्येष्ठ नागरिक एक्लिएको बताए । ‘दिनभरि अफिस जान्छन् । घरमा हुँदा मोबाइल र फेसबुक चलाएर बस्छन्,’ उनले भने, ‘घरभरि छोराछोरी र नातिनातिना भए पनि हामीसित बोल्ने र दुःखसुख साट्ने कोही हुँदैनन् ।’

आफ्नै परिवारसित दुःखसुख बाँड्न नपाउँदा विरक्त लाग्ने र एकलकाँटे स्वभाव आउने उनले बताए । ‘पहिले घरमा पाहुनापाछा आउँदा वरिपरि मान्छे बसेर सुखदुःख गरिन्थ्यो,’ उनले भने, ‘अहिले सबैजना मोबाइल र टिभीमा भुल्छन् । ’

प्रकाशित : आश्विन १५, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?