प्रविधिमा रमाउँदै किसान

प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा किसानले ३२ हजार ५ सय रुपैयाँ मात्र लगानी गरी हाते ट्र्याक्टर लिए
गिरुप्रसाद भण्डारी

(प्यूठान) — प्यूठान नगरपालिका ८, खप्रेङखोलाकी विपना भण्डारीलाई हाते ट्र्याक्टर लिएपछि तरकारी खेती गर्न निकै सजिलो भएको छ  । पसिनैपसिना भएर खन्नुपर्ने वा महँगा हली–गोरु बेसाउनुपर्ने झन्झट हटेको छ  ।

प्रविधिमा रमाउँदै किसान

ट्र्याक्टर ल्याएपछि उनले आफ्नो मात्र नभएर छिमेकीको खेतबारी जोतेर समेत आम्दानी गर्न थालेकी छन् । ‘हाते ट्र्याक्टर ल्याएपछि खेतीपाती गर्न सजिलो भएको छ,’ उनले भनिन्, ‘बर्खा र हिउँद जुनसुकै बेला पनि खटट्ट् जोत्न सजिलो छ ।’

ट्र्याक्टर लिएपछि ५ रोपनी लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको विपनाका पति गणेशले बताए । ‘आफ्नो काम सकेर बोलाएका बेला जोत्न जाने गरेका छौं,’ उनले भने, ‘यसले थप आम्दानी भएको छ ।’ गाउँमा सबैले गोरु पाल्न छाडेकाले ट्र्याक्टरको महत्त्व र माग बढ्दै गएको उनले बताए । ‘खनजोतको काम सबै यसैले गर्छ,’ ट्र्याक्टरले जोत्दै गर्दा भेटिएकी विपनाले रोकेर भनिन्, ‘अरु खेताला नै चाहिंदैन ।’

विशेष गरेर अन्तरबाली लगाउँदा धेरै सजिलो भएको उनले बताइन् । उनीहरूले गएको असारमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा ३२ हजार ५ सय रुपैयाँ लगानी गरेर हाते ट्र्याक्टर लिएका हुन् । ट्र्याक्टर लिंदा लागेको खर्च लगभग उठाइसकेको विपनाले बताइन् । प्यूठान नगरपालिका–८, खप्रेङखोलाको बृहत् साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध अन्य किसानले पनि हाते ट्र्याक्टर लिएर नयाँ प्रविधिमा रमाउँदै छन् । यहाँ धेरै किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उनीहरूलाई आधुनिक प्रविधिले धेरै सहज भएको स्थानीय माधवराज भण्डारीले बताए । उनका अनुसार गाउँमा सीता पण्डित, सन्तोष जीसी, यशोदा शर्मालगायत किसानले अनुदानमा हाते ट्र्याक्टर लिएका छन् ।

‘दिनभरि हल गोरु लाग्ने मेलो ट्र्याक्टरले केही घण्टामै सक्छ,’ स्थानीय किसान कमल गिरीले भने, ‘धान रोप्ने, गहुँ छर्नेदेखि आलु रोप्नसमेत ट्र्याक्टरको भर भएको छ ।’ उनले ट्र्याक्टरले खेतबारी जोताउँदा छिटो र सस्तो पर्ने गरेको बताए । गाउँमा खेती गर्नका लागि आधुनिक प्रविधिको प्रयोग नौलो नभएको उनले बताए । ‘हल गोरु पाल्न धेरै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘ट्र्याक्टरले धेरै सहज बनाएको छ ।’ धान झार्ने, मकै नंग्याउने, छोडाउनेसम्मका मेमिन गाउँमा भित्रिएको उनले बताए । आधुनिक प्रविधि प्रयोग गर्न प्यूठानका किसान निकै हौसिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । प्यूठानमा स्थानीय तह र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चाँपकटरलगायत कृषि औजार १ सय ९७ कृषि समूहलाई वितरण गरिएको कृषि ज्ञानकेन्द्र दाङका कृषि अधिकृत टोपबहादुर थापाले बताए । ‘आधुनिक कृषि प्रविधिमा किसान रमाउँदै छन्,’ उनले भने, ‘महिला समेत सँगसँगै लागेका छन् ।’

१ सय २७ कृषि फर्म समूहलाई गएको वर्ष कृषि अनुदानको प्रविधि वितरण गरिएको पृथिवी एग्रोभेट सेन्टर टिकुरीका सञ्चालक वासुदेव थापाले बताए । ‘हामीले वितरण गरेका सबै औजार किसानले राम्रोसँग चलाएका छन्,’ उनले भने, ‘औजार चलाउनेदेखि बिग्रेमा मर्मत गर्नसमेत किसानलाई प्राविधिक सहयोग गर्दै आएका छौं ।’

प्रकाशित : आश्विन १०, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?