३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सय बढी विद्यार्थीमा भाइरल ज्वरो देखिएपछि विद्यालय बन्द

माधव अर्याल

पाल्पा — सय बढी विद्यार्थी र अधिकांश शिक्षकमा भाइरल ज्वरो देखिएपछि पाल्पाको दुर्गम निस्दी गाउँपालिका अर्चलको गोरखनाथ माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यार्थीहरु ज्वरोका कारण विद्यालय आउन नसकेपछि विद्यालय व्यवस्थापन समितिको बैठकले तीन दिनलाई विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक इश्वरीप्रसाद अर्यालले बताए ।

सय बढी विद्यार्थीमा भाइरल ज्वरो देखिएपछि विद्यालय बन्द

तर, तीन दिनपछि दसैं बिदा हुने भएकाले अब विद्यालय असोज २७ गतेमात्रै खुल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सोमैले बताए । विद्यालयका सात शिक्षक अत्यधिक ज्वरोले प्रभावित छन् ।


विद्यालयमा अर्चले स्वास्थ्य चौकीको सहयोगमा मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । छिमेकी सिन्दुर आधारभूत विद्यालयका विद्यार्थीसमेत भाइरल ज्वरोले प्रभावित भएका शिक्षक होम राई मगरले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा अचानक ज्वरो आउने, ५/७ दिनसम्म लगातार ज्वरो आउने, हाडजोर्नी, मांसपेशी दुख्ने र खोकी लाग्ने लक्षण भएका बिरामी धेरै भेटिएको अर्चले स्वास्थ्य चौकीका अहेव सिकेन्द्र महतोले बताए । उनका अनुसार ज्वरो देखिनासाथ स्वास्थ्य परीक्षण गर्न, उमालेको पानी पिउन र लामखुट्टेबाट बच्न स्वास्थ्य चौकी प्रमुख देवती रानाले सबैलाई आग्रह गरेका छन् ।


बुधबार पनि सिन्दुर आधारभूत विद्यालय पाराकुला, सिसिङ्गामा स्वास्थ्य शिविर सञ्चालन भइरहेको वडाध्यक्ष मेखबहादुर सुनारीले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?