२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश जोडेर पर्यटन विकासमा जोड

माधव ढुंगाना

भैरहवा — पर्यटन दिवसको अवसरमा शुक्रबार गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल र प्रदेश ५ का लीला गिरीलााई भ्याइ–नभ्याई थियो ।

प्रदेश जोडेर पर्यटन विकासमा जोड

लम्साल प्रदेशका बासिन्दालाई आफ्नोमा घुम्ने निम्तो बाँड्न बिहीबार जम्बो टोलीसहित आएका थिए । यहाँका मन्त्री गिरी विभिन्न कार्यक्रममा सहभागी भएर पर्यटन विकासमा अग्रसर भएर पाहुना आकर्षित गर्न सक्रिय रहेको संदेश बाँडिरहेका थिए ।


शुक्रबार बिहानैदेखि दुबै एकसाथ विभिन्न प्रचारात्मक कार्यक्रममा सहभागी भइरहेका थिए । उनीहरूले पर्यटन विकासमा कुनै सीमा लागू नहुने बताए । प्रदेश ५ ले विभिन्न स्थानमा दिवस पारेर गन्तव्यको प्रचारात्मक कार्यक्रम गर्‍यो । गण्डकी प्रदेश मुलुकका विभिन्न पर्यटकीय गन्तव्यमा पुगेर आफ्ना रमणीय स्थानको प्रचारमा जुटिरहेको छ ।


गण्डकीबाट आएको करिब १ सय जना विभिन्न क्षेत्रका सरोकारवाला सहभागी टोली बिहीबार साँझ भैरहवा पुगेको थियो । त्यहाँका होटल व्यवसायीको आतिथ्यमा बसेको उक्त टोलीले शुक्रबार बिहान बेलहिया नाका र भैरहवा बजारमा पर्यटन प्रबर्द्धनका कार्यक्रम गर्‍यो । त्यहाँ बाजागाजा सहित र्‍याली निकालिएको थियो ।


र्‍यालीमा दुबै प्रदेशका मन्त्री, पर्यटन व्यवसायी र सर्वसाधरण सहभागी थिए । शुक्रबार अपराह्न प्रदेश राजधानी बुटवलमा प्रवर्द्धन कार्यक्रम भयो । त्यस क्रममा यहाँ पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम एवं छलफल आयोजना गरियो । बुटवलको राजमार्ग चौराहामा गण्डकी प्रदेशका कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।


त्यसमा कलाकार प्रजापती पराजुली, प्रकाश सपुत, रामजी पौडेललगायतले प्रस्तुति दिएका थिए । उनीहरूले गण्डकी प्रदेशका पर्यटन क्षेत्र र संरचनालाई जोडेर गीत सुनाए । पर्यटन प्रवर्द्धन गर्ने गीत र संगीतले विश्व पर्यटन दिवसमा रौनकता प्रदान गरेको थियो ।


प्रत्येक वर्षजस्तै शुक्रबार बिहान भैरहवाको बेलहिया नाका हुँदै आउने पहिलो पर्यटकलाई दुवै प्रदेशका उद्योग पर्यटन वन तथा बातावरणमन्त्रीले स्वागत गरेका थिए । पर्यटकको स्वागत गर्दै मन्त्रीले दुवै प्रदेशका पर्यटकीय स्थललाई पूर्वाधारले जोड्नुपर्नेमा जोड दिए । प्रदेश ५ को लुम्बिनी र गण्डकीको पोखरा दुवै अथाह पर्यटकीय सम्भावना भएका सहर भएको उनीहरूको भनाइ थियो । यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिन्छ ।


मुलुकमा स्थल मार्गबाट धेरै पर्यटक आउने यो प्रमुख नाका हो । ‘पर्यटकीय गन्तव्यका लागि गण्डकी र प्रदेश ५ ले आपसी सहकार्य गरेर अघि बढ्नु जरुरी छ,’ गण्डकीका पर्यटनमन्त्री लम्सालले भने, ‘पर्यटन विकासका लागि कुनै सीमा नराखौं ।’ पोखरा र गण्डकी प्रदेशमा आएका पर्यटकलाई फर्किंदा लुम्बिनी र प्रदेश ५ को भ्रमण गराउन र यसैगरी लुम्बिनी आएका पर्यटकलाई पोखरा घुम्ने अनुकूल भुमिका दुवै प्रदेशले बनाउनुपर्ने उनले बताए ।


प्रदेश ५ का पर्यटनमन्त्री गिरीले दुई प्रदेशलाई पर्यटकीय पूर्वाधारले जोड्ने गरी धमाधम संरचना निर्माण भइरहेको बताए । भैरहवा र पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि नेपालकै पर्यटकिय विकासमा अर्को नयाँ आयाम थपिने उनको भनाइ छ । दुई सहरलाई जोडेको सिद्धार्थ राजमार्गलाई पनि विस्तार गरेर चार लेनको बनाउने प्रक्रिया सुरु भएको छ । सुनौली नाका हुँदै शुक्रबार पहिला नेपाल प्रवेश गरेका दुई पर्यटकलाई सम्मान गरिएको छ । स्थलमार्गबाट नेपाल भ्रमणमा आएकी युक्रेनकी रोमानेन्को माहन्त र भारतको दिल्लीबाट आएका आयुष कपुरलाई स्वागत गरिएको हो ।


यसैगरी बिहीबार ‘गण्डकी पर्यटन प्रवर्द्धन’ अभियान अर्न्तगत पाल्पामा पनि गण्डकी प्रदेश भ्रमणको निम्तो दिइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेतृत्वको कलाकारसहितको टोलीले सांस्कृतिक कार्यक्रमसहित पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो गरेका हुन् ।

प्रकाशित : आश्विन ११, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?