कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ढुंगे बगैंचामा पर्यटकको आकर्षण

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–३, सातदोबाटोस्थित ढुंगेडाँडो चरिचरनमा सीमित थियो । स्थानीयले गाई–बाख्रा चराउन र घाँस काट्न चौरको उपयोग गर्दै आएका थिए । त्यही डाँडो अहिले आकर्षक पर्यटकीय स्थल बनेको छ । ढुंगालाई रंगीन र कलायुक्त बनाइएको छ । कलात्मक ढुंगासहितको चौरलाई नगरपालिकाले अहिले ढुंगे बगैंचा नामकरण गरेको छ ।

ढुंगे बगैंचामा पर्यटकको आकर्षण

ढुंगालाई स्थानीय कालीगढ दिलबहादुर घर्तीमगरले विभिन्न आकृति प्रदान गरेका हुन् । अहिले यहाँ घुमफिरमा आएकाले डाँडैभरिका ढुंगाको आड लागेर तस्बिर खिचाउँछन् । सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । त्यसले बगैंचाबारे प्रचार भइरहेको रोल्पा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापाले बताइन् । ‘बगैंचा अवलोकन गर्न आन्तरिकदेखि बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ,’ उनले भनिन् ।


वन डिभिजन कार्यालय र रोल्पा नगरपालिकाको संयुक्त पहलमा बगैंचा निर्माण गरिएको हो । ढुंगे बगैंचा घुम्न र हेर्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । समुद्र सतहदेखि करिब २ हजार मिटरको उचाइमा अवस्थित उक्त बगैंचा जिल्लाकै एक मुख्य आकर्षणको गन्तव्य बनेको छ । १५ लाख रुपैयाँ लगानीमा ढुंगैढुंगा र घाँसे मैदान भएको पहाडलाई सजाइएको हो । शनिबार अत्यधिक भीड लाग्छ । ‘बिदाको दिन बगैंचा भरिभराउ हुन्छ,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने, ‘अन्य दिनमा पनि यहाँ आउनेहरू कम हुँदैनन् । यहाँ बेग्लै आनन्दको अनुभूति हुने भएकाले सपरिवार घुम्न आउँछन् ।’


काँडे तारले घेरिएको दुई हेक्टर क्षेत्रफलभित्र फैलिएको बगैंचाभित्र ढुंगाकै स्वरूपका कुर्सी, सोफा र रुखका आकृति बनाएकाले हेर्न र तस्बिर खिचाउनेको भीड बढ्ने गरेको हो । बगैंचामा परिवारै लिएर आउने धेरै हुन्छन् । नगर प्रमुख केसीले गत साउन १४ देखि औपचारिक रूपमा बगैंचाको उद्घाटन गरिएको र त्यसयता हजारौंले अवलोकन गरेको बताए ।


बगैंचा निर्माण गर्ने क्रममा फेला पारेका ढुंगाले सुरुमा असजिलो पार्ने वा बाधा गर्ने अनुमान गरिएको थियो । ‘कुनै पनि ढुंगा नटुक्र्याइ सजावट गरेपछि ढुंगे बगैंचा बन्यो,’ नगर प्रमुख केसीले भने, ‘सुरुमा आफूलाई पनि अचम्म र अविश्वास लागे पनि पछि सबैले मन पराउँदै गए ।’

नगर ढुंगैढुंगाको लस्करमा कलायुक्त सजावट मिलाएपछि ढुंगे बगैंचा नाम राख्न नयाँ अवधारणा प्राप्त भएको उनले बताए । बगैंचाको अवलोकन गर्न अनुसन्धानकर्मीका साथै विद्यार्थी, कर्मचारी, युवा र पर्यटकहरू आउँछन् । जिल्लाभित्रका विद्यार्थी, कर्मचारी, स्थानीय र बाहिरी जिल्लाका पत्रकार र अनुसन्धानकर्मी आउने गरेका छन् । दाङस्थित व्यवसायी तथा फोटोग्राफर कुलदीप न्यौपानेका अनुसार ढुंगे बगैंचाबारे रोल्पाबाहिरका जिल्लामा पनि चर्चा हुने गरेको छ । पर्यटकीय स्थलबारे पुस्तक लेखेका पत्रकार केबी मसालले पहाडी क्षेत्रमा ढुंगाको महत्त्व कम मानिए पनि तराई र सहरतिर यसबारे गहिरो चर्चा हुने गरेको सुनाए ।


लामो समय माओवादी सशस्त्र द्वन्द्वका कारण चर्चा पाएको रोल्पाले अहिले ढुंगे बगैंचामार्फत पुनः चर्चा पाउने गरेको छ । गत साउनमा ढुंगे बगैंचाको औपचारिक उद्घाटन गरेकी पूर्वसभामुख ओनसरी घर्तीमगरले आन्तरिक पर्यटक भित्र्याउन यो बगैंचा आकर्षक माध्यम भएको बताइन् । ‘झ्वाट्ट देख्दा ढुंगे बगैंचा सामान्य लागे पनि अनुसन्धानकर्मी र पर्यटकका लागि आकर्षणको गन्तव्य भएको छ,’ उनले भनिन् ।


ढुंगे बगैंचा बनाउनका लागि वन डिभिजनले ९ लाख र रोल्पा नगरले ६ लाख रुपैयाँ खर्चेको हो । बगैंचाको अवलोकन गरेका लिबाङस्थित राष्ट्रिय प्रतिभा चित्रकार रामचन्द्र श्रेष्ठले बगैंचालाई कलाले सजाएकाले मुख्य गन्तव्य बनेको बताए । ‘ढुंगे डाँडोलाई कलायुक्त सीपबाट आकर्षक बनाइएको छ, जुन असाध्यै राम्रो हो,’ उनले सुनाए ।

रोल्पा नगरले थप क्षेत्रफलमा उक्त बगैंचा विस्तार गर्ने योजना अघि सारेको छ । नगर प्रमुख केसीले हाल निर्माण गरिएको बगैंचाको पश्चिम र पूर्वी क्षेत्रलाई समावेश गरेर आकर्षक स्थल बनाउने तयारी भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पहाडका ढुंगालाई कलायुक्त बनाएर बगैंचा सजाएकाले त्यहाँ पुग्ने जोकोहीलाई नयाँ अनुभूति हुने गरेको बताए ।

प्रकाशित : आश्विन ६, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?