कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागेश्वरीको सम्पत्ति सार्वजनिक

बाँके — नेपालगन्जस्थित बागेश्वरी मन्दिरको व्यवस्थापन गुठीले २० वर्षपछि चलअचल सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत शनिबार दुई वर्ष यताको चलअचल सम्पत्तिको अवस्था सार्वजनिक गरिएको हो । 

नेपालगन्ज उपमहानगर प्रमुख धबलशमशेर राणाको अध्यक्षतामा २०७४ भदौ १२ देखि गुठी व्यवस्थापन समिति छ । यही समितिले दुई वर्षमा दानपेटीमा संकलन भएका गरगहना खुलाएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सुनका आँखिया २ थान, नथुनी २ थान, तार १ थान, तिलहरी ४ थान, बिन्दिया १ थान छ । चाँदीको गरगहनामा छत्तर ६ थान, पाउदान १, बेलपत्र १, सिंहासन १, आँखिया २, लक्ष्मीको मूर्ति १, गणेशको १ र बिन्दिया १ थान छ । नयाँ समिति सञ्चालनमा आएपछि २१ लाख १० हजार १ सय ६५ बैंक मौज्दात रहेको खुलाइएको छ । यस अघिको व्यवस्थापन समितिमा १६ लाख ३८ हजार ७ सय ८६ रुपैयाँ थियो । यस्तै बागेश्वरी मन्दिरको नाममा रहेको अचल सम्पत्ति खोजी र संरक्षणका लागि व्यवस्थापन समितिको २०७४ कात्तिक ५ को बैठकले नेपालगन्जकी उपमेयर उमा थापाको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरेको थियो । उक्त समितिले खोजी गरेको तथ्यसमेत सार्वजनिक गरिएको छ । बागेश्वरी गुठीको साविक इन्द्रपुर गाविसअर्न्तगत विसं २००५ को लगतमा ९२ बिघा ७ कटा ११ धुर जग्गा रहेको देखिन्छ । हाल नापीअनुसारको जग्गा हाल ८४ बिघा १० कठा १० धुर हुनुपर्ने देखिएको छ ।


खोजी गर्दा इन्द्रपुरको जग्गामा संलग्न कागजातमा कैफियतसहितको जग्गाधनी दर्ता प्रमाणपुर्जा, हाल कायम रहेका जग्गाधनीको लालपुर्जा भएको, साविक फिल्डबुक र मन्दिरको नामबाट रैकरमा परिणत गर्ने गरी २०५७ आसोज १७ मा निर्णय भएको फायल समेत भेटिएको छ । यद्यपि २०२७ र २०२८ सालमा मन्दिरको नामबाट रैकरमा परिणत गरेका स्रेस्ताको कागजात हालसम्म प्राप्त हुन सकेको छैन । यी कागजात कसरी हराए भनेर खोजीकै क्रममा रहेको उपसमिति संयोजक थापाले सुनाइन् । ‘हामी खोजीकै क्रममा छौं,’ उनले भनिन्, ‘यसमा सबैको साथ चाहिन्छ ।’ अध्ययनका क्रममा मन्दिरबारे प्राप्त सदन र आदेशहरू प्राचीन एवं ऐतिहासिक भएकाले अध्ययनका लागि सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जिम्मा लगाएको उनले बताइन् । खोजीका क्रममा विसं १९३६ मा रणदीपसिंह राजबहादुरबाट भएको सदनदेखि २००४ सालको जनरल मोहनशमशेर जबराबाट भएको आदेशसम्मका ७ वटा अभिलेख प्राप्त भएको छ । दानपेटीमा आएका दक्षिणा र दानमा २५ प्रतिशत महन्तले राख्ने ७५ प्रतिशत गुठीले राख्ने परम्परा छ । यसै परम्पराअनुसार दानपेटी खोल्दा मन्दिरले जम्मा ८६ हजार १ सय ६० रुपैयाँ प्राप्त गरेको उल्लेख छ । त्यस्तै नयाँ व्यवस्थापन समिति सञ्चालनमा आएपछि भने मन्दिरले भक्तजनबाट नगद ५७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको खुलेको छ । मन्दिरका दुईवटा तिजोरीमा भएका २० केजी ३ सय ४ ग्राम चाँदी र दुई तोला सुन तथा अन्य वस्तुमा मूर्ति, सिक्का आदि लगायत प्राप्त भएकाले विवरण खुलाएर नेपाल बैंक लिमिटेडको लकरमा राखिएको गुठीले जनाएको छ ।


नयाँ समितिले मन्दिरमा दुईवटा मात्रै दानपेटिका राखेको अध्यक्ष एवं मेयर राणाले बताए । ‘दुई वर्षसम्म मालपोतले बागेश्वरी मन्दिरको जग्गाजमिन खोजीमा पटक्कै सहयोग गरेन,’ उनले भने, ‘अब चौतर्फी चासोको विषय बनेपछि गुमेको सम्पत्ति फिर्ता गराउन गर्न प्रोत्साहन मिलेको छ ।’


प्रकाशित : आश्विन ५, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?