दसैं सुरक्षा : चौबीसै घण्टा सजग

प्रहरीले नेपाल आएका प्रत्येक भारतीय नम्बरका सवारीसाधनको चालकसहितको लगत अलग्गै राख्न सुरू गरेको छ
माधव ढुंगाना

(भैरहवा) — चाडपर्वका बेला यात्रा गर्दा समस्या परेको र असुरक्षित महसुस गरिरहनुभएको छ भने अब आत्तिनु पर्दैन । समस्या परे गाडी रोकेर प्रहरी चौकी पनि खोज्नु नपर्ने भएको छ । यात्राका क्रममा सुरक्षाकर्मीको टोली पनि तपाईंसँगसँगै परिचालन हुने भएको छ ।

दसैं सुरक्षा : चौबीसै घण्टा सजग

दसैं, तिहार र छठका बेला यात्राका क्रममा भीड हुन्छ । त्यस्तो मौका छोपेर विभिन्न अपराधजन्य गतिविधि पनि हुने गर्छन् । यात्रु सास्ती र हैरानी खेप्दै यात्रा गन बाध्य हुन्छन् । बैंक तथा वित्तीय संस्था र गहना पसलमा आउने ग्राहकलाई लुट्न लुटेराले अनेक योजना बुनिरहेका हुन्छन् । यिनै कुरालाई मध्यनजर गर्दै अहिले प्रदेशका विभिन्न जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यक्रम सञ्चालन गरिएको छ ।


यहाँस्थित संघीय प्रहरी एकाइ कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन आचार्यले चाडपर्वका बेलामा यात्रुमाथि हुन सक्ने असुरक्षालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा सुरक्षा कार्यक्रम लागू गरिएको बताए । ‘समस्या पर्नासाथ सुनुवाइ र समाधान हुने गरी सुरक्षा व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘समस्यामा परेको जोकोही यात्रुले जुनसुकै स्थानमा भेटिएका सुरक्षाकर्मीलाई निर्धक्कसाथ आफ्ना समस्या राख्न सक्छन् ।’ यहाँका हरेक बसपार्क, भारतसँगको नाका र राजमार्ग क्षेत्रमा यात्रुको सुविधाका लागि हेल्प डेस्क स्थापना गरिएका छन् । चौबीसै घण्टा सुरक्षाकर्मीको तैनाथी रहने डेस्कमा गाडीवाला, रिक्सावाला, अटोवालाले बढी भाडा लिएको, गाडीमा कोचाकोच गरेर यात्रा गराएको, दुर्व्यवहार गरेको, पकेटमारी, चोरीलगायत समस्या राख्न सक्छन् ।


यात्रुको समस्या जानकारीमा आउनासाथ तत्कालै त्यही स्थानका सुरक्षाकर्मी पारिचालित हुनेछन् । त्यसबाहेक माथिल्लो तहको जवाफदेही टिमको पनि गठन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर सीमा नाका र बजारमा हुन सक्ने विभिन्न अनियमितता रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘चोरी, पाकेटमारी, नसालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, निर्धारित दरभन्दा बढी भाडा असुल्ने, दलाल र गाडीवालाले यात्रुको इच्छाविपरीत जबरजस्ती तानातान गर्ने, बसको टिकट दिंदा एउटै सिटको दोहोर्‍याएर टिकट काट्ने र बीच बाटोमा मिलाइदिने भन्दै उभ्याएर कष्टकर यात्रा गराउने काम तुरुन्तै रोकिनेछ,’ उनले भने, ‘झोलाको अलग्गै भाडा असुल्ने, सिटभन्दा धेरै यात्रु राख्ने, तीव्र गतिमा गाडी चलाउने र गुनासो गरेमा यात्रुलाई गालीगलौज र दुर्व्यवहार गर्नेलाई पनि ठाउँको ठाउँ कारबाही गरिनेछ ।’


रूपन्देहीमा चाडपर्वका लागि ७ सय ९१ जना नेपाल प्रहरीतर्फका सुरक्षाकर्मीको परिचालन गरिएको छ । दसैंको बढ्दो चहलपहलसँगै ठाउँठाउँमा सुरक्षाकर्मी भेटिन्छन् । भारतसँगको खुला सिमाना र बेलहिया नाकामा सुरक्षा सजगता बढी अपनाइएको छ । विगतका धेरै आपराधिक घटनामा भारतीय नम्बरका सवारीसाधनको संलग्नता भएको पाइएकाले नेपाल आउने त्यस्ता सवारीसाधनमाथि बढी निगरानी गर्न थालिएको रूपन्देहीका एसपी हेमकुमार थापाले बताए । बैंक र गहना पसल आसपास क्षेत्रमा बसिरहने व्यक्तिको सादा पोसाकमा परिचालित सुरक्षाकर्मीले रेकी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।


‘खुला सिमानाको फाइदा उठाउँदै भारतीय नम्बरका सवारीसाधनबाट हुन सक्ने अपराधप्रति सजगता अपनाएका छौं,’ एसपी थापाले भने, ‘नेपाल आएका प्रत्येक भारतीय नम्बरका सवारीसाधनको चालकसहितको लगत अलग्गै राख्न सुरु गरेका छौं ।’ बेलहियाका अतिरिक्त धकधही, लुम्बिनी र मर्चवार क्षेत्रबाट नेपाल आउने गरेका भारतीय सवारी साधनको लगत राख्न थालिएको उनले जनाए । भारतीय मोटरसाइकलप्रति सुरक्षा निगरानी बढाइएको छ । भन्सार सुविधा बनाएपछि २४ घण्टासम्मका लागि नेपाल नजिकका बजारसम्म भारतीय सवारीसाधन आउन पाउने प्रावधानले नेपालतर्फ सुरक्षा चुनौती बढ्न थालेको छ । आपराधिक घटनामा भारतीय मोटरसाइकलको प्रयोग बढ्दो छ ।

भारतीय सवारी साधनको लगत राख्न थालिएपछि बेलहिया नाका हुँदै नेपाल आउने भारतीय मोटरसाइकलमा कमी आउन थालेको छ । दैनिक पाँच हजारभन्दा धेरैको संख्यामा भारतीय मोटरसाइकल बेलहिया नाकाबाट नेपालतर्फ आउने गरेकामा अहिले ६० प्रतिशतले कमी आएको एसपी थापाको दाबी छ ।


चाडपर्वका बेलामा राजमार्गमा चल्ने लामो दूरीका रात्रिबस र अन्य सवारी साधनलाई पनि सुरक्षित बनाउन हतियारसहितका सुरक्षाकर्मीको परिचालन गर्न थालिएको छ । थापाका अनुसार जंगल र सुनसान क्षेत्रमा पेट्रोलिङ गस्ती सञ्चालन गरिएको छ । हतियारसहितका सुरक्षाकर्मी एउटा बसबाट यात्रा गर्दै अर्को स्थानमा पुग्ने र अर्को बसबाट फिर्ता आउनेछन् । रातभरि यो प्रक्रिया दोहोरिइरहनेछ ।


प्रकाशित : आश्विन १४, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?