१ घण्टाको बाटो २० मिनेटमै

गिरुप्रसाद भण्डारी

(प्यूठान) — प्यूठान नगरपालिका ४, बिजुवारदेखि जुम्रिकाँढाको ढुंगेठाँटी जोड्ने करिब ७ किमि सडक सुधार गरिएको छ । सडक स्तरोन्नतिपछि दसैं मनाउन घर आउनेलाई सहज भएको छ । राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) अन्तर्गत आवधिक मर्मत कार्यक्रममार्फत ७९ लाख ३३ हजार ५ सय ६१ रुपैयाँ लागतमा सडक सुधारको काम भएको इञ्जिनियर लोकप्रसाद विष्टले बताए ।

१ घण्टाको बाटो २० मिनेटमै

‘सडक निर्माणमा कतै समस्या छैन,’ उनले भने, ‘तसर्थ, तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य पूरा हुनेछ ।’ ढुंगेठाँटी हुँदै पूर्वी रोल्पाको सुलीचौरलाई यो सडकले जोडेको छ ।


रोल्पा र प्यूठानका स्थानीयले सडकबाट फाइदा लिएका छन् । दुई जिल्लाको मुख्य बजार जोड्ने सडक वर्षौं ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए । सधैं वर्षामा खाल्डाखुल्डीले हिलाम्य भएर सास्ती धेरै भएपछि स्थानीयले सडक सुधारको माग गर्दै आएका थिए । सडकमा बजेट परेर राम्रो भएपछि यस क्षेत्रका स्थानीय खुसी छन् । ‘सडक बिग्रेका कारण निकै दुःख पाएका थियौं,’ प्यूठान ६, माझकोट ढुंगेठाँटीका पूर्णबहादुर गयलमगरले भने, ‘अहिले धेरै राम्रो भएको छ ।’


पहिले बिजुवारबाट ढुंगेठाँटी पुग्न गाडीमा एक घण्टा लाग्नेमा अहिले १५/२० मिनेटमै पुग्न सकिने उनले बताए । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको असेर, तेबाङ, मिझिङ र प्यूठान नगरपालिकाको जुम्रिकाँढा, माझकोट, स्वर्गद्वारी नगरपालिकाका बेल्वास, सारी, बर्जीबाङ क्षेत्रका बासिन्दालाई सहज हुने प्यूठान ५ का वडाध्यक्ष लछुमन भण्डारीले बताए ।


प्रकाशित : आश्विन १३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?