कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

झुम्सा–सिद्धबाबा–चिडियाखोलाको पीडा : खाल्डाखुल्डी पुर्दा झन् हिलो

भूतखोलामा झन्डै ८० मिटर र सिद्धबाबा क्षेत्रमा तीन स्थानमा सडकको छेउ भासिएको छ जहाँ ५ करोड बढी खर्च पनि भइसक्यो
माधव अर्याल

(दोभान, पाल्पा) — झन्डै १० वर्षदेखि मर्मत नभएको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ ३, दोभानको झुम्सा–सिद्धबाबा–चिडियाखोला खण्डका खाल्डाखुल्डी पुर्दा झन् हिलाम्मे भएको छ  । खाल्डाखुल्डी पुरेकै समयमा पानी परेपछि हिलाम्मे भएको हो  । मोटरसाइकल र साना सवारीसाधन चलाउनै समस्या हुने सवारी चालक सुमीत कुँवर बताउँछन् । ‘पहिला खाल्डैखाल्डा थिए, अब हिलो छ,’ उनले भने, ‘घाम लागेपछि पूरै धूलाम्मे हुन्छ ।’

झुम्सा–सिद्धबाबा–चिडियाखोलाको पीडा : खाल्डाखुल्डी पुर्दा झन् हिलो


दसैं नजिकिएसँगै सडक सुधारका लागि चिडियाखोला झुम्सा हुँदै सिद्धबाबासम्मको ९ किमि खण्ड मर्मत सुरु गरिएको डिभिजन प्रमुख केदार नेपालले बताए । भूतखोलादेखि सिद्धबाबा क्षेत्रसम्मको सडक वर्षा र पहिरोले जीर्ण छ । सवारी आवागमनमा समस्या भएपछि मर्मत तीव्र बनाइएको उनले बताए । ४ टिपर, २ लोडर, १ रोलर र एक ग्रेडरले सडक मर्मत गरेका हुन् । अहिले दिनहुँजसो वर्षात् भइरहेकाले सडक मर्मत प्रभावित भएको छ । खाल्डाखुल्डी पुर्ने र सडक मर्मत कार्य भए सुरु गरे पनि वर्षाले गुणस्तर सुधार हुन नसकेको यात्रु रवि विष्टले बताए । ‘खाल्डाखुल्डीले यो क्षेत्र पार गर्न मोटरसाइकलमा झन्डै १ घण्टा लाग्थ्यो,’ उनले भने, ‘अब धूलाम्मेभएर हैरानी खेप्नुपर्छ ।’
सडक डिभिजन कार्यालयले ८ वर्षअघि सडकमा कालोपत्रेलगायत स्तरोन्नतिका लागि १० करोडको ठेक्का लगाएको थियो । निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको हो । मोड काट्ने, कालोपत्रे गर्नेलगायत कामका लागि ठेक्का भएको थियो । ठेकेदारलाई कारबाहीसमेत भएको छैन । ‘ठेक्का लागेको काम नहुँदा अहिलेसम्म हामीलाई समस्या भएको छ,’ डिभिजन सडक प्रमुख नेपालले भने, ‘असोज मसान्तसम्म उसलाई काम गराउने योजनामा छौं ।’
यो खण्डमा कालोपत्रे देख्नै मुस्किल छ । खाल्डाखुल्डी, सडक भासिने, पहिरो खस्ने क्षेत्र पनि यही हो । भूतखोलामा झन्डै ८० मिटर सडक भासिएको छ । सिद्धबाबा क्षेत्रमा तीन स्थानमा सडकछेउ भासिएको छ । ५ करोड बढी खर्च भइसके पनि अहिलेसम्म सुधार आएको छैन । तिनाउ गाउँपालिका ३, दोभानका विष्णुप्रसाद पाण्डेयका अनुसार मर्मत गरेको सडक पनि ६ महिना टिक्दैन । झुम्सा पुललेखि चिडियाखोलासम्म मर्मतमा पनि लापरबाही छ ।
बर्सेनि सिद्धबाबा क्षेत्रमा पहिरो र खस्ने ढुंगाले मानवीय र भौतिक क्षति हुने गरेको छ । यही खण्डमा मर्मतका नाममा बर्सेनि करोड बढीको बजेट विनियोजन हुन्छ । करोडौंको भौतिक क्षति र यात्रुले ज्यान गुमाउने गरेका छन् । सडक स्तरोन्नति गर्ने तथा सडकको वैकल्पिक मार्ग निर्माणमा भने सरोकारवाला निकायले काम नगर्दा यात्रु जहिलेसुकै मारमा परेका हुन् । हिउँदमा धूलो, वर्षामा हिलो र बाह्रै महिना पहिरोको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको तिनाउ ३ का यात्रु विनोद बस्यालले बताए ।
रामपुरका यात्रु यमबहादुर पचभैयाले गन्तव्यमा पुग्नु र काम सम्पन्न गर्नुभन्दा सिद्धबाबा पार गरेपछि घरमा ढुक्क हुने बताए । सिद्धबाबा क्षेत्रमा रकनेट, रकसेड, सुरुङमार्गको सपना देखाएको धेरै भयो । तर, सधैंभरि यात्रुले भने सास्ती खेप्दै आएका छन् । दैनिकजसो पहिरो खस्ने समस्याले गर्दा प्रहरी चौकी दोभानले चौबीसै घण्टा यस क्षेत्रमा निगरानी बढाएको छ । दोभान प्रहरी चौकीको मुख्य कामै सिद्धबाबा क्षेत्रमा सुरक्षा दिने भएको चौकीका प्रमुख बालबहादुर घर्तीले बताए । ‘हामीलाई जतिबेला पनि सतर्क भएर बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘राति, दिउँसो, घामपानी जतिसुकै बेलामा पनि पहिरो खस्ने समस्या छ ।’

प्रकाशित : आश्विन १५, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?